अछामको ढकारी–४ बलाताकी वडा सदस्य मनीषा साउद मृत्यु प्रकरणले नयाँ मोड लिएको छ । उनको चरित्र हत्या हुनेगरी भिडियो खिचेर प्रचार गरी मनीषालाई मर्न बाध्य बनाएको हुनसक्ने तर्फ अनुसन्धान अघि बढेपछि यो घटनाले नयाँ मोड लिएको हो ।
एक हप्ताअघि पक्राउ परेका बलाताकै २२ वर्षका धिरज बुढाले प्रहरी संगको बयानका क्रममा मनीषा र उनकै गाउँका एक पुरुष बिच अनैतिक सम्बन्ध रहेको भन्दै भिडियो खिचेर आफुले प्रचार गरेको स्विकार गरेका छन् ।
२८ जेष्ठको राति मनीषा र ति पुरुषलाई स्थानीयले मनीषाकै घरबाट नियन्त्रणमा लिएर उनीहरुको सम्बन्धका बारेमा जनप्रतिनिधिसहित छलफल गरेका थिए । छलफलका क्रममा मनीषा र उनीसंगै नियन्त्रणमा लिइएका पुरुष बारे उनीहरुले चरित्रमाथि प्रश्न उठाएर अनेक थरी लाञ्छना लगाएका थिए । त्यस क्रममा धिरजले मोबाइल मार्फत त्यहाँको भिडियो खिचेर विभिन्न सामाजिक सञ्जालमा प्रचार गर्नुका साथै नेपाल र भारतमा रहेका आफ्ना साथीहरुलाई समेत उक्त भिडियो पठाएका थिए ।
त्यसपछि २९ जेष्ठको दिउँसोदेखि उक्त भिडियो जताततै फैलिएको अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ओमप्रकास खनालले बताए । ‘भिडियो उसैले खिचेको रहेछ,’ डीएसपी खनालले भने,‘सबैतिर पठाउने र प्रचार गर्ने कामपनि उसैले गरेको देखिन्छ ।
जुन कार्यले आत्महत्या दुरुत्साहन गरेको ठहरिन्छ ।’ पक्राउ परेका धिरजलाई प्रहरीले आत्महत्या दुरुत्साहन र विद्युतीय अपराध अन्तरगत मुद्दा चलाएर अनुसन्धान गरिरहेको छ । उनले २८ जेष्ठको राति खिचेको भिडियोमा वर्तमान वडाध्यक्ष पहलवान थापा र पूर्व वडाध्यक्ष भक्तबहादुर बुढासहित कबिर ५०/६० जनाको संख्यामा स्थानीयहरु जम्मा भएर छलफलमा सहभागी भएको देखिन्छन् ।
भिडियो खिच्ने धिरज पूर्व वडाध्यक्ष भक्तबहादुर बुढाका छोरा हुन् । उनले मृतक मनीषा र उनीसंगै नियन्त्रणमा लिएका पुरुष तथा अन्य स्थानीयहरु प्रष्ट देखिने गरि भिडियो खिचेको देखिन्छ ।
प्रहरीका अनुसार उक्त भिडियो ‘भाइरल’ भएकै दिन २९ जेष्ठको दिउँसो देखि मनीषा वेपत्ता हुन्छिन् । त्यसपछि वडाध्यक्ष र उनका आफन्तले खोजीका लागी ढकारी प्रहरी चौकीमा निवेदन दिन्छन् । तर ३१ जेष्ठको दिउँसो घर नजिकैको जंगलमा मनीषा रुखमा झन्डिएको अवस्थामा मृत भेटिछिन् । त्यसपछि प्रहरीले वडाध्यक्ष थापा र उनीसंगै भेटिएका पुरुषलाई पक्राउ गरि अनुसन्धान सुरु गर्छ । त्यही क्रममा मृतकका आफन्तले वडाध्यक्ष थापाले सामुहिक चरित्र हत्यागरी आत्महत्या दुरुत्साहन गरेको र अर्का संगै भेटिएका पुरुषले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिए ।
स्थानीय स्रोतका अनुसार अहिले धिरज पक्राउ परेपछि भने पूर्व वडाध्यक्ष बुढा पक्षले यो घटना मेलमिलापमा टुङ्ग्यान प्रयास गरिरहेको छ । तर पक्राउ परेका धिरजले खिचेको भिडियो र त्यसले पारेको प्रभाव बारे प्रहरीले कडा रुपमा अनुसन्धान अघि बढाएको छ । अहिले प्रहरीले उनले खिचेको भिडियो थप परिक्षणका लागी साइबर ब्युरोमा पठाएको छ भने अन्य ६ भन्दा बढी फेसबुक पेजमाथि पनि अनुसन्धान गरिरहेको छ । प्रहरी हिरासतमा रहेका वडाध्यक्ष सहितका उनीहरु तिनैजना माथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।