उदयपुरको चौदण्डीगढी नगरपालिका– १० स्थित देवधार खोलाको भीमसेन दहमा डुबेर एक बालिकाको मृत्यु भएको छ । हिजो मंगलबार साँझ चौदण्डीगढी नगरपालिका– ९, देवधारनिवासी बुधन सदाकी १४ वर्षीया छोरी आयुसा सदा साथीहरूसँग दहमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएकी थिइन्।
घटनाको जानकारी प्राप्त हुना साथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । स्थानीय बासिन्दासँगको सहकार्यमा तत्काल खोजी अभियान सञ्चालन गरिए पनि आयुसालाई तत्काल फेला पार्न सकिएको थिएन ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमका अनुसार लामो खोजतलासपछि बेलुका आयुसालाई सोही दहमा मृत अवस्थामा फेला पारिएको थियो ।
मृतक बालिकाको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।