इन्धनको मूल्य नघटाएको भन्दै प्रदीप पौडेलको सरकारमाथि प्रश्न

बिहिबार, ११ असार, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेखनीय रूपमा घटिसक्दा पनि नेपालमा इन्धनको मूल्य नघटाइएको भन्दै सरकार र नेपाल आयल निगमको आलोचना गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ११७.६३ अमेरिकी डलरबाट घटेर ६९.२१ डलरमा झरेको उल्लेख गरेका छन्। यति ठुलो परिमाणमा मूल्य घट्दा पनि नेपाली उपभोक्ताले पुरानै महँगो दरमा इन्धन खरिद गर्नुपरेको अवस्था दुःखद रहेको उनको भनाइ छ।

पौडेलले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ आमनागरिकले पाउनुपर्ने उल्लेख गर्दै आयल निगमले ‘कच्चा होइन, प्रशोधित तेल किन्ने भएकाले मूल्य तुरुन्तै घट्दैन’ भन्ने तर्क प्रस्तुत गर्दै आएको बताए। उनका अनुसार प्रशोधन खर्च र समय अन्तरका कारण केही प्रभाव पर्ने भए पनि कच्चा तेलको मूल्यमा आएको ठुलो गिरावटले प्रशोधित तेलको लागतसमेत घटाउने निश्चित छ।

उनले निगमले मूल्य घटिरहेको वास्तविक अवस्था सार्वजनिक नगरी प्राविधिक बहाना मात्र देखाएर उपभोक्तालाई मारमा पारिरहेको आरोप लगाए। साथै, निगम र सरकारभित्र सुशासन, पारदर्शिता तथा व्यवस्थापकीय क्षमताको अभाव देखिएको उनको टिप्पणी छ।

पौडेलले नियमित १५–१५ दिनमा आउने नयाँ मूल्यसूचीअनुसार स्वचालित मूल्य प्रणाली लागू गरी मूल्य बढ्दा र घट्दा दुवै अवस्थामा समान रूपमा कार्यान्वयन गर्नुपर्ने बताए। मूल्य बढ्ने बेला तत्काल लागू हुने, तर घट्ने वेला कार्यान्वयन नहुने प्रवृत्तिप्रति उनले असन्तुष्टि जनाए।

सुझावित समाचार