विश्व रंगमञ्चमा नेपाली फिल्मको तागत

विश्वप्रतिष्ठित फिल्म फेस्टिभल कान्समा ‘एलिफेन्ट्स इन द फग’ले जित्यो ‘जुरी प्राइज’

आइतबार, १० जेठ, २०८३
डिजिटल संस्करण

कान्स फिल्म फेस्टिभलमा गत बुधबार नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ हेरेपछि बलिउडका चर्चित निर्देशक अनुराग कश्यपले फिल्महरूको मूल्यांकन र समीक्षा गर्ने प्लाटफर्म ‘लेटरबक्सडी’मार्फत प्रशंसा गरे, ‘कान्समा अहिलेसम्म मेले हेरेको सबैभन्दा उत्कृष्ट अन्तिम दृश्य, नेपाली सिनेमाले विशाल फड्को मार्छ ।’ अनुरागको प्रशंसाले दुई दिनपछि सार्थकता पायो, जब शुक्रबार ‘एलिफेन्ट्स इन द फग’ले कान्सको ‘अन सर्टेन रिगार्ड’ विधामा प्रतिष्ठित ‘जुरी प्राइज’ प्राप्त गर्‍यो । यो अवार्डसँगै नेपाली चलचित्रले विश्व रंगमञ्चमा आफ्नो तागत फैलाउने मौका पाएको छ ।

अविनाशविक्रम शाह निर्देशित चलचित्र ‘एलिफेन्ट्स इन द फग’ नेपालको एक गाउँमा बसोबास गर्ने लैंगिक अल्पसंख्यक समुदायले गरेको संघर्षको कथामा आधारित छ । कान्समा छानिएको नेपाली फिचर चलचित्र यो नै पहिलो हो । यसअघि शाहले नै निर्देशन गरेको सर्ट फिल्म ‘लोरी’ले कान्सको ७५औँ संस्करणमा ‘स्पेसल मेन्सन’ अवार्ड जितेको थियो । सीमित स्रोत, कठिन संघर्ष र स्थानीय कथाभूमिबाट बनेको नेपाली फिल्मले कान्सजस्तो विश्वकै प्रतिष्ठित मञ्चमा सम्मान पाउनु आफैँमा नयाँ सम्भावनाका रूपमा अन्तर्राष्ट्रिय विश्लेषण भइरहेको छ ।

अवार्ड ग्रहणपछि निर्देशक शाहले नेपाली समाजका सीमान्तकृत समुदायको कथा विश्वमञ्चमा पुगेको क्षण विशेष अर्थपूर्ण रहेको बताए । उनले अवार्ड चलचित्रका आफ्ना सम्पूर्ण टिमलाई समर्पित गर्दै भने, ‘अदृश्य (छायामा पारिएका) पक्षहरूमाथि हेर्ने अद्वितीय शक्ति सिनेमामा हुन्छ । यति लामो समयदेखि पिरती, उनका छोरीहरू र पूर्वमा रहेको एउटा सम्पूर्ण समुदाय र यसका सदस्यहरूलाई अदृश्य राखिएको छ । यहाँ हाम्रो कथा ल्याएर र यो पुरस्कारमार्फत यसको सम्मान गरेर हामीले ती किनारमा पारिएकाहरूमाथि प्रकाश पार्ने प्रयास गरेका छौँ । अर्थात्, हामीले अदृश्यलाई दृश्यमान बनाएका छौँ । र, यो पुरस्कार मेरा सम्पूर्ण टोलीप्रतिको सम्मान हो ।’

कान्स फेस्टिभलमा नेपालबाट निर्देशक शाहसहित निर्माता अनुप पौडेल, प्रचण्डमान श्रेष्ठ, मुख्य कलाकारहरू पुष्प थिङ लामा, सहद्दिन मियाँ, जस्मिन विश्वकर्मा, अलिज घिमिरे, चयन अधिकारीलगायत सहभागी थिए । चलचित्र प्रदर्शनपछि अन्तर्राष्ट्रिय दर्शक, समीक्षक, लेखक तथा सिनेमा पारखीहरूले चलचित्रको कथावाचन, दृश्य र प्रस्तुतिको खुलेर प्रशंसा गरेका थिए ।

निर्देशक अविनाश विक्रम शाहलाई बधाई दिँदै निर्देशक नवीन सुब्बाले भने, ‘यो सामान्य सम्मान होइन, कान्सको महत्वपूर्ण अवार्ड हो । नेपाल र नेपाली सिनेमाको शिर उच्च बनाउने उपलब्धि हो । भविष्यमा कान्सको मुख्य अवार्ड, बर्लिन, भेनिस ओस्कारसम्म जित्ने क्षमता नेपाली सिनेमासँग छ भन्ने प्रमाण हो ।’

नवीन सुब्बाका अनुसार पछिल्ला वर्षहरूमा नेपाली सिनेमाले निरन्तर रूपमा विश्वका प्रतिष्ठित फिल्म महोत्सवमा उपस्थिति जनाउँदै आएको छ । ‘कान्स, भेनिस, बर्लिनजस्ता महोत्सवमा नेपाली सिनेमाको नियमित सहभागिता छ । हामी मुख्य प्रतिस्पर्धासम्म पुगिरहेका छौँ, पुरस्कार जितिरहेका छौँ,’ उनी भन्छन्, ‘अहिले फिल्मकर्मीहरूले अविनाशलाई मात्रै नभई समग्र नेपाली चलचित्र क्षेत्रलाई बधाई दिइरहेका छन् । उनीहरूले विश्व चलचित्र मानचित्रमा नेपाली सिनेमाको आगमन संकेतसमेत गरेका छन् ।’

सुब्बाका अनुसार एक समय इरान, कोरिया, ल्याटिन अमेरिका वा चीनका सिनेमालाई विश्वले चासोका साथ हेर्थ्यो । अहिले थाइल्यान्ड, इन्डोनेसिया, भियतनामका सिनेमालाई हेरिरहेका छन् । अब नेपाली सिनेमाप्रति पनि विश्वको ध्यान केन्द्रित हुँदै गएको उनले बताए । तर, यो उपलब्धिमा राज्यको कुनै योगदान नरहेको भन्दै उनले दुःखेसो पोखे ।

‘यो पूर्ण रूपमा नेपाली चलचित्रकर्मीको पसिना, संघर्ष र मिहिनेतको परिणाम हो । अब राज्यले पनि आँखा खोल्नुपर्छ र सिनेमाप्रति संवेदनशील बन्नुपर्छ,’ उनले भने, ‘कोरिया, जापान वा अन्य देशहरूको फिल्म इतिहास हेर्दा राज्यले सिनेमालाई प्राथमिकतामा राखेको देखिन्छ । ती देशहरूमा चलचित्रमैत्री नीति बनेको छ । नेपालमा पनि त्यस्तो नीति आवश्यक छ ।’

लेखक तथा अध्येता अरुणदेव जोशी कान्समा ‘जुरी प्राइज’ जितेसँगै नेपाली सिनेमाले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो पहिचान स्थापित गरेको बताउँछन् । ‘यो केवल एउटा फिल्मको सफलता होइन, नेपाली सिनेमाको सम्भावना विश्वसामु उजागर भएको महत्वपूर्ण क्षण हो,’ उनी भन्छन्, ‘यहाँसम्म पुग्न एकजना फिल्ममेकरको लामो संघर्ष छ । यो उसको लगातारको मिहिनेतले सम्भव भएको हो । राज्यको विनासहयोगमा कान्समा अवार्ड जित्न सक्नु सामान्य संघर्षले हुँदैन ।’

‘एलिफेन्ट्स इन द फग’ले कान्समा हासिल गरेको अवार्डलाई नेपाली चलचित्रले चढेको एउटा ‘सगरमाथा’का रूपमा व्याख्या गर्छन् चलचित्रकर्मी सरोज सापकोटा । ‘हामीले भनेका कथाहरू विश्वकै ठुलो चलचित्र मञ्चमा पुगेर अन्तर्राष्ट्रियस्तरका फिल्मसँग प्रतिस्पर्धा गर्दै अवार्ड हासिल गर्नु अत्यन्त ठुलो उपलब्धि हो । यो नेपाली सिनेमाका लागि अभूतपूर्व सफलता हो । अब कान्सको मुख्य विधा र ओस्कार अवार्ड जित्न मात्रै बाँकी छ ।’ 

हङकङमा रहेर नेपाली चलचित्र निर्माणमा सक्रिय चलचित्रर्मी अमोद राईले ‘एलिफेन्ट्स इन द फग’को सफलता नेपाली फिल्म उद्योगका लागि ऐतिहासिक क्षण रहेको बताउँछन् । ‘व्यक्तिगत संघर्ष र सीमित स्रोतबिच बनेको फिल्मले कान्ससम्म पुगेर पुरस्कार जित्नु आफैँमा असाधारण उपलब्धि हो,’ उनी भन्छन्’, ‘यस्ता फिल्मलाई घरेलु बजारमा पनि प्रोत्साहन गर्नुपर्छ । घरेलु बजारमा पनि आमदर्शकसम्म पुग्ने वातावरण बनाइनुपर्छ ।’
 

See More On

सुझावित समाचार