कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धान रोपाइँका समयमा किसानले मागेजति रासायनिक मल आपूर्तिका लागि सक्दो प्रयास गरिरहेको बताएकी छिन् ।मन्त्रालय सम्हालेको सय दिन पूरा भएको सन्दर्भमा पत्रकार सम्मेलन गर्दै उनले मल आपूर्ति, वितरण प्रणाली, किसानका गुनासा तथा देशभरबाट प्राप्त सूचनाको प्रत्यक्ष निगरानी भइरहेको बताइन् ।
‘मलको कृत्रिम अभाव, कालोबजारी र बिचौलियाको चलखेल रोक्न छड्के अनुगमन अघि बढाएका छौँ,’ उनले भनिन्, ‘किसानका गुनासा तत्काल सुन्ने, सम्बन्धित निकायलाई निर्देशन दिने र समस्या शीघ्र समाधान गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेका छौँ ।’
चालू आर्थिक वर्ष ०८२/८३ मा चैतदेखि हालसम्म ८९ हजार एक सय ९४ टन मल वितरण भइसकेको मन्त्रालयले जनाएको छ । यसमध्ये कृषि सामग्री कम्पनी लिमिटेडबाट ५३ हजार ७१६.४५ मेट्रिकटन तथा साल्टट्रेडिङ कर्पोरेसनबाट ३५ हजार ४७८.१० मेट्रिकटन वितरण भएको हो ।
त्यसैगरी, चैतयता मात्रै तीन लाख ५० हजार टन मल खरिदका लागि टेन्डरसमेत भएको मन्त्री चौधरीले जानकारी दिइन् । यसरी टेन्डर भएकामध्ये भारतबाट जिटुजीमार्फत खरिद गर्ने ५० हजार टनसमेत समावेश गरिएको छ ।
कार्यक्रममा सचिव डा. राजेन्द्रप्रसाद मिश्रले उखु किसानले निजी मिलबाट पाउनुपर्ने भुक्तानीका लागि सहजीकरण गरेको र सरकारी अनुदानबापत दिनुपर्ने एक अर्ब ५२ करोड रुपैयाँ निकासा भइसकेको बताए ।