अब ‘नयाँ पार्टी’ भन्दै गल्ती गर्ने छुट छैन

शनिबार, १३ असार, २०८३
डिजिटल संस्करण

महामन्त्रीमा निर्वाचित हुनुभएको छ, अब पार्टीलाई कसरी अघि बढाउनुहुन्छ ?
पार्टीलाई विधान, विधि र संस्थागत प्रणालीअनुसार सञ्चालन गर्नु पहिलो प्राथमिकता हुनेछ । निर्णय प्रक्रिया पारदर्शी, जिम्मेवार र विधिसम्मत बनाउँदै पार्टी सञ्चालनको मुख्य आधार नै विधानलाई बनाउने प्रतिबद्धता छ ।

नयाँ कार्यसमितिको मुख्य प्राथमिकता के हुनेछ ?
पहिलो- प्राथमिकता पार्टीलाई अझ एकताबद्ध र संस्थागत बनाउनु हो । पार्टीमा आबद्ध हरेक सदस्यले रास्वपाको सदस्य हुन पाएकोमा गर्व गर्ने वातावरण निर्माण गर्छौँ ।

दोस्रो- प्राथमिकता ०८४ को स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘लिडरसिप एकेडेमी’ र ८८ ‘क्यान्डिडेट क्लब’८८ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुहुनेछ । सक्षम, इमानदार र योग्य उम्मेदवार तयार पार्ने दीर्घकालीन योजना यही हो ।

तेस्रो- विगत चार वर्षमा भएका कमजोरीको गम्भीर समीक्षा गर्दै ती गल्ती दोहोरिन नदिने गरी पार्टीलाई अझ संस्थागत बनाउने हाम्रो लक्ष्य छ । पहिलो महाधिवेशनपछि रास्वपाले संस्थागत वैधता प्राप्त गरेको छ । अब ‘नयाँ पार्टी’ भन्दै कमजोरी गर्ने छुट छैन । पार्टीलाई विधि, विधान र लोकतान्त्रिक अभ्यासको आधारमा सञ्चालन गर्नु नै मेरो मुख्य जिम्मेवारी हुनेछ ।

सहमहामन्त्री हुनुहुन्थ्यो, महाधिवेशनबाट महामन्त्रीको अवसर पाउनुभयो, अबको चुनौती केलाई मान्नुहुन्छ ?
यो अवसरभन्दा पनि ठुलो जिम्मेवारी हो । यति ठुलो पार्टीको महामन्त्री हुनु सामान्य कुरा होइन । जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सकुँला कि भन्ने चुनौतीको अनुभूति पनि हुन्छ । त्यसैले अझ बढी मिहिनेत, समर्पण र उत्तरदायित्वका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । पार्टी जति ठुलो हुन्छ, चुनौती पनि त्यति नै ठुलो हुन्छ । तर, म ती चुनौतीलाई अवसरका रूपमा रूपान्तरण गर्दै पार्टी हितमा प्रयोग गर्ने प्रयास गर्नेछु ।

पार्टीको नीति र राज्य सञ्चालनबिच कसरी समन्वय गर्नुहुन्छ ?
पार्टी नै सरकार सञ्चालनको आधार हो । पार्टीको विचार, मूल्य र सिद्धान्त जति स्पष्ट र बलियो हुन्छ, सरकार सञ्चालन पनि त्यति नै प्रभावकारी हुन्छ । त्यसैले पार्टीका मूल्य–मान्यता र राज्य सञ्चालनबिच सशक्त सेतु निर्माण गर्न मेरो भूमिका रहनेछ । विधि, नीति र सुशासन केन्द्रमा राखेर मिहिन ढंगले काम गर्नेछु ।

सुझावित समाचार