- सरकारी मूल्यभन्दा प्रतिक्विन्टल तीन सय पाँच रुपैयाँ बढीमा सरकारी स्वामित्वको खाद्य कम्पनीले किन्न थाल्यो किसानबाट गहुँ
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीले सरकारद्वारा निर्धारित समर्थन मूल्यभन्दा प्रतिक्विन्टल तीन सय पाँच रुपैयाँ बढी रकम किसानलाई भुक्तानी गरेर गहुँ खरिद गरिरहेको छ । खाद्य कम्पनीले कैलालीको टीकापुर, मसुरिया र मोहनपुर डिपोमार्फत किसानको गहुँ खरिद गरिरहेको हो ।
सरकारले यस वर्ष गहुँको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार नौ सय ४५ रुपैयाँ तोकेको छ । खाद्यले भने प्रतिक्विन्टल चार हजार दुई सय ५० रुपैयाँमा खरिद गरिरहेको हो । किसानलाई प्रोत्साहन दिएर पर्याप्त मात्रामा गहुँ खरिद गर्न समर्थन मूल्यभन्दा बढी दरमा भुक्तानी दिइरहेको खाद्य कम्पनीको प्रादेशिक कार्यालय प्रमुख दीपक थापाले जानकारी दिए । कार्यालयले सुदूरपश्चिमका किसानबाट यो वर्ष १० हजार क्विन्टल गहुँ खरिदको लक्ष्य राखेको छ । तोकिएभन्दा बढी दरमा भुक्तानी दिएर चाँडै खरिद प्रक्रियासमेत थालेकाले यो वर्ष कोटाअनुसार गहुँ खरिद गर्ने अपेक्षा राखेको थापाले बताए । गत वर्ष भने ढिलो खरिद प्रक्रिया सुरु गरेको र बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसकेकाले साढे ५२ टन मात्रै गहुँ खरिद भएको थियो ।
सुदूरपश्चिमको स्थानीय गल्लामा सरकारले तोकेभन्दा बढी दरमा खरिद–बिक्री भइरहेकाले पनि खाद्य कम्पनीले भाउ बढाएर किसानलाई भुक्तानी दिएको कार्यालय प्रमुख थापाले जानकारी दिए । ‘किसानलाई प्रोत्साहन पनि हुने र कोटाअनुसार गहुँ पनि खरिद गर्न सकियोस् भनेर समर्थन मूल्यभन्दा बढाएर खरिद गर्ने निर्णय गरेका हौँ,’ थापाले भने, ‘यसपालि गहुँ खरिदको कोटा पूरा हुने अपेक्षा गरेका छौँ ।’ बजार मूल्य र समर्थन मूल्य तुलना गरेर खाद्यले दर निर्धारण गर्न सक्ने व्यवस्था रहेको उनले बताए ।
कैलालीमा प्रतिक्विन्टल चार हजार दुई सयदेखि चार हजार ६ सय रुपैयाँसम्ममा गहुँ खरिद–बिक्री भइरहेको छ । खाद्यले मोहनपुरमा १५, टीकापुरमा १६ र मसुरियामा १७ वैशाखबाट गहुँ खरिद सुरु गरेको हो । खाद्यले किसानलाई मोबाइलमा म्यासेज गरेर गहुँ खरिद सुरु भएको जानकारी गराइरहेको छ । गत सिजनमा खाद्यका डिपोमा धान बेच्न आएका एक हजार सात सय किसानलाई प्रादेशिक कार्यालयले म्यासेजमार्फत गहुँ बिक्रीका लागि आउन खबर गरिरहेको थापाले जानकारी दिए । यसरी खरिद गरिएको गहुँ खाद्यले खाद्यान्न अभाव भएका दुर्गम जिल्लाका उपभोक्तालाई बिक्री गर्ने गर्छ ।