प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सीमा विवादसम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले लगातार ४० दिनदेखि बैठकको सुरुमै विरोध गर्दै आएपछि सभामुख डोलप्रसाद अर्यालले विरोधको शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्।
बिहीबारको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले प्रधानमन्त्रीको अधिव्यक्तिलाई विरोध जनाएपछि सभामुख अर्यालले विपक्षी दलहरूको तर्फबाट एकजना सांसदले मात्रै धारणा राख्ने व्यवस्था अपनाउन प्रस्ताव गर्दै नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीलाई बोल्ने समय दिएका थिए।
तर, एकजनाले मात्रै बोलेर विरोध जनाउने प्रस्तावमा विपक्षी दलहरू सहमत भएनन्। त्यसपछि सभामुख अर्यालले विरोधको शैली परिवर्तन गर्न आग्रह गर्दै विषयकेन्द्रित भएर मात्रै आफ्ना धारणा राख्न विपक्षी सांसदहरूलाई अनुरोध गरे।
उनले विरोधका क्रममा मूल विषयभन्दा बाहिर नजान आग्रह गर्दै जुन विषयवस्तुका लागि विरोध सुरु गरिएको हो, त्यहीभित्र रहेर आफ्ना भनाइ राख्दा त्यसको औचित्य पनि पुष्टि हुने बताए ।