न्यायाधीश रेग्मीबारे जथाभावी लेखेको भन्दै अधिवक्ता भट्टविरुद्ध काउन्सिलमा उजुरी

सोमबार, ८ असार, २०८३
डिजिटल संस्करण

नेपाल बार काउन्सिलमा अधिवक्ता बद्रिराज भट्टसमेत दुईजनाविरुद्ध उजुरी परेको छ । न्यायाधीश कुमार रेग्मीका बारेमा सामाजिक सञ्जालमा जथाभावी लेखेको भन्दै बेनामे उजुरी परेको हो । 

आफूसमेत पक्ष रहेको एक मुद्दामा न्यायाधीश रेग्मीले गरेको फैसलापछि उनले फेसबुकमा जथाभावी लेखेको र त्यसमाथि कमेन्ट समेत गर्ने एक अर्का अधिवक्ता गरी दुई जनामाथि उजुरी परेको हो । कानून व्यवसायीको आचारसंहितासम्बन्धी नियमावलीको विपरीत आचरण गरेको भन्दै उजुरी परेको काउन्सिल स्रोतले जनाएको छ । 

भट्टले न्यायाधीश रेग्मीलाई ललितानिवास काण्डको नाइके, भ्रष्टाचारीजस्ता टिप्पणी गरेका थिए । यसमा सहमति जनाउँदै अधिवक्ता विष्णुप्रसाद तिवारीले समेत न्यायपालिकाप्रति घृणा उब्जिने टिप्पणी गरेकोले उनीविरुद्ध समेत उजुरी परेको छ । कानूनका विद्यार्थी रहेका उजुरीकर्ताका अनुसार अग्रजहरुबाटै यस्तो टिप्पणी आउँदा आउँदो पुस्ताल मर्यादित नहुने भन्दै उनले उजुरी दिएको बताएका छन् । 

अधिवक्ता भट्टसमेत पक्ष रहेको जग्गा खिचोला मेटाइ चलन चलाइ पाउँ निवेदनमाथि न्यायाधीश रेग्मी र शान्तिसिंह थापाको इजलासले शुक्रबार सदरको फैसला गरेको थियो । यसै मामिलामा उनले आक्रोशित हुँदै आधा दर्जन पोस्टहरू गरेका थिए । यी पोस्टमाथि अधिवक्ता तिवारीले समेत अमर्यादित टिप्पणी गरेको भेटिएको थियो । हाल उनले सो पोस्टहरू हटाइसकेका छन् । 

तर, निवेदकले भने सुरुमै स्क्रिनसटहरू लिइसकेको र प्रमाणका रूपमा निवेदनसाथ काउन्सिलमा पेस गरेको बताएका छन् । आचरणसम्बन्धी नियमावलीको नियम ८ मा अदालत र न्यायाधीशप्रतिको जिम्मेवारी उल्लेख छ । जसको (छ) मा न्याय प्रशासनसँग सम्बन्धित काम कारवाहीका सिलसिलामा अदालत वा न्यायाधीशप्रति अनास्था हुने किमिसका झुठा बेहोराको सूचना प्रचार प्रसार गर्न नहुने उल्लेख छ । 

कानुन व्यवसायीको दायित्वबारे उल्लेख भएको नियम ४(ग) मा भनिएको छ, ‘विद्युतीय प्रकाशन, प्रसारण तथा छापालगायतका सामाजिक सञ्जाल वा जुनसुकै माध्यमबाट न्यायपालिका, न्यायाधीश, कर्मचारी तथा आफ्ना कानुन व्यवसायी सहकर्मीप्रति आघात पुर्याउने, आक्षेप लगाउने वा बेइज्जती गर्ने उद्देश्यले कुनै विचार वा धारणा व्यक्त गर्न वा नकारात्मक टिप्पणी गर्न वा कसैले गरेका त्यस्ता टिप्पणीप्रति आफ्नो सहमति रहेको भनी प्रति–टिप्पणी वा भाव व्यक्त गर्न हुँदैन।’ तर, भट्ट र तिवारीले आचारसंहिता-विपरीतको कार्य गरेको भन्दै उजुरी दर्ता गराएको निवेदकले जानकारी दिए।

सुझावित समाचार