फेब्रुअरीमा मारिएका खामेनीको चार महिनापछि अन्त्येष्टि समारोह सुरु

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण

अमेरिकी र इजरायलको संयुक्त हमलामा मारिएको चार महिनापछि इरानले आफ्ना पूर्वसर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक सुरु गरेको छ । अन्त्येष्टिअघि ६ दिनसम्म सार्वजनिक श्रद्धाञ्जलि कार्यक्रम सञ्चालन गरिनेछ । यस अवधिमा शोक तथा र्याली आयोजना हुनेछ ।

आयतोल्लाहको शव तेहरानको ग्रान्ड मोसल्ला मस्जिदमा राखिएको छ । आगामी बिहीबार गृहनगर मसहदमा उनको अन्तिम संस्कार हुँदै छ । खामेनीको शव राखिएको बाकस समारोहस्थलमा लैजानुअघि हजारौँ शोकाकुल नागरिक तेहरानस्थित ग्रान्ड मोसाल्लाको प्रांगणमा भेला भएका थिए । सहभागीले अमेरिकाविरुद्ध चर्का नारा लगाएका थिए ।

समारोहमा दुई करोडको संख्यामा मानिस उपस्थित हुने अपेक्षा गरिएको छ । अधिकारीहरूले त्यसलाई ‘शताब्दीकै अन्तिम संस्कार’ भनिरहेका छन् । इरान र अमेरिकाबिच युद्ध अन्त्य घोषणा भएको केही दिनमै खामेनीको अन्त्येष्टि कार्यक्रम सुरु भएको हो ।

अन्तिम संस्कारको कार्यक्रममा पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन, रुस, भारतसहित एक सयभन्दा धेरै देशका प्रतिनिधि सहभागी भए । अमेरिका र इरानबिच शान्ति वार्तामा मध्यस्थता गर्ने पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ, रुसका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेभ र अफगान तालिबानका विदेशमन्त्री अमिर खान मुत्तकी त्यहाँ उपस्थित थिए । साउदी अरेबिया, कतार र दुबर्ईजस्ता पश्चिम एसियामा रहेका अमेरिकाका साझेदार देशका प्रतिनिधि पनि कार्यक्रममा सहभागी भए ।
 

See More On

सुझावित समाचार