अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने फिफा विश्वकप २०२६ नजिकिँदै छ । यी तीनवटै राष्ट्रहरूमा विश्व फुटबलकै सबैभन्दा बृहत् प्रतियोगिता ३९ दिनसम्म चल्नेछ । १०४औँ खेलमा सहभागी ४८ राष्ट्रमध्ये एक विजेता बन्नेछ । विश्वकपअगाडि नै यसले नयाँ रेकर्ड बनाइसकेको छ । फिफाका अध्यक्ष इन्फाटिनोले यसपटक सर्वाधिक ४८ राष्ट्रलाई सहभागी गराउने निर्णय नै रेकर्ड बन्यो । यसअघि कतार विश्वकपसम्म ३२ राष्ट्रले भाग लिएका थिए, जसमा अर्जेन्टिना इतिहासमै तेस्रोपटक विश्वकप विजेता बन्यो ।
विश्वकप खेल्ने सबैको चाहना हो । तर, यो सपना धेरैले पूरा गर्न सक्दैनन् । भावनासँग जोडिएका केही यस्ता खेलाडी छन्, जसलाई समर्थकले फुटबलकै ठुलो मञ्चमा देख्नेछैनन् । व्यावसायिक फुटबलमा राज गरेका चर्चित खेलाडी घाइते छन् । केही खेलाडी आफूले प्रतिनिधित्व गरेको राष्ट्र विश्वकपसम्म पुग्न सकेन । कोही भने मुख्य प्रशिक्षकलाई खुसी पार्न नसक्दा टोलीमै परेनन् ।
इंग्लिस क्लब म्यानचेस्टर सिटी तथा इटालीका गोलरक्षक जिअन्लुजी डोनारुम्मा, बार्सिलोनालाई स्पेनिस ला लिगा जिताएका पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की, इन्टर मियामी तथा उरुग्वेका चर्चित स्ट्राइकर लुइस सुआरेज, नाइजेरियाका भिक्टोर ओसिम्हेनलगायत खेलाडी अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्नेै विश्वकपमा हुनेछैनन् ।
कोल पाल्मर (इंग्ल्यान्ड)
इंग्ल्यान्डका प्रशिक्षक थोमास टुचेलले विश्वकपका लागि अन्तिम २६ खेलाडीको नाम सार्वजनिक गर्दा समर्थक आश्चर्यमा परे । थोमासले चेल्सीबाट व्यावसायिक फुटबल खेलिरहेका २४ वर्षीय युवा पाल्मरलाई राष्ट्रिय टोलीमा छनोट नै गरेनन् । थोमासले पाल्मरसँगै फिल फोडेन, ट्रेन्ट एलेक्जान्डडर अर्नोल्ड, ह्यारी म्यागुइर र लुक साजस्ता प्रतिभाशाली खेलाडीलाई यसपटक बाहिर राखे । प्रशिक्षकको यो निर्णयले इंग्ल्यान्ड मात्रै नभएर विश्वका धेरै समर्थक आश्चर्यमा परेका छन् । युरो २०२४ इंग्ल्यान्ड उपविजेता हुँदा पाल्मरले स्पेनविरुद्ध एक मात्र गोल गरेका थिए । उनी पेनाल्टी सुटआउटका लागि उत्कृष्ट मानिन्छन् । पाल्मर पछिल्लो सिजन फिट रहन निकै संघर्ष गरिरहेका थिए । उनी यस सिजन भने तयारी अवस्थामा रहेका थिए ।
रोड्रिगो (ब्राजिल)
रियल म्याड्रिडका पूर्वप्रशिक्षक कार्लो एन्सोलोटीले आफैँले प्रशिक्षण गराएका रोड्रिगोलाई ब्राजिलको टोलीमा समावेश गरेनन् । एन्सोलोटी रियलमा रहँदा रोड्रिगो उनका विश्वास पात्र थिए । तर, जब एन्सोलोटी ब्राजिलका प्रशिक्षक बने, रोड्रिगो नजरमै परेनन् । सिजनको अन्त्यतिर एन्टेरियर क्रुसिएल लिगामेन्ट (एसिएल) गुमाउँदा रोड्रिगो विश्वकप खेल्न स्थान बनाउन सकेनन् । यससँगै २५ वर्षीय अट्याकिङ मिडफिल्डर रोड्रिगोले ब्राजिलको विश्वकप जित्ने अभियानमा साथ बन्न नसक्ने भएका छन् । ब्राजिलले रोड्रिगोसँगै एडर मिलिटाओ, जोआओ पेड्रो र १९ वर्षीय एस्टेभाओले पनि विश्वकप गुमाएका छन् । आश्चर्यजनक रूपमा शतप्रतिशत फिट नभएका ब्राजिलका अनुभवी स्ट्राइकर नेमार जुनियर भने टोलीमा परेका छन् ।
इडुआर्डो कामाभिंगा (फ्रान्स)
स्पेनिस क्लब रियलबाट व्यावसायिक फुटबल खेलिरहेका इडुआर्डोले पनि विश्वकपमा स्थान बनाउन सकेनन् । फ्रान्सका प्रशिक्षक डिडिएरले विश्वकपका लागि अन्तिम २६ खेलाडी छनोट गर्दै २३ वर्षीय मिडफिल्डर कामाभिंगालाई बाहिर राखे । कामाभिंगाले अहिलेसम्म रियलबाट एक सय ४० भन्दा बढी खेल खेलिसकेका छन् । उनले फ्रान्सको राष्ट्रिय टोलीबाट २९ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । गत सिजनमा उनले रियलमा समेत राम्रो प्रदर्शन गर्न सकेनन् । चोटका कारण उनी गत आधा सिजनजस्तो बेन्चमै रहे । कामाभिंगा टोलीमा रहँदा त्यति आश्चर्य कसैले मानेनन् । उनीसँगै फ्रान्सको विश्वकप खेल्ने टोलीमा लिभरपुरका स्टार हुगो एकिटेके बाहिर छन् । उनले सन् २०२५ मा मात्रै फ्रान्सको टिमबाट डेब्यु गरेका थिए ।
जाभी सिमेन्स (नेदरल्यान्ड्स)
सन् २०२४ को युरोमा नेदरल्यान्ड्स सेमिफाइनलमा पुग्यो । यसपटक नेदरल्यान्ड्सले नयाँ इतिहास रच्नेछ । त्यसवेला फर्ममा रहेका सिमोन्सले प्रेरणादायी खेल प्रदर्शन गरेका थिए । तर, नेदरल्यान्ड्स सेमिफाइनलबाट माथि जान सकेन । गत अप्रिलमा टोटनह्यामबाट उल्भ्सविरुद्ध खेल्दा उनी घाइते भएका थिए । सो खेलमा उनले एसिएल गुमाएका थिए । उनले आरबी लाइपजिगबाट प्रिमियर लिगमा अनुबन्ध हुँदा पनि डेब्युका लागि संघर्ष गर्नुपर्यो । सिमोन्ससँगै यसपटक म्यानचेस्टर युनाइटेडका म्याथिज डी लाइट र लिभरपुरका जेरेमी फ्रिम्पोङ पनि नेदरल्यान्ड्सको विश्वकप टिममा हुनेछैनन् ।
सर्ज जिनाब्री (जर्मनी)
विश्वकप गुमाउने अर्का युवा स्टार जिनाब्री पनि हुन् । जर्मनीका प्रशिक्षक जुलियन नागेल्सम्यानले उनलाई विश्वकपको टोलीमा राखेका छैनन् । जिनाब्रीले अन्तिम ६ खेलमा चार गोल गरेका थिए । यो प्रदर्शनले जिनाब्री प्रशिक्षक जुलियनको नजरमा पर्न सकेनन् । गत सिजन बायर्न म्युनिखले बुन्डेस लिगाको उपाधि जित्दा उनी मुख्य खेलाडी बनेका थिए । बायर्नले उपाधि उचाल्दा ह्यारी केन र माइकल ओलिसकोजस्ता सिनियर खेलाडीलाई जिनाब्रीले सहयोग गरेका थिए । फर्ममा रहेका खेलाडी बाहिर राखेर टोली घोषणा गरेको क्षणमै प्रशिक्षक जिनाब्रीले आलोचना खेपेका थिए । जर्मनीले विश्वकपमा सोचेको जस्तो सफलता चुम्न नसक्दा प्रशिक्षक जुलियनले थप टिप्पणीको सामना गर्नुपर्ने हुन्छ ।
काओरी मिटोमा (जापान)
एसियाली राष्ट्र जापान विश्वकपमा ‘डार्क हर्स’का रूपमा रहने गर्छ । जापानले गत संस्करणमा देखाएको प्रदर्शनका आधारमा युरोपेली राष्ट्रभन्दा कमजोर नभएको उदाहरण प्रस्तुत गरेको थियो । कतार विश्वकपमा जापान प्रिक्वार्टरफाइनलमा पुगेको थियो । यसपटक जापानको टोलीमा प्रमुख खेलाडी मिटोमा छैनन् । गत मार्चमा भएको इंग्ल्यान्डविरुद्धको खेलमा ऐतिहासिक विजयी गोल उनले गरेका थिए । उनलाई पछिल्लो सिजन ब्राइटनबाट प्रिमियर लिग खेल्दा ह्यामस्ट्रिङ भएको थियो । यो चोटबाट उनी बाहिर आउन सकेका छैनन् । एसिएल गुमाएका अर्का खेलाडी मिनामिनो पनि जापानको टोलीमा छैनन् ।
तथ्यांकमा विश्वकप
जुन ११ देखि फिफा विश्वकप सुरु हुँदै छ । यसपटकको विश्वकप फुटबल इतिहासकै बृहत् हुन सक्ने विश्लेषकहरूले जनाएका छन् । तीन राष्ट्रहरूले आयोजना गर्ने विश्वकपमा व्यक्तिगतदेखि सहभागी टोलीले रेकर्ड बनाउनेछन् । ४८ राष्ट्रको सहभागी हुने विश्वकपमा धेरै मिनेटका खेल हुनेछन् । खेलाडीले व्यक्तिगत धेरै गोल गर्नुका साथै टोलीले आफ्नो नाममा सर्वाधिक गोल गर्ने रेकर्ड राख्ने विश्वास छ । सन् १९३४ देखि सुरु भएको विश्वकपमा धेरै रेकर्ड बने र ती तोडिए । तथ्यांकमा कतार विश्वकपसम्मका मुख्य रेकर्ड यस्ता छन् ।
सर्वाधिक च्याम्पियन : ९६ वर्षको विश्वकप इतिहासमा अहिलेसम्म आठ राष्ट्रले मात्र ट्रफी उचालेका छन् । ब्राजिलले कीर्तिमानी रूपमा पाँचपटक विश्वकप जितेको छ । ब्राजिलले अन्तिमपटक सन् २००२ मा विश्वकप हात पारेको थियो । त्यसवेला उसले जर्मनीलाई हराएको थियो । सन् २०१४ को विश्वकपमा सेमिफाइनलसम्म ब्राजिल पुग्यो । ब्राजिलले सन् १९५८, १९६२, १९७० र १९९४ मा ट्रफी हात पारेको थियो । ब्राजिलपछि विश्वकपमा सफल राष्ट्र जर्मनी र इटाली हुन् । यी दुवै राष्ट्रले समान चारपटक उपाधि जितेका छन् । जर्मनीले तीनपटक पश्चिम जर्मनीका नामबाट ट्रफी चुमेका थिए । एकीकरणपछि जर्मनीले सन् २०१४ को विश्वकप हात पारेको थियो । इटालीले सन् २००६ मा चौथोपटक उपाधि उचाल्दा फ्रान्सलाई हराएको थियो । साबिक विजेता अर्जेन्टिनाले तीनपटक विश्वकप ट्रफी चुमेको छ । फ्रान्स र उरुग्वेले समान दुईपटक ट्रफी जिते । इंग्ल्यान्ड र स्पेन एक–एकपटक च्याम्पियन बनेका छन् ।
व्यक्तिगत धेरै गोल : जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोको नाममा व्यक्तिगत धेरै गोलको रेकर्ड छ । उनले विश्वकपमा सर्वाधिक १६ गोल गरेका छन् । उनले यो सफलता २४ खेलबाट प्राप्त गरेका थिए । ब्राजिलका पूर्वखेलाडी रोनाल्डोले १९ खेलमा १५ गोल गर्दै दोस्रो स्थानमा छन् । क्लोजले रोनाल्डोको रेकर्ड सन् २०१४ को विश्वकपमा तोडेका थिए । यसैगरी, जर्मनीका गर्ड मुलरले १३ खेलमा १४ गोल गरेका छन् । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले विश्वकपमा १३ गोल पुर्याएका छन् । चौथो स्थानमा मेसीसँगै फ्रान्सका जस्ट फोन्टाने छन् । उनले पनि विश्वकपमा १३ गोल नै गरेका छन् । रियल म्याड्रिड तथा फ्रान्सका स्ट्राइकर केलियन एम्बाप्पे र ब्राजिलका पेलेले १२ गोल गरेका छन् । चार वर्षअघिको कतार विश्वकपमा मेसी र एम्बाप्पेबिच धेरै गोल गर्ने प्रतिस्पर्धा चलेको थियो । सो विश्वकपमा मेसीले सात र एम्बाप्पेले आठ गोल गरेका थिए ।
मैदानमा धेरै समय बिताउने : अर्जेन्टिनाका मेसी मैदानमा धेरै समय बिताउने खेलाडीमा पर्छन् । पाँचौँपटकको विश्वकप यात्रामा उनले मैदानमा दुई हजार तीन सय १४ मिनेट प्रतिस्पर्धा गरेका छन् । दोस्रो स्थानमा इटालीका डिफेन्डर पाओलो माल्दिनी हुन् । उनले सन् १९९४ को विश्वकप खेल्दा दुई हजार दुई सय १६ मिनेट मैदानमा बिताए । यसैगरी, जर्मनीमा मिडफिल्डर लोथार म्याथ्युजले दुई हजार ४५ मिनेट मैदानमा प्रतिस्पर्धा गरेका थिए । अर्जेन्टिनाका डिएगो म्याराडोनाले एक हजार नौ सय ४० मिनेट प्रतिस्पर्धा गरे ।
(एजेन्सीको सहयोगमा)