अत्यधिक गर्मी र लामो समयदेखिको खडेरीका कारण भूमिगत पानीको स्रोत सुक्न थालेपछि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा खानेपानीको संकट देखिएको छ । बस्तीमा खानेपानीको मुख्य स्रोतका रूपमा रहेका चापाकल (नल्का) हरू पूर्ण रूपमा सुकेपछि धनगढी– १४, फूलबारीको स्याउले बजारका बासिन्दा काकाकुल बनेका हुन् । त्यस्तै धनगढीको वडा नम्बर ६ र ७ मा पनि चापाकल सुक्ने समस्या देखिएको छ ।
उपमहानगरको वातावरण तथा विपत् व्यवस्थापन शाखाका अधिकृत दीपक भण्डारीले दैनिक दुई ट्यांकरबाट साढे आठ हजार लिटर पानी वितरण भइरहेको बताए । पानीको समस्या देखिएपछि स्याउले बजारनजिक वन कार्यालयअगाडि धनगढी उपमहानगरले डिप बोरिङ हाल्न सुरु गरेको छ ।
विशेष गरी धनगढी–१४ को फूलबारी क्षेत्रमा खानेपानीको संकट गहिरिएको हो । फूलबारीको स्याउले बजारकी स्थानीय मेनुका थापाका अनुसार जेठ महिना लागेदेखि नै चापाकलमा पानी घट्दै गएकामा अहिले आउनै छाडेको छ । पानी नहुँदा खाना पकाउन, नुहाउन, कपडा धुन र गाईवस्तुलाई खुवाउन निकै सास्ती भएको उनले गुनासो गरिन् । ‘गाउँछिमेकमा कसैको नल्कामा अलिअलि आउने पानीले गुजारा गरिरहेका थियौँ, अहिले धेरैजसोको नल्का सुकिसके,’ उनले भनिन् ।
अर्का स्थानीय ४५ वर्षीय केदारनाथ विष्टले फूलबारीमा बस्न थालेको साढे चार दशक (४५ वर्ष) भइसके पनि विगतमा यसरी नल्का पूरै सुकेको कहिल्यै नदेखेको बताए । ‘नुहाउनुपर्यो, कपडा धुनुपर्यो । गाईवस्तुलाई खुवाउनुपर्यो, धारामा पानी आउँदैन कहाँ जाने,’ फूलबारीका स्थानीय केदारनाथ विष्टले भने, ‘पानीको निकै आपत छ ।’
फूलबारीसँगै धनगढी–६ को नवदुर्गा टोललगायत टोलमा धारा सुक्दा पानीको समस्या देखिएको भनेर गुनासो आइरहेको उपमहानगरले जनाएको छ । उपमहानगरको वातावरण तथा विपत् व्यवस्थापन शाखाका अधिकृत दीपक भण्डारीले धारा सुकेका क्षेत्रबाट निरन्तर गुनासो आइरहेकाले एउटा दमकल र एउटा रोड सफा गर्ने गाडी प्रयोग गरी दैनिक पानी वितरण भइरहेको बताए । खानेपानी आयोजनाहरूका ठुला बोरिङमा समेत जमिनमुनिबाट पानी तान्ने क्षमतामा ह्रास आउन थालेको छ ।
किन सुके चापाकल ?
जलवायु परिवर्तन र जनसंख्या वृद्धिलाई यसको मुख्य कारण मानिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको विज्ञान, वातावरण तथा जलवायु परिवर्तन महाशाखा प्रमुख उपसचिव भरतप्रसाद श्रेष्ठले यो जलवायु परिवर्तनको प्रत्यक्ष असर भएको बताए । ‘समयमा पानी नपर्ने, एकैपटक धेरै पर्ने र जमिनमुनि पानी पुनर्भरण (ग्राउन्ड वाटर रिचार्ज) हुन नपाउँदा यो समस्या आएको हो,’ उनले भने ।
जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाका मौसम सहायक सञ्जय शाहका अनुसार हिउँदयता जमिनमुनि पानी रिचार्ज हुने गरी वर्षा भएको छैन । दुई साताअघि ३०.१ मिलिमिटर वर्षा भए पनि जमिनमुनिको सतह बढाउन कम्तीमा १०० मिलिमिटरभन्दा बढी पानी पर्नुपर्ने उनले बताए । अझै केही दिन पानी पर्ने सम्भावना नभएकाले यो संकट अझै बढ्न सक्ने मौसम कार्यालयको अनुमान छ ।
विशेषज्ञहरूका अनुसार तराईमा पानीको संकट चुलिन नदिन चुरे र तराई क्षेत्रमा ठुला–ठुला संरक्षण पोखरी निर्माण गरी वर्षाको पानी भिœयाउन (रिचार्ज गर्न) आवश्यक छ ।
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले पानीको संकट दीर्घकालीन रूपमा समाधान गर्न उपमहानगरले प्राकृतिक पोखरी र तालहरूको अतिक्रमण हटाउने अभियान चलाएको बताए । ‘अहिलेसम्म हामीले १३ वटा पोखरी र तालको अतिक्रमण हटाएर पुरानै अवस्थामा फर्काउने काम गरिरहेका छौँ, यसले पुनर्भरणमा मद्दत पुग्नेछ,’ मेयर हमालले भने ।
यसैगरी, जमिनमुनिको पानी धेरै तान्ने भएकाले उपमहानगरभित्र ‘आर्टिजन बोरिङ’ गाड्न प्रतिबन्ध लगाइएको छ भने खुटिया सिँचाइ आयोजनालाई पुनः सञ्चालनमा ल्याउन नगरले संघीय सरकारसँग आग्रह गरेको छ ।