अस्ट्रेलियाली अन्तरिक्ष एजेन्सी (एएसए)ले यस सप्ताहान्तमा उत्तरी क्विन्सल्यान्डको समुद्र तटमा बगेर आएका रहस्यमय ठुला बलहरूको ‘सम्भावित स्रोत पहिचान’ गरेको जनाएको छ ।
टाउन्सभिलको उत्तरमा रहेको फरेस्ट बिच (तट)मा फेला परेका ६ वटा ठोस वस्तुहरू अन्तरिक्ष भग्नावशेष भएको मानिएको छ । एएसएले तिनीहरू ‘अन्तरिक्ष प्रक्षेपण यान’बाट आएका सामग्रीजस्तो देखिएको जनाएको छ । प्रक्षेपणयानको उपकरण हो होइन, भनेर औपचारिक पुष्टि गर्न अन्तर्राष्ट्रिय अधिकारीहरूसँग काम गरिरहेको एजेन्सीले जनाएको छ ।
क्विन्सल्यान्डको अग्नि नियन्त्रण विभागले उक्त शंकास्पद वस्तु फेला परेको ५० मिटर क्षेत्रभित्र जान रोक लगाएको छ । साथै, उक्त क्षेत्रमा शंकास्पद वस्तु फेला पार्ने जो–कोहीलाई पनि त्यसलाई नछुन आग्रह गरेको छ । विभागले शंकास्पद वस्तु भेट्ने मानिसलाई तुरुन्तै टाढा सरेर आपत्कालीन सेवालाई फोन गर्नुपर्ने जनाएको छ ।
ती गोला बलहरू अन्तरिक्षयानका लागि ट्यांक भएका र त्यसमा अत्यधिक ज्वलनशील वा प्रतिक्रियाशील पदार्थको अवशिष्ट मात्रा हुन सक्ने सामाजिक सञ्जालमा चर्चा भएका छन् ।
यसैबिच लुगा लगाएका कर्मचारीले ती वस्तुलाई प्रहरीको निगरानीमा ब्यारेलमा राखेको देखिएको बताइएको छ । तिनीहरूमा खतरनाक पदार्थ हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
एएसएको पछिल्लो विज्ञप्तिअनुसार ती वस्तुको फेला परेको स्थान र विशेषतालाई विचार गर्दा तिनीहरू अन्तरिक्षबाट वायुमण्डलमा फर्किएका अपरिचित रकेटको अवशेषसँग मेल खान्छन् । अस्ट्रेलियाको समुद्री किनारमा यस्ता रहस्यमय वस्तुहरू फेला परेको यो पहिलोपटक भने होइन ।
सन् २०२३ मा पर्थ नजिकैको पश्चिमी अस्ट्रेलियाली समुद्री किनारमा बगेर आएको विशाल धातु आफ्नो एउटा रकेटको अंश भएको भारतले बताएको थियो । यस सप्ताहन्तमा पत्ता लागेको जस्तै गोलाकार वस्तु २०११ मा दक्षिणी अफ्रिकाको नामिबियाको दुर्गम घाँसे मैदानमा पनि फेला परेको थियो ।