क्यान्सरको उपचारमा अत्यावश्यक औषधिको सहज आपूर्ति हुन नसक्नुको कारण के हो ?
क्यान्सर उपचारका लागि चाहिने प्लाटिनम समूहका अत्यावश्यक ‘कार्बोप्लाटिन’ र ‘सिसप्लाटिन’को अभाव हुँदै आइरहेको छ । यो औषधिको नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रियस्तरमै अभाव छ । हामीले सो औषधि भारत र बंगलादेशबाट आयात गर्दै आइरहेका छौँ । तर, ती देशमा पनि त्यो औषधिको उत्पादन घटेकाले त्यहाँको सरकारले मूल्य समायोजन गरी हामीले नेपालमा बेचिरहेको भन्दा धेरै महँगो बनायो । ती औषधि नेपालमा भन्दा भारत र बंगलादेशमा निकै महँगो पर्छ । अभावपछि पनि ‘कार्बोप्लाटिन’ ल्याएर वितरण गरेका थियौँ ।
यी दुई औषधि बिरामीका लागि कत्तिको महँगो पर्छ ?
दुवै अत्यावश्यकीय औषधि भएकाले यिनको विकल्प छैन । दुवै क्यान्सरको किमोथेरापीका लागि नभई नहुने औषधि हुन् । मूल्य पनि महँगै छ । तर, छिमेकी मुलुकमा भन्दा नेपालमा बिरामीले खरिद गर्नुपर्ने मूल्य सस्तो छ । हाल नेपालमा यो औषधिको सेवन गर्नेको संख्या एक हजार पाँच सयभन्दा बढी छ । ९ जेठयता औषधिको माग गर्दै मलाई मात्रै हजारभन्दा बढी बिरामीले औषधि पाइएन भनेर फोन गर्नुभएको छ ।
सीमित बिरामीलाई चाहिने औषधि पनि सहज रूपमा उपलब्ध गराउन नसक्नुको कारण के होला ?
यी दुवै औषधि उत्पादन गर्न प्लाटिनम भन्ने धातु चाहिन्छ । मध्यपूर्वको पछिल्लो द्वन्द्वका कारण त्यो प्लाटिनम भन्ने धातुको मूल्य पनि बढ्यो । प्लाटिनमको मूल्य बढेपछि भारतमा सो औषधि उत्पादन गर्ने कम्पनीले उत्पादन घटाए । बंगलादेशमा पनि उत्पादन कम भयो । सो औषधिमा नेपाल पूर्णतः आयातमा निर्भर छ । प्लाटिनम महँगिएर औषधिको मूल्य बढ्दा सहज रूपमा औषधि ल्याउन सकेनौँ । सोमबार मात्रै त्रिभुवन अन्तर्राििष्ट्रय विमानस्थलको भन्सारबाट एक हजार दुई सय भायल ‘सिसप्लाटिन’ भित्रिएको छ । यसले २२ दिनहाराहारीलाई मात्र पुग्छ ।