एक गाउँमा दुई दाजुभाइ प्रेमपूर्वक बसोवास गर्थे । सँगै रहँदाबस्दा एक दिन उनीहरूबिच कुनै विषयमा सामान्य विवाद भयो । दाजुभाइबिच विवाद भएको थाहा पाएपछि उनीहरूको प्रेम देखेर जल्ने केही गाउँलेले दुवैको कान फुकेर विवादको झिल्कोलाई डढेलो बनाइदिए । दाजुभाइबिचको सामान्य विवादलाई गम्भीर दुस्मनीमा परिणत गरिदिए । विवाद बढ्दै जाँदा दाजुभाइबिच आवतजावत र बोलचालसमेत बन्द भयो । दुवै एक–अर्काको मुखसम्म हेर्न नचाहने भए ।
त्यसको केही वर्षपछि एक दिन केही गाउँले दाजुको घरबाहिर जम्मा भएर कुनै विषयमा उनलाई गालीगलोज गर्दै धम्क्याइरहेका पनि थिए । यो सब देख्दा भाइ आफ्नो कोठाको झ्यालबाट हेरेर मुसुमुसु हाँसिरहेको थियो । उसले मनमनै सोच्यो– बल्ल आज दाइले स्वाद पाउने भयो । त्यसलाई गाउँलेले ठिक पार्ने भए । त्यत्तिकैमा भाइकी पत्नी हतारिँदै बाहिरबाट पति भएको कोठामा प्रवेश गरेर भनी– बाहिर हेर्नुस् त, केही गाउँले दाजुलाई धम्क्याउँदै छन् । दाजु एक्लै पर्नुभयो । हामी यसरी चुप लागेर बस्नुहुँदैन । दाजुलाई सहयोग गर्न हामी जानैपर्छ, बुझ्नुभयो ?
भाइले पत्नीतिर हेर्दै भने– यो के भन्दै छ्यौ तिमी ? हामीलाई रिस गर्ने त्यस्तो दुस्मनलाई दाजु भनेर सहयोग गर्ने ? पतिको कुरा सुनेर पत्नीले भनी– दाजुभाइबिच सामान्य कुराले मनमुटाव भयो भन्दैमा दाजुलाई दुस्मन ठान्ने हो त ? हाम्रो माइतमा त दाजुभाइ अप्ठ्यारोमा पर्दा चुप लागेर बस्ने संस्कार छैन । त्यसैले, तपाईं जानुस् या नजानुस्, मचाहिँ गएँ । यति भनेर पत्नी हतारहतार एउटा लाठो उठाएर बाहिर निस्किइन् । पत्नी निस्किएको देखेपछि भाइ पनि लाठो टिपेर बाहिर निस्कियो ।
भाइ र बुहारी आफ्नो सहयोगमा आएको देखेपछि दाजु, भाउजू र उनीहरूका छोराछोरी पनि एकसाथ निस्किए । यसरी दुवै दाजुभाइका परिवार एकसाथ निस्किएको देखेपछि गालीगलोज गर्ने गाउँले त्यहाँबाट भागे । आज भाइकी पत्नीको बुद्धिमत्तापूर्ण निर्णयले वर्षौँसम्म टाढा भएका दाजुभाइको मिलन भयो । दुवै दाजुभाइले अंकमाल गरी एक–अर्कासित माफी मागे ।