कोशी र लुम्बिनी प्रदेशको बजेट पारित

बिहिबार, २५ असार, २०८३
डिजिटल संस्करण

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट कोशी प्रदेश सभाबाट पारित भएको छ । सत्तारूढ दलका सांसदहरूको असन्तुष्टिका कारण मुख्यमन्त्री र मन्त्रीहरूले नै बजेटलाई सन्तुलित बनाउन सच्याउने प्रतिबद्धता गरेपछि बुधबार कोशी प्रदेश सभाबाट बजेट बहुमतले पारित भएको हो । सरकारले आफ्नै सत्तारूढ दल एमाले र कांग्रेसका सांसदहरूलाई बजेट पारित गराउन संसदीय दलमार्फत ह्विप जारी गरेको थियो । 

आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले १ असारमा आगामी आर्थिक वर्ष ०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । तर, बजेटमा मुख्यमन्त्री र मन्त्रीहरूले एकलौटी रजाइँ गरेर असन्तुलित बनाएको भन्दै सत्तापक्षकै सांसदहरूले चर्को विरोध गरेका थिए । जसले गर्दा सरकारले प्रस्तुत गरेको बजेट प्रदेश सभामा नियमित छलफलसमेत हुनपाएको थिएन । त्यसपछि सरकारले असन्तुष्ट सत्ताधारी सांसदहरूको माग सम्बोधन गर्न ६ जना सांसदहरूको कार्यदल निर्माण गरेको थियो । कार्यदलको सिफारिसपछि सरकारको तर्फबाट आर्थिक योजनामन्त्री विदुर लिङ्थेपले बजेट पारित भएपछि कार्यक्रम समर्पण गराएर सच्याउने प्रतिबद्धता गरेका थिए । 

त्यस्तै, लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८३/८४ बजेट बहुमतले पारित भएको छ  । तर, सत्ता पक्षका केही तथा विपक्षी सांसदहरूको असन्तुष्टि भने कायम नै रहेको छ । प्रदेश सभाका बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले ती विधेयक पास गरियोस् भन्ने प्रस्ताव गरेका थिए । ती विधेयक सभामुख तुलाराम घर्तीमगरले निर्णयार्थ पेस गरेकोमा बहुमतबाट पारित भएको हो । १ असारमा बजेट प्रस्तुत भए पनि सत्तापक्षकै सांसदहरू असन्तुष्ट बनेपछि २१ गतेसम्म छलफल हुन सकेको थिएन । 

सुझावित समाचार