श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र श्रम तथा रोजगार कार्यालयहरूले अस्पताल, विद्यालय, सहकारी तथा उद्योगहरूमा श्रम ऐनको कार्यान्वयन अवस्थाबारे आकस्मिक निरीक्षण गरेका छन् ।
सो निरीक्षणमा प्रतिष्ठानहरूमा सामाजिक सुरक्षा कोषको आबद्धता र न्यूनतम पारिश्रमिक कार्यान्वयन प्रभावकारी रूपमा गर्न निर्देशन दिएको युवा, श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।
विभागले काठमाडौंको नेपाल–भारत मैत्री अस्पताल, चिरायु पोलिक्लिनिक र भेनस अस्पताल, ललितपुरको आमप्रस इन्डस्ट्रिज तथा कास्की र तनहुँका कार्यालयले सहकारी, डेरी र विद्यालयलगायतको निरीक्षण गरेका छन् ।
निरीक्षण गरिएका रोयल बचत तथा ऋण सहकारी, माउन्ट अन्नपूर्ण एकेडेमीलगायतका संस्थालाई श्रम अडिट पेस गर्न र कर्मचारीसँग रोजगार सम्झौता गर्न निर्देशन दिइएको छ । बुटवलमा रहेका लुम्बिनी डेरी र शुभ ओम कम्पनी (पौवा होटेल)का कर्मचारीलाई नियुक्ति पत्र दिन र ओभर टाइमबापतको थप सुविधा उपलब्ध गराउन निर्देशन दिइएको छ । नेपालगन्जको युरो बेबी जोन स्कुलमा पनि न्यूनतम पारिश्रमिक लागू गर्न निर्देशन दिइएको छ ।