हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको सेन्जेन बोओआन अन्तर्राष्ट्रिय विमानस्थलसम्म व्यावसायिक उडान गरेको छ । हिमालय एयरलाइन्स चीनको सेन्जेनसम्म व्यावसायिक उडान गर्ने पहिलो र एक मात्र नेपाली वायुसेवा कम्पनी बनेको छ ।
एक सय ८० सिट क्षमताको एयरबस ए३२० विमानमार्फ यो रुटमा नियमित उडान गर्ने कम्पनीले जनाएको छ । पहिलो उडान भने बिहीबार साँझ नेपाली समयअनुसार ९.५९ मा ९८ जना यात्रु बोकेर काठमाडौंबाट सेन्जेनतर्फ प्रस्थान गरेको थियो ।
चिनियाँ स्थानीय समयअनुसार शुक्रबार बिहान ४.१७ मा विमान सेन्जेनमा अवतरण गरेको थियो । सोही विमानबाट चिनियाँ स्थानीय समयअनुसार बिहान ६.१२ मा एक सय ५७ जना यात्रु लिएर आएको र शुक्रबार बिहान ८.२६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको कम्पनीले जनाएको छ ।