खामेनीको अन्त्येष्टिमार्फत इरानको शक्ति प्रदर्शन

आइतबार, २८ असार, २०८३
डिजिटल संस्करण
  • इरानले खामेनीको अन्त्येष्टिलाई इस्लामिक गणतन्त्रको वैधता प्रदर्शन गर्ने एक व्यवस्थित राजनीतिक र कूटनीतिक कार्यक्रम बनाइदियो

फेब्रुअरी २०२६ मा अमेरिकी–इजरायली सैन्य आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता अली खामेनीको अन्ततः ९ जुलाईमा अन्त्येष्टि सम्पन्न भयो । अन्त्येष्टिअघि इरानले एक साता लामो सार्वजनिक शोक समारोह आयोजना गर्‍यो, जसमा दसौँ लाख नागरिक सहभागी भए । इस्लामिक परम्परामा मृतकको तुरुन्तै अन्त्येष्टि गनुपर्ने प्रावधान छ । इरानका पहिलो सर्वोच्च नेता आयातोल्लाह रुहोल्लाह खामेनीको सन् १९८९ मा मृत्यु भएपछि तीन दिनभित्रै अन्त्येष्टि भएको थियो । 

दोस्रो सर्वोच्च नेता खामेनीको अन्त्येष्टि मृत्युको चार महिनापछि हुनुपछाडि इस्लामिक गणतन्त्रका केही उद्देश्य थिए । यसै उद्देश्य हासिल गर्न खामेनीको अन्त्येष्टिलाई कुनै प्रतिष्ठित व्यक्तिको राजकीय सम्मानसाथ गरिने अन्त्येष्टिभन्दा बृहत्तर अभ्यासमा परिणत गरियो । अर्थात्, देशको शीर्षस्थ नेताको अन्त्येष्टिलाई इस्लामिक गणतन्त्रले आफ्नो वैधता प्रदर्शन गर्ने एक व्यवस्थित राजनीतिक र कूटनीतिक कार्यक्रम बनायो । यसमार्फत इरानको वर्तमान नेतृत्वले आफूहरूप्रति जनताको समर्थन र वैधता जारी रहेको प्रदर्शन गर्न खोजेजस्तो देखिन्छ । 

इरानी अधिकारीका अनुसार, शोक समारोहको तेस्रो दिनसम्ममा झन्डै डेढ करोडभन्दा बढी इरानीले अन्त्येष्टि जुलुसमा भाग लिइसकेका थिए । ७ जुलाईमा ‘जमकरन मस्जिद’मा खामेनीको अन्त्येष्टिका क्रममा उपस्थित हुने मानिसको लाइन हवाई फुटेज देशभरका टेलिभिजनमा प्रसारण गरिएको थियो, जुन करिब २५ किलोमिटर लामो रहेको आकलन गरिएको छ । 

वर्तमान व्यवस्थाका प्रतीक बनेका व्यक्तिको शोक समारोहलाई व्यापक रूपमा प्रसारित गर्नुको स्पष्ट उद्देश्य इरानी जनता शासन परिवर्तनप्रति उत्सुक छन् भन्ने देशभित्रका एक समूह, पश्चिमी र इजरायली आवाजविरुद्ध बलियो प्रमाण दिनुजस्तो देखिन्छ । एक त, शोक समारोहमा यति ठुलो संख्यामा इरानीलाई उपस्थित हुन मनाउनु आफैँमा चुनौतीपूर्ण कार्य थियो । अमेरिका–इजरायलले आक्रमण सुरु गर्नुअघि जनवरी २०२६ मा इरानमा ठुलो विरोध प्रदर्शन भएको थियो, जसको व्यापक दमन हुँदा दसौँ हजार मारिएका थिए । त्यस आघातबाट इरानी समाजको ठुलो हिस्सा अझै पनि पीडित छ ।

यसका बाबजुद इस्लामिक गणतन्त्रले सरकारप्रति बफादारभन्दा बाहिरको जनसंख्यालाई पनि शोक समारोहमा आकर्षित गर्नसक्नु ठुलो सफलता हो । त्यसबाहेक जुन स्तरको भिड जम्मा भयो त्यसको सफल परिचालन गर्न सक्नु र समारोहलाई छिमेकी इराकमा समेत आयोजना गर्न सक्नु इस्लामिक गणतन्त्रका लागि क्षमता प्रदर्शनको अवसर पनि बन्यो । यो स्तरको विशाल भिड व्यवस्थापन गर्न सहभागीलाई जलपान, आश्रय र यातायातसहितको विशाल रसद प्रयास आवश्यकता पर्छ । तर, यसलाई इरानले कुशलतापूर्वक पूरा गरेको छ । त्यसमाथि अमेरिका र इजरायलसँगको तनाव अन्त्य नहुँदै शोक समारोह गरेर तेहरानले दोस्रो प्रमुख लक्ष्य हासिल गरेको छ । 

शोकसभाका क्रममा सहभागी दसौँ हजार इरानीले ‘अमेरिका मुर्दावाद’ र ‘इजरायल मुर्दावादको’ नारा लगाएको सुनियो । यसमार्फत इरानले आमनागरिक आफ्ना नेताको मृत्युले आक्रोशित छन् र बदला लिन तयार रहेको सन्देश दिन सफल भयो । साथै, यी नारामार्फत इरान मुख्य मुद्दामा सम्झौता गर्नेछैन भन्ने सन्देश पनि दिएको मानिएको छ । 

कुनै पनि पश्चिमी सरकारी व्यक्तित्वलाई अन्त्येष्टिमा आमन्त्रित गरिएको थिएन । तर, केही क्षेत्रीय देशका हकमा भने सरकारभन्दा बाहिरका सदस्यलाई पनि निमन्त्रणा गरेको देखियो । उदाहरणका लागि अफगानिस्तानबाट शोक समारोहमा सत्तारूढ तालिवानका प्रतिनिधिमण्डलका साथै विपक्षी नेताहरू विशेषतः राष्ट्रिय प्रतिरोध मोर्चाका अहमद मसुद र जनइस्लामिक एकता पार्टीका अध्यक्ष मोहम्मद मोहकिक पनि सहभागी थिए । ७० भन्दा बढी देशका प्रत्येक प्रतिनिधिमण्डललाई कुरानका अलग–अलग ‘आयत’वाचन गरेर स्वागत गरिएको थियो । वाचन गरिएका आयतमार्फत तेहरानले सो देश आफ्नो विदेश नीतिमा कहाँ पर्छ भन्ने देखाउन खोजेको मानिएको छ । 

जस्तो साउदी अरबका प्रतिनिधिको स्वागत निम्न आयतवाचन गरियो : ‘युद्धमा दुई सेनाबिच भेट हुँदा तिमीहरूका लागि पहिले नै संकेत रहेको हुनेछ ।’ हालैका वर्ष दुई देशबिच सम्बन्ध स्थिर पार्ने प्रयास भइरहे पनि यसलाई उनीहरूको क्षेत्रीय प्रतिद्वन्द्विताको स्पष्ट सम्झनाका रूपमा व्याख्या गरिएको छ ।

पाकिस्तानका लागि थप सकारात्मक आयतवाचन गरिएको थियो– ‘र भन्नुहोस्, हे अल्लाह ! मलाई सम्मानजनक प्रवेशद्वार र सम्मानजनक निकास दिनुहोस् र तपाईंबाट मलाई सहयोगीको अधिकार प्रदान गर्नुहोस् ।’ सम्भवतः यो युद्ध अवधिमा इस्लामाबादले गरेको मध्यस्थता प्रयासप्रतिको संकेत हुन सक्छ । चीन र रुसजस्ता गैरमुस्लिम देशका प्रतिनिधिमण्डललाई पनि यस्तै कुरानका आयतवाचन गरेर सम्मान गरिएको थियो । खामेनीको अन्त्येष्टिलाई इरानले उसैले भन्ने गरेको ‘वैश्विक अहंकार’विरुद्धको अवज्ञा र निरन्तर प्रतिरोध प्रदर्शन गर्ने शक्तिशाली राजनीतिक र कूटनीतिक माध्यमका रूपमा प्रयोग गर्‍यो । पश्चिमा शत्रुले एक्ल्याउने प्रयास गरे पनि तेहरानले शोक समारोहमार्फत आफ्नो वैधता, क्षेत्रीय पहुँच, सार्वजनिक समर्थन र निरन्तर परिचालन क्षमता प्रदर्शन गर्न सफल भयो । इरान मात्र होइन सिया मुस्लिमको बाहुल्य रहेको छिमेकी इराकमा पनि दसौँ लाख मानिसले खामेनीको अन्त्येष्टिमा भाग लिए । अत्यन्त उच्च तापक्रम र नयाँ अमेरिकी आक्रमणको खतराका बाबजुद कुनै गम्भीर घटनाविना ठुलो भिडलाई सफलतापूर्वक व्यवस्थापन गर्न सक्नु यसको प्रमाण हो । 

(इस्फहानी डरहम विश्वविद्यालयमा मध्यपूर्वको राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध विषयकी सहायक प्राध्यापक हुन्) द कन्भरसेसनबाट

See More On

सुझावित समाचार