सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्रतिपक्ष दलले गरेको विरोध जनताले हेरिरहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई संसदमा ल्याउनुपर्ने माग राख्दै विरोध गरेपछि सभामुख अर्यालले प्रधानमन्त्रीको अनुपस्थिति विधि, विधान र नियमावलीविपरीत नभएकाले संसद् अवरोध गर्नुको औचित्य नभएको उल्लेख गरे।
आकस्मिक, शून्य र विशेष समयपछि कार्यसूचीमा प्रवेश गर्ने वेला प्रतिपक्षहरूले अवरोध गरे । जब संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न पुगे तब विपक्षीहरूले उठेर अवरोध गरे ।
विपक्षी उठेपछि सभामुख अर्यालले मन्त्री पौडेललाई एकछिन रोके र विपक्षी दललाई बस्न आग्रह गरे । उनले भने, ‘आज मान्य सदस्यहरूले समय माग्नुभयो । मैले समय नतोकीकन समय दिएँ । यहाँहरूले मज्जाले आफ्नो कुरा राख्नुभयो । यहाँहरूको कुरामा मेरो ध्यानाकर्षण भयो । यहाँहरूको कुरा सरकारलाई पनि सुनाएँ । अब केका लागि उठिरहनुभएको छ ?’
तर, प्रतिपक्ष टसमस नभएपछि उनले मन्त्री पौडेललाई ड्यासबाट फर्काए । सत्तापक्षका मुख्य सचेतक, सरकारका मन्त्री र प्रधानमन्त्री पनि जानकार रहेको बताउँदै उनले अनावश्यक कुरामा सदन अवरुद्ध गर्नुको औचित्य नभएको बताए।