आयल निगमको कोशी प्रदेशको विराटनगरस्थित डिपोको पार्किङस्थलबाटै ट्यांकर चोरी भएको घटनामा ढुवानी सञ्चालकमाथि कारबाही हुने भएको छ । कञ्चनबारीस्थित डिपोको पार्किङस्थलबाट चोरी भएको को.१ख ६१९० नम्बरको २० हजार लिटर पेट्रोल भरिएको ट्यांकर सोमबार बिहान सुनसरीको झोक्राहानरसिंह गाउँपालिका– ८ को हुलाकी सडकखण्ड किनारमा फेला परेको थियो । निगमका कोशी प्रदेश कार्यालय प्रमुख पुस्कर कार्कीका अनुसार तेल बिक्री गर्न पेट्रोल भरिएको ट्यांकर पार्किङस्थलबाटै चोरी गरेर लगेको पाइएको छ । चोरी गरेको ट्यांकर सिल तोडेर ९४१ लिटर पेट्रोल चोरीको बेवारिसे अवस्थामा फेला परेको थियो । तर, चोरिएको ट्यांकर फेला परे पनि चोर्ने र तेल खरिद गर्ने व्यक्तिलाई प्रहरीले फेला पार्न सकेको छैन ।
निगमको पेट्रोलियम पदार्थ ढुवानी नियमावली, २०७३ अनुसार इन्धन ढुवानी गरेर आएका ट्यांकरहरू चेकजाँचका लागि इन्ट्री नभएसम्म भएका कुनै पनि घटनामा निगम जिम्मेवार हुँदैन । यसैले सोमबार फेला परेको ट्यांकर चोरीको घटनामा पनि ढुवानी सञ्चालक नै हुन्छन् । सोही कारण तेल चोरी घटनामा ढुवानी सञ्चालकलाई कारबाही हुने भएको हो । ‘प्रहरी र हाम्रो छानबिनबाट निगमका सुरक्षागार्ड वा कर्मचारीको कुनै संलग्नता देखिएन, यसैले अब नियमअनुसार ढुवानी सञ्चालक ६ महिनासम्म ढुवानीका लागि निलम्बनमा पर्नेछन् । चोरी भएको ९४१ लिटर पेट्रोलको दोब्बरबराबरको मूल्य निगमले असुलउपर गर्नेछ,’ डिपो प्रमुख कार्कीले भने ।
घटनास्थलको अध्ययनमा संलग्न सुनसरी प्रहरी, निगम र स्थानीय जनप्रतिनिधिको रोहवरमा भएको छानबिनमा २० हजार लिटर पेट्रोल भरिएको ट्यांकरमा ९४१ लिटर पेट्रोल मात्र चोरी भएको पाइएको छ । डिपो प्रमुख कार्कीका अनुसार घटनाको प्रहरीले निगमको सहयोगमा थप अनुसन्धान जारी राख्नेछ ।
ढुवानी व्यवसायीहरू भने पार्किङस्थल निगमकै भएको र निर्देशनअनुसार इन्धन भरिएको ट्यांकर पार्किङ गरेर परीक्षणका लागि पालो प्रणाली कुरेर बस्नुपर्ने भएकाले कुनै घटना भएमा त्यसको जिम्मेवारी निगमले नै लिनुपर्ने बताउँछन । ट्यांकर धनी नवीनकुमार कर्णले प्रश्न गर्दै भने, ‘हामीले निगमकै पार्किङस्थलमा पालो पर्खेर बस्नुपर्छ, त्यसैले घटनाको जिम्मेवार हामी कसरी हुन्छौँ ?’ भारतको सिलगुढीबाट पेट्रोल लोड गरेर आइतबार साँझ ८ बजे विराटनगर कञ्चनबारीमा रहेको डिपोको पार्किङस्थलमा प्रवेश गरेको ट्यांकर अनलोडका लागि निगमको पालो प्रणालीमा थियो । जाँचपरिसरबाट बाहिर रहेको पार्किङस्थलबाटै इन्धन भरिएको ट्यांकर हराएको निगमले सोमबार बिहान साढे ८ बजेतिर मात्र पत्तो पाएको थियो । त्यसपछि खोजी गर्नेक्रममा बिहान ११ बजे सुनसरीको झोक्राहानरसिंह गाउँपालिका– ८ मा चोरी भएको ट्यांकर सिल तोडिएको अवस्थामा बेवारिसे फेला परेको थियो । ट्यांकर चोरीको घटनास्थलको मुचुल्कासहित प्रारम्भिक अनुसन्धान गरेको सुनसरी प्रहरीले मोरङ प्रहरीमार्फत ट्यांकर निगमलाई जिम्मा दिने तयारी गरिरहेको छ ।
निगमका अनुसार १३ भदौ ०७८ राति पनि विराटनगर प्रादेशिक डिपोको पार्किङस्थलबाट तेल भरिएको ट्यांकर चोरी भएको थियो । सो घटनामा प्रहरीले विराटनगर महानगरपालिका– ४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरेको थियो ।