मिडिया तर्साउन ‘राज्य संरक्षित’ गतिविधि

नागरिकको आवाज कुण्ठित गर्न र मिडियाको मुख थुन्ने प्रयास भएको भन्दै सरोकारवालाको चिन्ता

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण

सुकुमवासीमाथि भइरहेको अत्याचार र गणेश नेपालीको आत्मदाह घटनामा सरकारमाथि प्रश्न उठाएपछि सञ्चार गृहका मूलगेटमा शंकास्पद रूपमा गाडी राखेर तर्साउने प्रयास भएको छ । संविधानमै लिपिबद्ध प्रेस स्वतन्त्रताको अधिकार नै हनन हुने गरी भएको घटनामा ‘सरकार संरक्षित’ व्यक्तिहरूकै संलग्नता रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सञ्चारसम्बद्ध संघसंस्थादेखि राजनीतिक दलहरूसम्मले यसको भर्त्सना गरेका छन् ।

सोमबार बिहान हिमालय टेलिभिजन, कान्तिपुर र अनलाइनखबरका कार्यालयको मूलगेट नै छेकिने गरी शंकास्पद रूपमा गाडी राखिएको थियो । अज्ञात व्यक्तिहरूले बिहानै गाडी छाडेर गएको सूचना सम्बन्धित मिडियाका कर्मचारीले प्रहरीलाई तत्काल जानकारी गराउँदा पनि घण्टौँसम्म कारबाही प्रक्रिया सुरु गरिएन । बरु साँझ सामान्य चिट काटेर गाडी सम्बन्धित व्यक्तिहरूलाई नै जिम्मा लगाइयो ।

सुविधानगरस्थित कान्तिपुर मिडिया हाउसको गेटअगाडि बिहान करिब ६ बजे नै बा.प्र.०१–०३४ च ८४८० नम्बरको गाडी रोकिएको थियो । केएमजी प्रशासन प्रमुख परमानन्द खनालका अनुसार सुरक्षागार्डले नरोक्न भन्दाभन्दै गेटसामुन्ने गाडी रोकेर चालक बाटो लागेका थिए । शंकास्पद घटना भएपछि कान्तिपुर प्रशासनले प्रहरीलाई फोन गरेको थियो । केहीबेरमै प्रहरी वृत्त तिनकुने, प्रहरी प्रभाग कोटेश्वर र ट्राफिक प्रहरीका हाकिम घटनास्थलमा पुगे । कान्तिपुर प्रशासनले गाडी हटाइदिन भनेपछि प्रहरीका हाकिम एकाएक गायब भएका थिए । अपराह्नसम्म पनि गाडी नहटाइदिएपछि कान्तिपुरले नै क्रेनको व्यवस्था गरेर हटाउने प्रक्रिया चाल्यो । त्यसपछि मात्रै प्रहरी घटनास्थलमा आइपुगे । उनीहरूकै सहयोगमा गाडी प्रहरी कार्यालय पठाइयो ।

कान्तिपुरको गेटअगाडि राखिएको उक्त गाडी रवि जैसवालले प्रयोग गर्दै आएको पुष्टि भइसकेको छ । उनलाई रास्वपाका तत्कालीन महामन्त्री भूपदेव शाहले केही समयअघि केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागमा सदस्य मनोनीत गरेका थिए । पायोनियर मोटोकर्पको नाममा दर्ता भएको गाडी २१ जेठ ०८२ मा चोभार भन्सारबाट पास गरिएको खुलेको छ । उक्त विद्युतीय गाडीको ऋणी एसटी मोटर्स र सानिमा बैंक रहेको पनि देखिएको छ ।

त्यसैगरी, अनलाइनखबरको गेटअगाडि पनि बा.१२ च ८५४५ नम्बरको गाडी शंकास्पद रूपमा राखिएको थियो । प्रहरीलाई जानकारी गराउँदा पनि चार घण्टासम्म नहटाइदिएपछि भाडाको क्रेन मगाएर हटाइएको अनलाइनखबरले जनाएको छ । यो गाडी गोकर्णेश्वर निवासी डा. सुनील पौडेलको नाममा रहेको खुलेको छ । तर, पछिल्ला दिन सुनीलका दाइ सुजन पौडेलले प्रयोग गर्दै आएका थिए । सुजन रास्वपामा सक्रिय रहेको स्थानीयहरू बताउँछन् ।

मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको गेटमा यसरी नै पार्किङ गरिएको बा.१०च १२५५ नम्बरको गाडी पनि भाडाकै क्रेनबाट हटाउनुपरेको थियो । उक्त गाडी राजीवकाजी श्रेष्ठको नाममा रहेको यातायात स्रोतबाट खुलेको छ । तर, अनुसन्धानमा संलग्न प्रहरीले अनुसन्धानमा चासो दिने र सम्बन्धित प्रमाणहरू खोज्ने सक्रियता नै देखाएको छैन ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारका पछिल्ला गतिविधि मिडियालाई त्रसित बनाएर मुख थुन्ने प्रयासस्वरुप भइरहेको महसुस पत्रकारहरूले गरेको बताइन् । ‘मिडियाले केही समययता नागरिकका आवाजलाई प्राथमिकताका साथ उठाइरहेका छन् । सरकार ती अवाजलाई रोक्न र मिडियालाई त्रसित बनाउन चाहन्छ । सोहीअनुसार मिडिया हाउसहरूको गेटअगाडि गाडी पार्क गरिएको देखिन्छ,’ उनले भनिन्, ‘यो हर्कत नागरिकको अवाजलाई कुण्ठित गर्ने मनसाय हो । मिडियालाई आतंकित बनाउने गाडीका धनीलाई पाँच सय रुपैयाँको चिट काटेर छाडिएको छ । यसबाट पनि घटनामा राज्य नै लागेको पुष्टि हुन्छ । सरकार मिडियाको मुख थुन्न लागिपरेको महसुस हामीले गरेका छौँ ।’

त्यस्तै, महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले अनुहार लुकाएर मिडिया हाउसमा जाने सरकारको कार्य निन्दनीय रहेको बताए । ‘राजाको शासनकालमा प्रेसमाथि हस्तक्षेप गर्न अनुहार लुकाइएको थिएन । सेना हाकाहाकी सञ्चारमाध्यममा प्रवेश गरेको थियो । सञ्चारमाध्यमले सेनासँगै काम गरेको थियो । तर, अहिले अनुहार लुकाएर तर्साउने काम सरकारले गरेको देखिन्छ,’ उनले भने, ‘प्रेस, नागरिक समाज र लोकतन्त्रवादीहरू एक ठाउँमा उभिएर प्रतिवाद नगर्ने हो भने मिडियाको गेटमा राखिएका गाडीहरू अधिनायकवादका लामो यात्राका सवारी हुन सक्छन् ।’

अनलाइनखबर र हिमालय टेलिभिजनका समूह सम्पादक उमेश चौहान घटनाको गम्भीर अनुसन्धान हुनुपर्ने बताउँछन् । ‘यो सब कसले गर्‍यो भन्नेमा गम्भीर अनुसन्धान हुनुपर्छ । तर, किन गरियो भन्ने प्रस्ट छ । तिमीहरूले प्रश्न उठाइरह्यौ भने ‘जे पनि हुन सक्छ’ भन्ने चेतावनी दिन यो गरिएको हो भन्ने स्पष्ट देखिन्छ । हामीले त राज्य छ भन्ने हो । तर, बाहिर सडकमा समेत यातायात अवरोध हुने अवस्था आउँदा प्रहरीले सात घण्टासम्म आलटाल गर्नु अनौठो छ,’ उनले भने ।

गणेश नेपालीको आत्मदाहलाई राज्यले ट्राफिक नियमसँग मात्रै सीमित गरेर हेरेकोमा पनि चौहानको प्रश्न छ । ‘गणेश नेपालीको आत्मदाह केवल ट्राफिक नियमसँग मात्र सीमित विषय होइन । नागरिकले नियम–कानुन पालना गर्नुपर्छ, तर नाजुक नागरिकलाई राज्यले भरोसा पनि दिनुपर्छ । हिजो प्रेम आचार्य र आज गणेश नेपालीजस्ता युवालाई राज्यले किन भरोसा दिन सकेन ? कहाँ चुक्यो ? भनेर मिडियाले प्रश्न उठाएको हो,’ उनले भने, ‘मिडिया र नागरिकले उठाएका प्रश्नमा राज्य रेस्पोन्सिभ हुनुपर्छ, रियाक्टिभ होइन ।’

अनुसन्धानमा प्रहरीको अनिच्छा, चिट काटेर छाडियो गाडी 
नियोजित रूपमा सञ्चारमाध्यमको गेटमा गाडी पार्किङ गरेको घटनाको अनुसन्धानमा प्रहरीले चासो नै दिएको छैन । माथिल्लो निकायबाट आदेश नभएको भन्दै प्रहरीले अनुसन्धान अघि नबढाएको हो । स्रोतका अनुसार गृह मन्त्रालयबाट यस विषयमा कुनै आदेश नभएको भन्दै प्रहरी मौन बसेको छ ।

ट्राफिकले भने ती सवारीसाधनलाई अनधिकृत पार्किङको मात्र कसुरमा जरिवाना तिराएर छाडेको छ । यस्तोमा पाँच सयदेखि एक हजार पाँच सयसम्म जरिवाना हुने प्रावधान छ । उपत्यका ट्राफिकले पाँच सय जरिवाना तिराएर गाडी छाडेको हो । गाडीधनी सम्पर्कमा आएपछि चिट काटेर छाडिएको उपत्यका ट्राफिकका प्रमुख एसएसपी सुरेश काफ्लेले बताए ।

यातायातको सर्भर दिनभर डाउन 
सञ्चारगृहका गेटअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएपछि र सरकारी संयन्त्रले हटाउन चासो नदिएपछि रिपोर्टरहरू ती गाडीका धनी पहिल्याउन सक्रिय भएका थिए । तर, यातायात व्यवस्था विभागमा बुझ्दा सर्भर नै डाउन भएको सूचना आएको थियो । विभाग स्रोतका अनुसार माथिबाट आएको दबाबपछि सर्भर साँझसम्म डाउन गराइएको थियो । तर, विभागका निर्देशक केशव खतिवडा सोमबार भएको सर्भर डाउनमा दबाब नभई प्राविधिक कारणले काम गरेको बताउँछन् । आर्थिक वर्षको अन्तिमतिरको चाप धेरै भएर सर्भर डाउन भएको र साँझ बनिसकेको उनले बताए । विभागले विज्ञप्ति जारी गरी नयाँ प्रणाली लागू गर्ने क्रममा सिस्टम अप्रेसन र डाटा मर्जको काम भएकाले सर्भरमा समस्या आएको जनाएको छ ।

सञ्चारसम्बद्ध संघसंस्थाले भने– प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला
सञ्चार क्षेत्रलाई आतंकित बनाउने गरी शंकास्पद गाडी रोकेर सञ्चारगृहको गेट नै अवरोध पारेको घटनालाई सञ्चारसम्बद्ध संघसंस्थाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला भनेका छन् ।

नेपाल मिडिया सोसाइटीले पनि यस्ता गतिविधिले स्वतन्त्र प्रेसमाथि दबाब सिर्जना गर्ने र सञ्चारकर्मीलाई त्रसित बनाउने भन्दै घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गरेको छ ।

पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्ति भनिएको छ, ‘पछिल्ला दिन सञ्चारमाध्यामलाई आतंकित तुल्याउन विभिन्न तहबाट अनेक खालका गतिविधि भएका छन् । सञ्चारमाध्यमको गेटअगाडि गाडी राख्ने कार्य सोही कार्यको निरन्तरता हो । यी हर्कत संविधानबाट प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला हो । सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई त्रसित तुल्याउने कार्य मिडियामाथिको नियन्त्रण, कन्टेन्टमा सेन्सरसिपको अभ्यास हो ।’

महासंघ अध्यक्ष निर्मला शर्माले सरकार नै मिडियाको मुख थुन्न लागेको भन्दै आपत्ति जनाइन् । ‘महिना दिनयता सरकार मिडियाको मुख थुन्ने काममा उभिएको हामीले महसुस गरेका छौँ । विज्ञापन रोक्ने, पत्रकारलाई सेवाबाट विनाकारण निकाल्नेदेखि मिडिया गृहका मूलगेटमा गाडी रोक्ने सिलसिला यसैको उदाहरण हुन्,’ उनले भनिन्, ‘मिडियालाई आतंकित बनाउने गाडीका धनीलाई पाँच सय रुपैयाँको चिट काटेर छाडिएको छ । यसले के पुष्टि गर्छ भने घटनामा राज्य लागेको छ । त्यसमा पनि गृहमन्त्री संलग्न रहेको देखिन्छ ।’

घटनाको प्रेस युनियनले पनि विरोध गरेको छ । युनियन महासचिव दिलीप पौडेलले भने, ‘सञ्चारमाध्यमको आवागमन प्रभावित गर्ने उद्देश्यले गाडी पार्किङ गरेको घटना सामान्य होइन । यसको उद्देश्य सञ्चारमाध्यमलाई आतंकित तुल्याउनु हो, संविधानविपरीत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला हो ।’

त्यस्तै, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले सञ्चारगृहमाथिको अवरोध र सञ्चारकर्मीमाथिको मानसिक त्रास प्रेस स्वतन्त्रतामाथिको प्रहार रहेको बताए । ‘बोल्ने, लेख्ने र प्रश्न गर्ने अधिकारलाई दबाउने कुनै पनि प्रयास लोकतान्त्रिक मूल्य–मान्यताविपरीत छ,’ उनले भने, ‘यस्ता प्रवृत्तिहरू इतिहासमा कहिल्यै टिकेका छैनन्, अहिले पनि टिक्नेछैनन् ।’

गगन थापाको घरको गेट र भाटभटेनीमा पनि शंकास्पद गाडी
कांग्रेस सभापति गगन थापाको रातोपुलस्थित निवासको गेटअगाडि पनि अपरिचितले सोमबार बिहानै बागमती प्रदेश बिएससी ९५७५ नम्बरको गाडी ल्याएर राखेको थियो । बिहानभर उक्त गाडी नहटेपछि धनीको खोजी भएको थियो । मिडिया हाउसअगाडि राखिएका गाडीको खबर सार्वजनिक हुन थालेपछि थापा परिवारले पनि घटनाको जानकारी प्रहरीलाई गराएका थिए । तर, उक्त गाडी साँझ मात्रै हटाइएको थियो । यो गाडी बाबा विश्वकर्मा ट्रेडर्सको नाममा दर्ता रहेको पाइएको छ । त्यस्तै, अनामनगरस्थित भाटभटेनी सुपरमार्केटअगाडि पनि त्यस्तै शंकास्पद गाडी दिनभर पार्किङ गरिएको थियो । उक्त गाडी पछि प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त गाडी कसको नाममा दर्ता छ अझै खुलेको छैन । 

राजनीतिक दलहरूले भर्त्सना गर्दै भने– प्रेसलाई त्रसित पार्ने हर्कत...

जसपाले मिडियाको निष्पक्ष भूमिकालाई प्रभावित पार्न गाडीआतंक चलाइएको जनाएको छ । नेता सुरेन्द्र झाले सरकारले नियन्त्रित लोकतन्त्रको अभ्यास गर्न खोजेकै कारण सुनियोजित रूपमा यो घटना गराएको दाबी गरेका छन् । ‘सरकारले नियन्त्रित लोकतन्त्रको अभ्यास गर्न खोजेको छ । नागरिकको अधिकार कुण्ठित गर्न खोजिएको छ । नागरिकलाई आतंकित पार्ने काम सुनियोजित रूपमा भइरहेको छ । मिडियाले निष्पक्ष भएर गरेको कामलाई प्रभावित गर्न गाडीआतंक सिर्जना गरिएको छ । यो निन्दनीय छ,’ उनले भनेका छन्, ‘यसको जति भर्त्सना गरे पनि कम हुन्छ । जसलाई लोकतन्त्र प्रिय लाग्छ, ती सबै एकाकार भएर खबरदारी गर्नुपर्छ ।’

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिडियाका कार्यालयअगाडि गाडी छाडेर सवारी आवागमन अवरुद्ध गर्नु निकृष्ट कलाविहीन नाटक भएको बताएका छन् । ‘लाखौँ मूल्य पर्ने गाडीहरू मिडियाका कार्यालयअगाडि योजनाबद्ध ढंगबाट तेर्स्याइनु सडकछेउमा बोरा वा झोलामा शंकास्पद वस्तु राखिनुजस्तो रहस्यमय हुँदैन । अन्यथा भए मात्रै, नत्र त राज्यले चाहँदा १० मिनेटभित्र सवारीधनीको विवरण लिन सक्छ, निजलाई पक्राउ गर्न सक्छ, उद्देश्य पत्ता लगाउन सक्छ र कारबाही गर्न सक्छ,’ श्रेष्ठले भनेका छन्, ‘आज केही मिडियाका कार्यालयअगाडि गाडी छोडेर सवारी आवागमन अवरुद्ध गर्ने कार्य निकृष्ट कलाविहीन नाटक हो । जनतालाई सुसूचित गर्ने मिडियाको काममा बाधा नपुर्‍याइयोस् ।’

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि सञ्चारमाध्यमका कार्यालयअगाडि शंकास्पद रूपमा सवारीसाधन राखेर त्रास सिर्जना गर्ने घटनाको निष्पक्ष, स्वतन्त्र र शीघ्र छानबिन गरी दोषीलाई कानुनको कठघरामा उभ्याउन माग गरेका छन् । ‘लोकतन्त्रको मेरुदण्ड मानिने स्वतन्त्र प्रेसलाई डर, धम्की र आतंकको वातावरणमा धकेल्ने कुनै पनि प्रयास लोकतान्त्रिक मूल्य–मान्यता, संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने अधिकारमाथिको प्रत्यक्ष आक्रमण हो । डर, धम्की र त्रासमुक्त वातावरणमा स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको पूर्ण प्रत्याभूति सञ्चारमाध्यमलाई हुनुपर्छ,’ उनले भनेका छन्, ‘यो घटनाको निष्पक्ष, स्वतन्त्र र शीघ्र छानबिन गरी दोषीलाई कानुनको कठघरामा उभ्याउन, यस्ता घटनाको पुनरावृत्ति हुन नदिन प्रभावकारी कदम चाल्न तथा सञ्चारमाध्यमलाई निर्भय वातावरणमा आफ्नो पेसागत दायित्व निर्वाह गर्ने सुनिश्चितता गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछु ।’

See More On

सुझावित समाचार