बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाल जेल चलान भएका छन् । सम्पत्ति शुद्धीकरणको कसुरमा उनीहरूविरुद्धको प्रमाण र बिगो हेरेर विशेष अदालतले दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
विशेषका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले विभिन्न तह सिर्जना गरी गरेको कारोबार तथा हिमालयन लार्ज क्याप फन्डका सिइओको बयानलगायतलाई आधार मान्दै जेल पठाउने आदेश गरेको छ । पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी तत्कालका लागि भने थुनामै राखी पुर्पक्ष गर्नुपर्ने आदेशमा उल्लेख छ ।
प्रतिवादी अग्रवालको हकमा भने स्वास्थ्य अवस्थासमेतलाई विचार गरी आवश्यकताअनुसार उपचारको व्यवस्था गर्न सम्बन्धित कारागारलाई लेखी पठाउन आदेश भएको छ । उक्त इजलासले बरामद भएको गाडीलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाउन र बाँकी दसीका सामानलाई जिन्सी शाखामा आम्दानी बाँध्नसमेत भनेको छ । यसैगरी, बरामद भएका थाई भाट र अमेरिकी डलर भने नेपाल राष्ट्र बैंकमा पठाउने आदेश भएको छ ।
अदालतमा इन्कारी बयान गरे पनि दुवैजनाको संलग्नता र भूमिकासमेतलाई मध्यनजर गर्दै थुनामा पठाइएको अदालतको आदेशमा उल्लेख छ । जगदम्बा स्टिल्सबाट इन्फिनिटी होल्डिङका नाममा पैसा गएको देखिएको तथा सो रकम हिमालयन रिको संस्थापक सेयर खरिदमा प्रयोग भएको, नेपाल टेलिकमबाट प्राप्त एसएमएस डिटेल, बैंक खाताहरूको सहीछापलगायत विषयलाई आधार मानेर विशेषले आदेश दिएको छ ।
भट्टले आफू तथा परिवारजन विदेश आउजाउ गरिरहने भएकाले त्यसै वेलादेखिको विदेशी मुद्रा आफूसँग रहेको, विदेशी मुद्रा अपचलन नगरेको, कानुनबमोजिम बाहेक कुनै पनि कम्पनीमा लगानी नगरेको, बिमा कम्पनीको पासवर्ड लिई कुनै कारोबार नगरेको र नेपाल रिइन्स्योरेन्सको कुनै पनि संवेदनशील सूचना नचुहाएको बयान गरेका छन् । ‘सेयरको मूल्य प्रभावित गर्ने, सर्कुलर ट्रेडिङ गर्नेजस्ता कार्यमा म कहीँकतै संलग्न छैन,’ बयानमा उनले भनेका छन् ।
त्यस्तै, अग्रवालले भने परिवारमा अंशबन्डा भइसकेको र जगदम्बा स्टिल्स भाइ साहिल अग्रवालले हेर्दै आएकाले त्यसबाट आफूले गैरकानुनी लाभ नलिएको दाबी गरेका छन् । उनले छोराले अंशबन्डाबाट आफूले पाएको सेयर र त्यो बिक्रीबाट उसैले लाभ प्राप्त गरेकाले आफूले कुनै लाभ नलिएको बयान दिएका छन् ।
अग्रवालले कुनै पनि बिमा कम्पनीलाई भृकुटी स्टक ब्रोकिङ कम्पनीमा जम्मा गर्ने निर्देशन नदिएको भन्दै आरोप दाबी झुठा रहेको र बिगो काल्पनिक रहेको बयान दिएका थिए । आफू र आफ्ना परिवारका सदस्यबिच भएको सबै आर्थिक कारोबार पारिवारिक तथा वैधानिक रहेको एवं अपराध लुकाउने गरी नभएको दाबी गरे पनि प्रमाणलाई हेरेर अदालतले आदेश गरेको हो ।
भट्ट र अग्रवालमाथि विभिन्न बिमा कम्पनीहरूका साथै हिमालयन लार्ज क्यापसमेतको सामूहिक कोषको रकम दुरुपयोग गरेको अभियोग लगाइएको छ । भट्टको हकमा कुल बिगो २६ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी छ भने अग्रवालमाथि २५ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको बिगो मागदाबीसहित मुद्दा दर्ता भएको थियो । बिमा ऐन, बैंकिङ कसुर तथा सजाय ऐन, सम्पत्ति शुद्धीकरण निवारण ऐन, धितोपत्रसम्बन्धी ऐन, विदेशी विनिमय नियमित गर्ने ऐनविरुद्धका कसुर गरेको भन्दै मुद्दा दर्ता भएको हो । भट्टविरुद्ध दोस्रो चरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अुनसन्धान गर्दैे आएको छ ।
सम्पत्ति शुद्धीकरणमा भट्ट र अग्रवालसहित ३४ व्यक्ति र पाँच कम्पनीविरुद्ध गत २८ जेठमा मुद्दा दायर भएको थियो । मुद्दा दायर भएका अन्य फरार छन् । भट्ट र अग्रवाललाई भने साढे दुई महिना हिरासतमा राखेरै अनुसन्धान भएको हो ।
विगत दुई दशकदेखि सत्ताको आडमा संगठित रूपमा वित्तीय अपराध गरेको अभियोग भट्टमाथि छ । निर्वाचनपछि नयाँ सरकार बनेलगत्तै उनी अनुसन्धानमा तानिएका हुन् । उनीसँग साँठगाँठ रहेका नेतामाथि समेत छानबिन भइरहेको स्रोत बताउँछ ।