- यही २४ जुनमा गएका दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । ११ जुलाईसम्म भूकम्पमा मृत्यु हुनेको संख्या ४१ सय नाघेको छ भने अन्य १६ हजारभन्दा बढी घाइते भएका छन् ।
भेनेजुएलाको राजधानी काराकासबाट ३० मिनेटको दूरीमा रहेको ला गुएरा सहरको सडकमा विचलित मानिसहरू हिँडिरहेका छन् । यही २४ जुनमा दुई शक्तिशाली भूकम्पले भग्नावशेष बनाएका संरचनामा हराइरहेका आफन्तहरूको तस्बिर अंकित पर्चाहरू बोकेर उनीहरूका पाइला अगाडि बढिरहेका छन् । आफ्ना प्रियजनहरूको नाम पुकार्दा उनीहरूको आवाज भक्कानिएको छ । तै पनि आस मरेको छैन । भूकम्पको भग्नावशेषमा हराइरहेका व्यक्ति जीवितै पाइने आशा उनीहरूको छ ।
केवल ३९ सेकेन्डको फरकमा आएको भूकम्पबाट तटमा रहेको ला गुएरा सबैभन्दा बढी प्रभावित छ । दुई साता बितिसक्दा पनि बाँचेकाहरूको खोजी जारी छ । सुरुमा केही साहसी व्यक्तिले आफ्ना हातले भग्नावशेष उठाएका थिए । अहिले कम्तीमा २० देशका अन्तर्राष्ट्रिय टोलीहरू अत्याधुनिक उपकरण, कुकुर र भारी बोक्ने मेसिनरीसहित भनेजुएलामा तैनाथ छन् । उल्लेखनीय कुरा के छ भने एक सातासम्म मानिसहरूलाई जीवितै उद्धार गरिएको थियो । तर, पछिल्लो समय मृत्यु हुनेको संख्या बढ्दै गएको छ । जुलाई ११ सम्म भूकम्पमा मारिएकाहरूको संख्या ४१ सय नाघेको छ भने अन्य १६ हजारभन्दा बढी घाइते भएका छन् ।
ला गुएराका शवगृह भरिएका छन् । भूकम्पका कारण हजारौँ मानिस विस्थापित छन् । र, उद्धार प्रक्रियालाई लिएर सरकारविरुद्ध चौतर्फी आक्रोश बढ्दै गएको छ । भूकम्पपछि तुरुन्तै काराकासवरपर प्रहरी र केही आपत्कालीन उद्धार टोलीहरू तैनाथ गरिएको थियो । यद्यपि, ला गुएराका बासिन्दाको गुनासो छ कि उनीहरू पहिलो ४८ घण्टासम्म पूर्ण रूपमा एक्लै छोडिएका थिए । अर्थात् उनीहरूको उद्धारमा कुनै पहल भएन । ‘त्यहाँ केवल स्वयंसेवक थिए, सरकारले कुनै पनि सहयोग गरेन,’ भत्किएको अपार्टमेन्ट ब्लकको अगाडि उभिएर एक महिलाले द इकोनोमिस्टलाई गुनासो गरिन् । भित्र उनकी काकीको शव राखिएको छ ।
राष्ट्रपति निकोलस मदुरो र उनका पूर्ववर्ती ह्युगो चाभेजको कथित समाजवादी सरकारअन्तर्गत २७ वर्षको प्रणालीगत भ्रष्टाचारले भेनेजुएलाको अर्थतन्त्रलाई ध्वस्त पारेको छ, संस्थाहरूलाई खोक्रो बनाएको छ र अस्पतालदेखि दमकल ब्रिगेडसम्मका सेवा निराशाजनक रूपमा बन्द छन् । यो अवस्थाको साक्षी बनेका आलोचकहरूलाई मदुरो र चाभेजको सामान्य जवाफ हुने गर्थ्यो : उनीहरूले एक आक्रामक अमेरिकी साम्राज्यको सामना गरिरहेका थिए र अमेरिकी साम्राज्यले उनीहरूलाई वैचारिक रूपमा कमजोर पार्न तयार थियो । तर, त्यो बहाना अब काम लाग्दैन ।
वर्तमान अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज ट्रम्प प्रशासनको कारण सत्तामा पुगेकी हुन् । जनवरी ३ मा अमेरिकी सेनाको एउटा विशेष फौजले देशका राष्ट्रपति मालिक निकोलस मदुरोलाई निवासबाट नै थुतेर लगेपछि रोड्रिगेजले वासिङटनसँग नजिक रहेर काम गरिरहेकी छिन् । अमेरिकाले पहिलेको तुलनामा भेनेजुएलामाथि लगाउँदै आएका प्रतिबन्ध केही खुकुलो पारेको छ । त्यसको बदलामा रोड्रिगेजले स्थिरता कायम राखेकी छिन् र भेनेजुएलाको तेल र खानी क्षेत्रमा विदेशीलाई लगानी गर्न निरुत्साहित गर्ने नियममा संशोधन गरेकी छिन् । ट्रम्पले यो सबैलाई आफ्नो महान् रणनीतिक सफलतामध्ये एकको रूपमा चित्रण गर्न थालेका छन् । ‘भेनेजुएला अहिले आफ्नो देशको इतिहासमा पहिले गरेको भन्दा राम्रो गरिरहेको छ । यो एकप्रकारको संयुक्त उद्यमजस्तै हो,’ टम्पले मार्च २६ मा भने ।
भूकम्पले त्यो कथालाई खतरामा पार्नेछ । ट्रम्पको अहिलेसम्मको प्रतिक्रिया अनौठो छ । ‘भूकम्पको असर नभएको क्षेत्रका मानिस निकै खुसी छन् । तिनीहरू सडकमा नाचिरहेका छन्,’ ट्रम्पले २६ जुनमा उपहासपूर्ण शैलीमा भने । उनको प्रशासन अब ठुलो स्तरको पुनर्निर्माण प्रयासमा कति हदसम्म संलग्न हुने भनेर निर्णय गर्नुपर्छ । संयुक्त राष्ट्र विकास कार्यक्रमद्वारा गरिएको उपग्रह विश्लेषणअनुसार भूकम्पले ६.७ अर्ब डलरबराबरको भौतिक क्षति पुर्याएको छ ।
भेनेजुएलामा पूर्वअमेरिकी राजदूत जेम्स स्टोरीको भनाइमा आजसम्मको खुला हस्तक्षेपलाई ध्यानमा राख्दै अमेरिका देशप्रति कर्तव्य छ । ‘स्पष्ट रूपमा रोड्रिगेज निर्वाचित राष्ट्रपति थिइनन्,’ उनी भन्छन्, ‘संयुक्त राज्य अमेरिकाको कार्यले उनलाई सत्तामा ल्यायो ।’ उनी जहाजको तैनाथीसहित अमेरिकी सहयोगको ‘पूर्ण प्रयास’को अपेक्षा गर्छिन् । ट्रम्प प्रशासनले अझै यो गर्न तयार छ भनेर संकेत गरेको छैन । तर, यसले भेनेजुएलाको तटतिर सैन्य जहाज पठाएको छ र विशेष खोज र उद्धार टोली पठाएको छ ।
अमेरिकी सैन्य कर्मचारीहरूले भूकम्पले क्षतिग्रस्त मुख्य काराकास अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पनि मर्मत गरेका छन् । अमेरिकाले त्यसवेलादेखि विमानस्थललाई मानवीय उडानका लागि प्रयोग गर्दै आएको छ । भेनेजुएलाका लागि अमेरिकाको भव्य योजनामा तीन चरण समावेश हुने अनुमान गरिएको छ : स्थिरीकरण, पुनर्लाभ र संक्रमण । विचार यो हो कि स्थिरीकरण र पुनर्लाभ (भेनेजुएलाको अर्थतन्त्र र यसका क्षतिग्रस्त संस्थाहरू दुवै) सुश्री रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको रूपमा सेवा गर्दा हुन सक्छ ।
तेस्रो चरण, ‘संक्रमण’का लागि लोकतान्त्रिक चुनाव आवश्यक छ (जसमा उनी उम्मेदवार हुन सक्छिन्) । यस प्रक्रियाका लागि कुनै समयतालिका दिइएको छैन र भूकम्पले तेस्रो चरण ढिलाइ गर्ने औचित्य प्रदान गर्न सक्छ । त्यो निःसन्देह अलोकप्रिय शासनका लागि उपयुक्त हुनेछ । ‘यो भयानक त्रासदीलाई चाँडै चुनावमा जानबाट रोक्नको लागि साधन बनाइँदै छ,’ भेनेजुएलाका लागि अमेरिकी पूर्वराजदूत स्टोरी भन्छन् । ट्रम्प प्रशासनको कुरा गर्ने हो भने भेनेजुएलालाई लोकतान्त्रिक मार्गमा फर्काउन उसले खासै तत्परता देखाएको छैन । हालैका दिनमा अमेरिकी अधिकारीहरूले पत्रकारहरूलाई भनिरहेका छन् कि नोबेल शान्ति पुरस्कार विजेता र भेनेजुएलाकी सबैभन्दा लोकप्रिय विपक्षी नेतृ मारिया कोरिना मचाडोले भेनेजुएला फर्कन अमेरिकाको सहयोग मागेर उनीहरूलाई रिस उठाइरहेकी छिन् । भूकम्पपछि उनको मातृभूमि जाने अनुरोध केबल ‘राजनीतिक स्टन्ट’को एक हिस्सा भएको एक अमेरिकी अधिकारीको भनाइ उद्धृत गर्दै न्युयोर्क टाइम्सले रिपोर्ट गरेको छ ।
ट्रम्प प्रशासन स्पष्ट रूपमा उनको पक्षमा हुनु राष्ट्रपति रोड्रिगेजका लागि केही शान्त्वनाको कुरा हुनेछ । तर, प्राकृतिक प्रकोपको ठुलो आघातपछि अलोकप्रिय शासनको नेता हुन सक्ने जोखिमले रोड्रिगेजलाई सताइरहेको हुनुपर्छ । शुक्रबार अन्तरिम राष्ट्रपतिले काराकसमा भत्किएको भवनको भ्रमण गरिन् । सकारात्मक तस्बिरको अवसरको रूपमा डिजाइन गरिएको यात्रा चाँडै नै अर्कै कुरामा परिणत भयो । ‘सहायता कहाँ छ ?’ भिडमा कसैले चिच्यायो । ‘जानुहोस’ भिडबाटै अर्को कसैले करायो ।
द इकोनोमिस्टबाट