श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा वरीयता क्रम उल्लंघन गरिएको भन्दै सरकारको कदमप्रति आपत्ति जनाएका छन्।
बिहीबार जारी विज्ञप्तिमा उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर संसदीय प्रक्रिया छलेको आरोप लगाउँदै यसलाई विधिको शासनमाथिको प्रहार बताएका हुन्। उनले नियुक्तिसम्बन्धी बैठकमा एमसिसी र एसपिपीजस्ता विषय उठाएर दबाब र प्रभाव सिर्जना गरिएको दाबी पनि गरेका छन्।
साम्पाङले आफ्नै पार्टीबाट प्रतिनिधित्व गर्ने उपसभामुखले समेत वरीयता मिचेर गरिएको निर्णयमा हस्ताक्षर गरेकोप्रति दुःख व्यक्त गरेका छन्। ‘हाम्रै पार्टीबाट जानुभएको उपसभामुखले समेत वरीयताको क्रमलाई उल्लंघन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ।
उनले संसद् छलेर राष्ट्र प्रमुखमाथि दबाब सिर्जना गरी अध्यादेश जारी गराउनु गलत भएको टिप्पणी गर्दै वरीयताको चौथो नम्बरमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गर्नु सरकारको ठुलो भूल भएको बताएका छन्।