चितवनमा अपहरणमा परेका १५ वर्षीय बालकको काठमाडौंको होटेलबाट उद्धार भएको छ । अपहरणमा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान आयोगले भारत बिहार राज्यको बेतियाका सुजित कुमार, गोलुकुमार सोनी, गोलु कुमार, बिक्की कुमार र मोहम्मद साहिदलाई पक्राउ गरेको हो ।
उनीहरूले सोमबार बालकलाई इन्स्टाग्राममार्फत भरतपुरमा सन्देश पठाएर भेट्न बोलाई जबर्जस्ती गाडीमा राखेर काठमाडौं ल्याएका थिए । चक्कु देखाएर बालकलाई नियन्त्रणमा राखेका थिए । नयाँ बसपार्कको फेमेली होटेलमा राखेर २२ लाख फिरौती मागिएको थियो । त्यहीअनुसार मंगलबार दिउँसो नै प्रहरीले बालकको उद्धार गरेको हो ।
‘चितवन प्रहरीबाट सूचना पाएपछि चारवटा टोली बनाएर परिचालन गर्यौँ,’ अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले भने, ‘नयाँ बसपार्कको होटेलमा सुरुमा बालक र दुईजना भेटिए, अन्यलाई पछि पक्राउ गरेका हौँ ।’
उनीहरूले बालकको बुबाको ह्वाट्सएपमा सन्देश पठाएर पैसा मागेका थिए । अपहरित बालकको परिवार गरगहनासम्बन्धी व्यापारमा आबद्ध छ । उनीहरूले अपहरणको योजना भने भारतको बेतियामा बनाएका थिए ।
योजनाअनुसार ३० जेठमा वीरगन्ज भन्सारबाट गाडीको भन्सार पास बनाई नेपाल प्रवेश गरी गोलुकुमारको आधार कार्डबाट नेपाली सिमकार्ड झिकेका थिए । अपहरणकारी दुई दिन चितवनमा बसेको पनि अनुसन्धानमा खुलेको छ । पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि चितवन पठाइएको एसएसपी खड्काले बताए ।