पेरूमा ५५८ शिशुलाई दिइयो हाल्यान्डको नाम

बुधबार, ३१ असार, २०८३
डिजिटल संस्करण

२३औँ संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगितामा नर्वेका स्ट्राइकर अर्लिङ हाल्यान्डको चर्चा रोकिने क्रम छैन । २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वे ऐतिहासिक रूपमा क्वार्टरफाइनलमा पुगेको थियो । क्वार्टरफाइनलमा इंग्ल्यान्डसँग २–१ ले पराजित हुँदा नर्वे प्रतियोगिताबाट बाहिरियो । नर्वे क्वार्टरफाइनल पुग्नुको पछाडि स्ट्राइकर हाल्यान्डको योगदान प्रमुख मानिन्छन् । उनले प्रिक्वार्टरफाइनलमा पाँचपटकको विजेता ब्राजिललाई २–१ ले हराउँदै दुवै गोल गरेका थिए । विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका हाल्यान्डको चर्चा र प्रभाव पेरुमा परेको छ ।

यहाँ हाल्यान्डको नाम यति प्रख्यात भइरहेको छ । विश्वकपपछि जन्मेको नवजात शिशुको नाम नै हाल्यान्ड राखिएको छ । बिबिसीका अनुसार ५५८ जना नवजात शिशुका नाम नै हाल्यान्ड राखिएका छन् । यसमध्ये अर्लिङ हाल्यान्ड भनेर ८१ जना शिशुको नाम राखिएको छ ।

पेरुको पानामेरिकानले विश्वकपपछि हाल्यान्डको चर्चा अस्वाभाविक रूपमा चुलिएको जनाएको छ । ‘पेरुमा धेरै फुटबल समर्थकहरूले आफ्नो आइडललाई मान्छन् । हाल्यान्ड पनि पेरुका समर्थकले रुचाउने खेलाडी सूचीको शीर्ष स्थानमा छन् । फेरि विश्वकपमा उत्कृष्ट प्रदर्शनपछि उनको प्रभाव यति परेको छ । भर्खर जन्मेको शिशुको नाम उनको नाम दिइएको छ,’ पामामेरिकानले भनेको छ ।’ पेरुको नागरिकता विभागका प्रवक्ता इवान टोरेसले आफ्नो देशमा फुटबलको प्रभाव निकै रहेको बताए । विश्वभरि नाम कमाएका फुटबलरको नाम राख्न नागरिकहरू अग्रसर हुने उनले बताए । ‘पछिल्लो संस्करणमा मेसी खुवै चलेका थिए ।

जसका कारण त्यसवेला अघिकांश नवजात शिशुका नाम नै मेसी राखिएको थियो,’ टोरेसले भने, ‘अहिले हाल्यान्डमय बनेका छन् । नर्वे क्वार्टरफाइनलभन्दा माथि जाँदा अझ यो संख्या बढ्ने थियो ।’ चार वर्षअघि सम्पन्न विश्वकपमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएपछि मेसी ल्याटिन अमेरिकामा खुवै चर्चामा रहे । यसैकारण त्यसवेला पेरुमा तीन हजार ४०२ जनालाई मेसी नाम र २९२ जनाको नाम लियोनल मेसी नै राखिएको टोरेसले बताए । हाल्यान्डले विश्वकपमा चार खेलमा सात गोल गरेका थिए । 

नेमारको नाम धेरै
प्रत्येक वर्षमा पेरुमा नयाँ ट्रेड चल्छ । त्यस वर्षमा फुटबल जगतमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूको नाम राख्ने चलन त्यहाँ रहेको छ । यद्यपि, ब्राजिलका नेमार जुनियर भने सदावहार देखिन्छ । पेरुमा अहिलेसम्म नवजात शिशुमा नेमारको नाम अत्यधिक छ । नेमारको नाममा ३३ हजार ८ सय ९ रहेका छन् । अहिलेसम्म लियोनल मेसी ३४०२ र स्पेनका लामिन यामलको नाम १२४१ जना नवजात शिशुलाई राखिएको टोरेसले बताए । 

सुझावित समाचार