तेस्रो त्रैमासमा ३.५१ प्रतिशत आर्थिक वृद्धिको अनुमान

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

चालू आर्थिक वर्षको तेस्रो त्रैमास (माघ–चैत)मा नेपालको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत हुने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले त्रैमासिक राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै आर्थिक वृद्धिदरको प्रारम्भिक अनुमान गरेको हो ।

विद्युत् उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बिमा प्रिमियम संकलन, व्यापार सेवालगायतका क्रियाकलापमा भएको वृद्धिले आर्थिक वृद्धिदरलाई टेवा पुर्याएको कार्यालयले उल्लेख गरेको छ । तेस्रो त्रैमासमा कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादनबाहेक सबैमा धनात्मक वृद्धिदर रहेको अनुमान गरिएको छ । 

तेस्रो त्रैमासमा गत आवको सोही अवधिको तुलनामा विद्युत् तथा ग्यास सम्बन्धित क्रियाकलापको वृद्धिदर सबैभन्दा धेरै २४.८८ प्रतिशत रहेको छ । वित्तीय तथा बिमासम्बन्धी क्रियाकलापमा १०.२७ प्रतिशत, यातायात तथा भण्डारणमा ७.८३ प्रतिशत र थोक तथा खुद्रा व्यापारमा ५.२५ प्रतिशत वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ । अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्याउने कृषि क्षेत्रको वृद्धिदर भने १.५८ प्रतिशतमा सीमित रहने कार्यालयको अनुमान छ ।

‘धान बालीको उत्पादनमा कमी आएको भए पनि पशुपक्षी, तरकारी बाली तथा फलफूल र वनपैदावारको उत्पादनमा भएको सामान्य वृद्धिले कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, अर्थतन्त्रको दोस्रो ठुलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर ५.२५ प्रतिशत भएको अनुमान गरिएको छ । व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन तथा आयातमा भएको वृद्धिका कारणले यस क्षेत्रको वृद्धि हुन गएको देखिन्छ । सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको वृद्धिदर १.५९ प्रतिशतले ऋणात्मक र औद्योगिक उत्पादनको वृद्धिदर ०.५४ प्रतिशतले ऋणात्मक देखिएको छ । 

यसअघि कार्यालयले चालू आवको पहिलो त्रैमासमा ३.१५ प्रतिशत र दोस्रो त्रैमासमा ४.१३ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । त्यस्तै, अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको वृद्धिदर भने ०.९ प्रतिशत विन्दुले न्यून हो । गत आव ०८१/८२ को तेस्रो त्रैमासमा ४.०५ प्रतिशतको आर्थिक वृद्धिदर भएको कार्यालयको संशोधित अनुमान छ । 

सुझावित समाचार