अहिले गणेश नेपाली र साढे तीन वर्षअघि प्रेम आचार्यको आत्मदाहले सरकार र नागरिकबिचको दूरी मात्रै होइन, समाज र राज्य संयन्त्रको अनुहार पनि देखाएको छ
- विदेश जान नसकेपछि गणेशले किस्तामा किनेका थिए मोटरसाइकल, राइड सेयरिङबाट पालेका थिए परिवार
- आत्मदाहबारे छानबिन गर्न नेपाल प्रहरीका डिआइजीको नेतृत्वमा सरकारले बनायो समिति
- अनुसन्धानका लागि काठमाडौंका तीन नगर प्रहरी हिरासतमा, परिवारलाई रोजगारी र शिक्षा दिने महानगरको प्रतिबद्धता
- सर्लाहीका युवकले पनि गरे आत्मदाह प्रयास, उपचारका लागि हेलिकोप्टरबाट ल्याइयो काठमाडौं
- विपक्षी दलहरूको एउटै स्वर– यस्ता घटना नदोहोरिऊन्, दोषीमाथि कारबाही होस्
राजधानीमा मोटरसाइकल राइडरको काम गरेर गुजारा चलाइरहेका मुगुका गणेश नेपाली सदाझैँ बिहीबार बिहान पनि काममा निस्किए । यात्रु बोकेर हिँडेका उनले बिहीबार बिहान सवा ११ बजे त्रिपुरेश्वरस्थित राहदानी विभागको मुख्य गेटअगाडिको सडकमा मोटरसाइकल रोके ।
आफूले ल्याएका यात्रुलाई विभागको २ नम्बर गेटमा ओराले । मोटरसाइकलको लेगार्डमा झुन्ड्याएको ती यात्रुको झोला छुटेपछि झोला यात्रुलाई दिन केही पर पुगे । लगत्तै उनी मोटरसाइकल भएको ठाउँमा फर्किहाले ।
तर, काठमाडौं महानगरपालिकाका नगर प्रहरी आएर सिटी फुक्दै लखेट्न थाले । उनले अन्य यात्रुको खोजीमा मोटरसाइकल ३ नम्बर गेटको बाहिर पुर्याए । तर, त्यहाँ पनि नगर प्रहरीले लखेटे । महिला नगर प्रहरी सिटी फुक्दै गणेश भएकै ठाउँमा पुगिन् । उनले गणेशलाई निगरानी राखिरहेकी थिइन् । गणेशले २ र ३ नम्बर गेटको बिचमा ल्याएर मोटरसाइकल रोके । उनको मोटरसाइकल सडकछेउमै थियो । तर, नगर प्रहरीले ह्विल लक गरिन् । गणेशले आफू मोटरसाइकलमै रहेकाले ह्विल लक नगर्न अनुरोध गरेको सार्वजनिक भएको भिडियोमा देखिन्छ । तर, नगर प्रहरीले ह्विल लक गरेरै छाडिन् । त्यसपछि महिला नगर प्रहरी र गणेशबिच भनाभन चल्छ । ‘यहाँ सधैँ भिड हुन्छ, बिहीबार पनि पार्किङकै विषयमा उहाँहरूबिच चर्को स्वरमा भनाभन भइरहेको थियो, तर मोटरसाइकलमा रहेका ती दाइले ह्यान्डिल समाइरहेको वेलामा नगर प्रहरीले ह्विल लक गरेको थियो,’ राहदानी विभागको अगाडि फोटोकपी पसलमा काम गर्ने प्रत्यक्षदर्शी सुष्मा राईले नयाँ पत्रिकालाई सुनाइन्, ‘उहाँहरूबिच धेरैबेर भनाभन भएको थियो, त्यसपछि के–के भयो थाहा भएन । म आफ्नो कामतिर लागेँ । केही समयपछि बाइकचालक दाइले आफैँलाई आगो लगाउनुभएछ, त्यसवेला दिउँसोको अन्दाजी १:४० भएको थियो, सानो विवादले यति ठुलो घटना भएको सुन्दा म झस्किएँ ।’
यसअघि १३ असारमा मात्रै सामान पुर्याउन जाँदा काठमाडौं महानगरको जरिवानामा परेका थिए । थोरै कमाइ हुने, त्यसमा पनि जरिवाना शुल्क तिर्नुपरेपछि गणेशले उक्त गुनासो भतिजसमक्ष पोखेका थिए । शुक्रबार पनि उस्तै भयो । उनले मोटरसाइकलमा बस्दा पनि ह्विल लक गर्छन् भन्दै नगर प्रहरीसँग प्रतिवाद गरेको भिडियोमा देखिन्छ । गणेश र नगर प्रहरीबिचको भनाभन चलेको केही समयपछि नेपाल प्रहरीका एक हवलदार त्यहाँ आइपुगेका थिए । ट्राफिक प्रहरीसमेत आएर हप्कीदप्की गरेपछि गणेश आक्रोशित बने । ह्विल लक लगाइदिएपछि गणेश केहीबेर यताउता डुलिरहे । करिब १ बजेतिर उनले मिनरल वाटरको बोटल खोजे । बाइकको पेट्रोल बोटलमा खन्याए । जब १:४० बजेतिर उनको मोटरसाइकल लिन महानगरको गाडी आयो । त्यसपछि उनले शरीरमा पेट्रोल खन्याए । र, आफ्नै शरीरमा आगो लगाइदिए ।
जल्दाजल्दै गणेश सडकमै ढले । एकजना नगर प्रहरी र बटुवाले गणेशलाई उठाए । मुख्य सडकनजिक पुर्याएर ट्याक्सीमा राखेर वीर अस्पतालमा पुर्याइयो । वीरको बोर्न वार्डको आइसियूमा लगियो । तर, अस्पतालमा पुगेपछि पनि उनको उपचारमा केहीबेर अलमल भएको उनका दाइ मदन नेपाली बताउँछन् । ‘घटना भएपछि २ बजेतिर मलाई फोन आयो । त्यसपछि म २:१० तिर अस्पतालमा पुगेँ, त्यतिवेलासम्म उपचारमा अलमल थियो, खास उपचार अझै सुरु भएको थिएन,’ उनले सुनाए, ‘औषधि के–के चलाइरहेका छन्, वास्तविकता कस्तो छ भनेर राम्ररी भनिएन, त्यति गम्भीर अवस्थाको बिरामीलाई हात समातेर हिँडाइएको रहेछ, पछि भिडियोहरू हेर्दा म रोएँ ।’
अस्पतालले शुक्रबार बिहान १० बजे पत्रकार सम्मेलन गरेको थियो । अस्पतालले साढे १० बजे गणेशका दाइ मदनलाई पत्रकार सम्मेलनमा बोलायो । गणेशको अवस्था जटिल रहेको अस्पतालको प्रतिक्रिया थियो । बिहान ११ बजेर १९ मिनेटमा अस्पतालले गणेशको मृत्यु भएको घोषणा गर्यो ।
‘अस्पताल ल्याउँदा नै अवस्था निकै नाजुक थियो, जलनको उपचार सहज हुँदैन, त्यसमाथि ५५ प्रतिशतभन्दा बढी जलन भइसकेको थियो,’ अस्पतालका प्रवक्ता डा. प्रकाश बुढोथोकीले भने, ‘बिहीबार रातिदेखि नै घाइतेको अवस्था बढी जटिल बनेको थियो, आखिर उपचारका प्रयास असफल बने ।’
शव अस्पतालमा, गणेशका आमाबुबा काठमाडौं आइपुगे
काठमाडौं महानगरको नगर प्रहरीसँगको विवादपछि शरीरमा आगो लगाउँदा मृत्यु भएका मुगुका गणेश नेपालीका आमाबुबा शुक्रबार काठमाडौं आइपुगेका छन् । छोराको मृत्युको खबरपछि उनीहरू मुगुबाट काठमाडौं आएका हुन् । मृतकका आमाबुबा काठमाडौं आइपुगेको र घटनाबारे विस्तृत छानबिन अघि बढेको काठमाडौं परिसरका एसपी पवन भट्टराईले बताए । निष्पक्ष छानबिनको माग गर्दै परिवारले शव बुझेका छैनन् ।
गणेशका दाइ दोषिमाथि कारबाही हुनुपर्ने अडानमा छन् । ‘आफ्नो काम गरेर खाँदासमेत जरिवाना तिराउने र मेरो भाइलाई मर्न बाध्य पार्नेमाथि कारबाही हुनुपर्छ,’ उनी भन्छन्, ‘मर्ने वेलामा उसले बोलेको कुरा प्रमाणका रूपमा लिएर सरकारले दोषीमाथि कारबाही गर्नुपर्छ, सरकारले गरिब परिवारको जीवन मेट्न पाउँदैन ।’
विदेश जान नपाएपछि किस्तामा किनेका थिए मोटरसाइकल
गणेश श्रीमती र तीन वर्षीय छोरासहित भक्तपुरको कमलविनायकमा बस्थे । एक वर्षदेखि दुबई जान भिसा अप्लाई गरेका गणेशले भनेजस्तो काम नपाएपछि सात महिनाअघि किस्तामा मोटरसाइकल किनेका थिए । त्यसपछि उनी राइड सेयरिङको काम गर्न थाले । उनको कोठाभाडा तिर्ने र परिवार पाल्ने खर्च जोहो गर्ने त्यही मोटरसाइकल थियो । भक्तपुर र काठमाडौं क्षेत्रमा यात्रुहरूलाई गतव्यमा पुर्याउने, कतिपयमा सामान पुर्याउने काम गर्दै आइरहेका थिए । तर, कतिपय यात्रु र सामान डेलिभरी गरिदिँदा उनलाई पार्किङको समस्या हुन्थ्यो ।
गृहले बनायो छानबिन समिति
यस घटनाका सम्बन्धमा छानबिनका लागि गृह मन्त्रालयले उपत्यका प्रहरी कार्यालय डिआइजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठनसमेत गरेको छ । घटनाका सम्बन्धमा महानगरका तीन नगर प्रहरीलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विज्ञप्ति जारी गर्दै घटना ट्राफिकसँग सम्बन्धित नभएको बताएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनामा सत्यतथ्य नबुझी प्रहरीमाथि आरोप लगाउने काम भएको बताएको छ ।
‘उक्त घटनामा ट्राफिक प्रहरीले जरिवाना तिराएको र सोही कारणले आत्मदाहको प्रयास गरेको भनी फैलाइएका विवरण पूर्णतः तथ्यहीन र भ्रामक रहेका छन् । घटनास्थलको वस्तुस्थिति तथा प्रारम्भिक छानबिनका क्रममा ट्राफिक प्रहरीद्वारा जरिवाना नगरिएको र ट्राफिक कारबाहीसँग यस घटनाको कुनै पनि सम्बन्ध रहेको छैन,’ विज्ञप्तिमा भनिएको छ ।
परिवारलाई रोजगारी र शिक्षा दिने काठमाडौं महानगरको प्रतिबद्धता
नगर प्रहरीको दुर्व्यवहारका कारण आत्मदाह गरेका मुगुका गणेश नेपालीको परिवारलाई काठमाडौं महानगरपालिकाले सहयोग गर्ने भएको छ । परिवारलाई मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निःशुल्क शिक्षा दिने सम्बन्धमा कार्यपालिका बैठकबाट निर्णय गरिने प्रवक्ता नवीन मानन्धरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महानगरपालिकाले घटनाप्रति दुःख व्यक्त गरेको छ, तर गल्ती भने स्वीकार गरेको छैन । छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदम चालिने उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको निष्पक्ष छानबिन गर्न नेपाल सरकार, गृह मन्त्रालयले छानबिन समिति गठन गर्ने निर्णय गरेको भन्ने जानकारी सञ्चारमाध्यममार्फत प्राप्त हुन आएको छ । उक्त समितिको तथ्यगत छानबिनमा काठमाडौं महानगरपालिकाले पूर्ण रूपमा सहयोग गर्नेछ । छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदमहरू चाल्नेछ ।’ महानगरपालिका नेपाल सरकारसँगको समन्वय र सहकार्यमा समाधानका उपाय पहिचान गर्न, यस्ता घटना दोहोरिन नदिन र असल अभ्यास विकास गरी कार्यान्वयनमा लैजान तयार रहेको उल्लेख छ ।
प्रेम आचार्यले आत्मदाह गर्दा बोलेका बालेन आफू प्रधानमन्त्री हुँदा भएको घटनामा मौन
१० माघ ०७९ मा प्रेम आचार्यले नयाँ बानेश्वरस्थित संसद् भवनबाहिर आत्मदाह गरेका थिए । उक्त घटनापछि तत्कालीन सरकारको सर्वत्र आलोचना भयो । तत्कालीन समयमा काठमाडौं महानगरपालिकाका मेयर रहेका हालका प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत सरकारको कमजोरीले नागरिक ज्यान गएको भन्दै चर्को विरोध गरेका थिए । तर, उनी प्रधानमन्त्रीको कुर्सीमा रहेका वेला बिहीबार आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएर गणेश नेपालीको शुक्रबार ज्यान गएको छ । तर, यो घटनामा प्रधानमन्त्री शाह मौन छन् । हाल सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समेत ०७९ को घटनामा तत्कालीन सरकारको चर्को आलोचना गरेका थिए । उनले यो हालको घटनामा कुनै प्रतिक्रिया दिएका छैनन् ।
खाना खान पर्खिएर बसेका थिए परिवार, फर्किएनन् गणेश
भक्तपुरको कमलविनायक बस्दै आएका गणेश बुधबार श्रीमती र छोरासहित दाइ मदनको बालाजुस्थित डेरामा पुगेका थिए । ‘बुधबार दिउँसो भाइबुहारी र छोरा मेरो रुममा आए, केहीबेरमा भाइ राइडरको काममा निस्कियो । बेलुकी यतै आयो, भाइलाई खसीको मासु खान साह्रै मन लागेको रहेछ । मासु महँगो ! किलोकै १४–१५ सय तिरेर खान नसकिने । खसीको खुट्टा लिएर आएको थियो । म खाना खाएर सुतिसकेको थिएँ,’ मृतक गणेशका दाइ मदनले सुनाए, ‘उसका लागि खाना बाँकी थियो, त्यही खाएर सुत, खसीको खुट्टा भोलि पकाउँला भनेर मैले भनेँ, त्यसपछि ऊ खाना खाएर सुत्यो । बिहीबार बिहान मैले नै ‘बाइकको किस्ता तिर्ने वेला आयो, पठाओ गर्न जाऊ’ भनेँ, ऊ जुरुक्क उठ्यो, त्यसपछि कोठाबाट निस्कियो, बिहानै छिमेकीलाई डिस्टर्ब हुन्छ भनेर बाइक स्टार्ट नगरी परसम्म हातले तान्दै लगेर मात्रै स्टार्ट गर्यो । त्यसपछि पठाओ एप अन गर्दै यात्रुहरू खोज्दै बाइक गुडायो ।’ उनी गएपछि मदनले अघिल्लो दिन भाइले ल्याएको खसीको खुट्टा कुकरमा सिट्ठी लगाएर पकाए ।
तर, १० बजेसम्म गणेश खाना खान आएनन् । पठाओ गर्दा ढिलो भयो होला भन्ने सोचेर मदनले फोन पनि गरेनन् । आफूहरूले खाना खाएर भाइलाई राखिदिए । त्यसपछि मदन केहीबेर ढल्किए । उनी निदाएछन् । दिउँसो १:५० बजे मोबाइलमा घन्टी बज्यो । सेभ नभएको नम्बरबाट आएको फोन उनले उठाए । ‘तपाईंको मान्छे पेट्रोल छर्किएर घाइते हुनुभएको रहेछ, तुरुन्त वीर अस्पतालमा आउनुस्’ भनेर प्रहरीले बोलाए । मदनलाई सपनाजस्तै लाग्यो । डेराबाट हतारिँदै निस्किए । अस्पताल पुग्दा भाइको अवस्था चिन्ताजनक थियो । दाइलाई देखेपछि जलनले सिकिस्त बनेका गणेश अस्पतालको शय्याबाट केही शब्द बोले, ‘दाइ बाबाममीलाई ख्याल गर्नु, दाइ मेरो गल्ती थिएन है, मेरो गल्ती थिएन है, उनीहरूले ह्विल लक लगाए, ट्राफिक आएर हात हाल्यो,’ त्यसपछि गणेशको मुखबाट शब्द निस्किएनन् ।
मदनलाई यतिको बोलेको भाइको बोली फर्किन्छ होला, उपचार सम्भव हुन्छ होला भन्ने आस थियो । तर, शुक्रबार अस्पतालले गणेशलाई मृत घोषणा गरेपछि उनी विक्षिप्त छन् । पठाओ चलाउन एकाबिहानै निस्किएका पतिको मृत्युको खबरले उस्तै विक्षिप्त छिन् गणेशकी पत्नी । मुगुस्थित उनको घरपरिवारमा उस्तै सन्नाटा छाएको छ, गाउँ शोकमा डुबेको छ ।