एमाले अध्यक्ष केपी ओली करिब तीन महिनापछि पार्टी गतिविधिमा फर्किने भएका छन् । २१ फागुनको निर्वाचनमा पार्टीले अकल्पनीय हार व्यहोरेपछि ओझेलमा रहेका ओली बुधबार आयोजित पार्टीको एक महत्वपूर्ण सांगठनिक कार्यक्रममा सहभागी हुँदै छन् ।
पार्टीको केन्द्रीय संगठन विभागको आयोजनामा बुधबार र बिहीबार आयोजित ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाटन ओलीले गर्ने तय भएको छ । केन्द्रीय प्रचार विभागका प्रमुख नीरज आचार्यका अनुसार काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा बुधबार बिहान ११ बजे सुरु हुने कार्यशालाको उद्घाटन ओलीले गर्नेछन् । साथै, उनले कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने तयारीसमेत छ ।
पार्टीको सांगठनिक सुदृढीकरण तथा गतिशीलतालाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्जहरू (भारत प्रवाससमेत), प्रदेश कमिटी वा सोसरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको अनिवार्य सहभागिताका लागि खबर गरिएको आचार्यले बताए । जेठबाटै एमालेले पार्टी सदस्यता नवीकरण र पालिकाकेन्द्रित अभियान तीव्र बनाउने तयारी गर्दै छ । त्यसैको तयारीस्वरूप पनि एमालेले राष्ट्रिय कार्यशाला गर्न लागेको हो ।२१ फागुनको चुनावमा पार्टीको अकल्पनीय हार भएपछि ओलीले पहिलोपटक २८ फागुनमा सामजिक सञ्जालबाट चुनावी परिणामप्रति सार्वजनिक प्रतिक्रिया जनाएका थिए । ‘यसपटकको निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ । हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन । लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो,’ उनले सञ्जालमा लेखेका थिए । त्यसपछि भने उनी कतै सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् ।
अकल्पनीय हारकै कारण ओलीमाथि पार्टीभित्रैबाट नेतृत्व छाडेर पुनर्गठनमा लैजान दबाबस्वरूप इतर पक्षले मात्रै होइन, उनीनिकट मानिने कतिपय युवा केन्द्रीय सदस्यहरूले नै राजीनामाका लागि दबाब बढाएका थिए ।