स्याउ बजारीकरण गर्ने अभियानमा चन्दननाथ सरकारी

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

मिनीमार्कटमार्फत रैथाने बालीको बजारीकरण गर्दै आएको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था जुम्लाले स्याउको पनि बजारीकरण गर्ने भएको छ। यहाँको स्थानीय जातको स्याउ र फुजी दुवै जातको स्याउ बजारीकरण गर्ने तयारी गरेको हो । 

लामो समयदेखि कर्णालीमा उत्पादन हुने रैथाने बाली मार्सीचामल, फापर, सिमी, भटमास, चिनो, कागुनोको चामल पिठो मिनीमार्कटमार्फत बजारीकरण गर्दै आएको थियो । यो वर्षदेखि सिजनमा स्याउ पनि बजारीकरण गर्ने भएको हो ।  

यहाँको स्याउ साउन महिनाको पहिलो साता परिपक्व नहुँदै बिक्री–वितरण गर्ने, किसानले समयमा मूल्य नपाउने र बिचौलियाले फाइदा उठाउनेजस्ता समस्या जुम्लाले भोग्दै आएको छ । यो समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ किसानको बगैँचामै पुगेर स्याउ संकलन गरी बजारीकरण गर्ने भएको हो । 

चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था जुम्लाका व्यवस्थापक ऋषिराम पाण्डेका अनुसार करिब १५० जना किसानलाई चार करोड ५० लाख लगानी गरेका छौँ । उनले भने, ‘किसानले उत्पादन गरेको स्याउ यो वर्षदेखि बजारीकरण बिक्री–वितरणका लागि जिम्मेवारी लिएको छ ।’ 

सहकारी संस्थाले २५ हजार स्तरीय स्याउका काटुन छाप्ने तयारी गरेको छ । निकै आकर्षक प्याकिङ र ग्रेडिङ गरी ए, बी, सी तीन ग्रेडको स्याउ बजारीकरण गर्ने सहकारीले तयारी गरेको व्यवस्थापक पाण्डेले बताए । उनले  त्योभन्दा कमसल खालको स्याउ चाना, जुस, जामजेली बनाएर मिनीमार्कटमार्फत बिक्री–वितरण गर्ने योजना बनाएको बताए ।

 सिजनमा चलेको मूल्यभन्दा किसानलाई प्रतिकेजी पाँच रुपैयाँ बढी लिएर सहकारी स्याउ खरिद गर्नेछ । गत वर्ष किसानले बगैँचामै प्रतिकेजी ६०–७० रुपैयाँसम्म बिक्री–वितरण गरेका हुन् । सहकारीले त्योभन्दा प्रतिकेजीमा पाँच रुपैयाँ बढी दिनेछ ।  

सहकारीले साउन २५ गतेदेखि पछि स्याउ परिपक्व गुलियोपना भरिएपछि मात्रै टिप्ने योजना बनाएको व्यवस्थापक पाण्डेले बताए । उनले  देशका ठुला सहर काठमाडौं, नेपालगन्ज, सुर्खेतमा लिएर बिक्री–वितरण गर्ने योजना बनाएको बताए। केही वर्ष अघिदेखि सहकारीले काठमाडौंको भद्रकाली र जुम्लाको खलंगा बजारमा मिनीमार्कटमार्फत रैथाने बाली बिक्री–वितरण गर्दै आएको छ । यस्तै, नेपालगन्ज र सुर्खेतको विमानस्थलबाट बिक्री–वितरण गर्दै आएको छ । 

कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा धेरै जुम्लामा ४२ सय हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन हुने गरेको छ । ०२४ सालदेखि स्याउखेती सुरु गरिएको जुम्लामा स्याउको बिरुवा नरोपेको कुनै घरधुरी छैन । तर, जलवायु परिवर्तनका कारण पछिल्लो समय हरेक वर्ष स्याउ उत्पादनमा गिरावट आउने गरेको छ । आर्थिक वर्ष २०८१/०८२ वर्ष ६१ करोड रुपैयाँको स्याउ बिक्री गरेको जुम्लामा ०८२/८४ वर्ष ४५ करोडको मात्रै स्याउ बिक्री भएको कृषि विकास कार्यालय जुम्लाको तथ्यांक छ । 

कृषि विकास कार्यालय, जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार स्याउको फूल फुलेको आधारमा आर्थिक वर्ष ०८३/८४ मा गत वर्षजत्तिकै उत्पादन हुनुपर्ने हो । तर, व्यवस्थापन पक्ष कमजोर देखिएकाले गत वर्षभन्दा घट्न पनि सक्छ । व्यवस्थापन पक्ष भनेको मलजल, गोडमेल, रोगकिराकाे निगरानीजस्ता समस्याले गत वर्षभन्दा आउने वर्ष १५–२० प्रतिशत स्याउ उत्पादन घट्ने पूर्वानुमान गरिएको प्रमुख अधिकारीले बताए ।    

सुझावित समाचार