आफ्नै राजनीतिको मूल्य चुकाउँदै केजरिवाल

जब कुनै राजनीतिक दल एक मानिसको महत्वाकांक्षामा आधारित हुन्छ र उसकै वरिपरि घुम्छ, त्यो लामो समय टिक्न कठिन हुन्छ

सोमबार, २१ बैशाख, २०८३
डिजिटल संस्करण

भारतीय राजनीतिमा बलियो प्रतिपक्षको खाँचो छ । यस्तोमा जब कुनै विपक्षी दल पतनको संघारमा हुन्छ, क्षति देशको लोकतन्त्रलाई नै पुग्छ । आजको भारतीय राजनीति पूर्णतः पैसाको राजनीतिक खेलमा बदलिएको छ । विपक्षीमाथि झुटा अभियोगमा आधारित मुद्दा, वित्तीय जाँच एजेन्सी इडीको निरन्तरको छापा र पार्टीहरूलाई टुक्र्याउने खेलले गर्दा विपक्षी शक्ति कमजोर बनेको छ । सत्तारुढ दलका यी रणनीति जब सफल हुन्छन्, भारतीय लोकतन्त्र थप कमजोर बन्दै जान्छ । त्यसैले, भर्खरै सत्तारुढ दलले शक्ति प्रयोग गरेर आम आद्मी पार्टी (आप) फुटाइदिएको घटनाले हरेक लोकतान्त्रिक पक्षधर दुःखी हुनु स्वाभाविक हो । 

कंग्रेस कमजोर पार्ने कडी :  आपमाथि जे भयो, त्यो आश्चर्यजनक होइन । आपको निर्माण र निर्माणपछिका यसका रेकर्डलाई ध्यान दिँदा सबै सामान्य लाग्छ ।

अहिले धेरैले आपको राजनीति कसरी सुरु भयो भनेर बिर्सए होलान् । तर, यसलाई बुझ्न धेरै पछाडि पनि जानुपर्दैन । यसको जरा सन् २०११ मा उठेको ‘इन्डिया एगेन्स्ट करप्सन ( भ्रष्टाचारविरुद्ध भारत)’नामको आन्दोलनसँग जोडिएको छ । अन्ना हजारेको नेतृत्वमा भएको सो आन्दोलनमा आप नेता अरबिन्द केजरिवाल र उनका अन्य धेरै सहयोगी सहभागी थिए । त्यति वेला भ्रष्टाचारविरोधी अभियान चलाउन नियोजित कदम चालिएका थिए । 

जस्तो, भ्रष्टाचारविरोधी आन्दोलनको प्रेरक बनेको महालेखापरीक्षण कार्यालय (कम्प्ट्रोलर एन्ड अडिटर जनरल’ अर्थात् सिएजी)कै प्रसंगलाई लिऊँ । कार्यालयले पत्रकार सम्मेलन गर्दै आफूहरूले भ्रष्टाचारका कैयौँ प्रमाण फेला पारेको घोषणा गर्यो । अहिले त्यतिवेला सिएजीको अधिकांश भनाइ आधारहीन रहेको खुलेको छ । जसरी सिएजी कार्यायलले पत्रकार सम्मेलन गर्नु असामान्य थियो, त्यसैगरी त्यतिवेला कथित भ्रष्टाचार गणना गर्न प्रयोग गरिएका विधि पनि असामान्य थिए ।

‘अनुमानित क्षति’जस्ता अनौठा अवधारणा प्रस्तुत गरियो । र, मिडियाले आफ्नो सामान्य परम्पराअनुरूप सिएजीको गणनामाथि प्रश्न उठाएनन् । न त कार्यालयले यस्तो तथ्य सार्वजनिक गरेर किन सेलिब्रेटी बन्न खोज्यो भन्ने प्रश्न नै सोधियो ? ‘सिएजी’ले लगाएका आरोपको फाइदा तत्कालीन प्रमुख विपक्षी दल भारतीय जनता पार्टी (भाजपा)ले उठाउने प्रयास गरेको भए मानिसले शंका गर्ने थिए । त्यसैले, त्यतिवेला भ्रष्टाचारविरोधी अभियानमा सक्रिय हजारे र केजरिवालजस्ता गैरराजनीतिक व्यक्तित्व अघि सारिए । तिनको नेतृत्वका कारण आममानिसमा बलियो विश्वसनीयता देखियो । मिडियाले पनि आन्दोलनका नेतृत्व राजनीतिज्ञ नभएर क्रुद्ध आमनागरिक भएको दोहोर्याइरहे । आन्दोलनमा सरिक प्रमुख नेताले त्यतिवेला आफूहरूले राजनीतिमा प्रवेश गर्न नचाहेको बताएका थिए ।

‘इन्डिया अगेन्स्ट करप्सन’ मूलतः दिल्लीकेन्द्रित आन्दोलन रह्यो, दिल्लीबाहिरका कुनै पनि शसहमा यसले ठुलो भिड आकर्षित गर्न सकेन । र, यसको महत्व नोएडा–आधारित टिभी च्यानलले बढाइचढाइ गरेका कारण सार्वजनिक धारणा प्रभावशाली बन्न पुग्यो । तर, वास्तविकतामा ‘इन्डिया अगेन्स्ट करप्सन’ कहिल्यै हजारेको आन्दोलन थिएन । यो त सुरुदेखि नै केजरिवालको ‘सो’ थियो । पछि केजरिवालले एकएक गरी आफ्ना सहयोगीलाई किनारा लगाए, जसमा अन्ना हजारेसमेत परे । त्यसपछि प्रमुख व्यक्तित्व किरण बेदी, योगेन्द्र यादव, प्रशान्त भूषण, कुमार विश्वास, साजिया इल्मी आदि पालैपालो पाखा लगाइए । यीमध्ये केही मानिस पछि भाजपा समर्थक बने ।

त्यतिवेलासम्म तीन कुरा भइसकेका थिए । पहिलो, भ्रष्टाचारविरोधी आन्दोलनवरपरको प्रचारले मनमोहन सिंह सरकारलाई कमजोर बनायो । दोस्रो, यसले नरेन्द्र मोदीको उदयको बाटो खोल्यो । र, तेस्रो आन्दोलनको उद्देश्य खासमा केजरिवालको नेतृत्वमा एउटा राजनीतिक दल गठन गर्नु थियो ।

कर्मको परिणाम :  यस पृष्ठभूमिलाई हेरेर भारतीयले आपबाट धेरै आशा गर्नु ठिक थियो त ? तत्कालीन दिल्लीकी मुख्यमन्त्री शिला दीक्षित र अन्य कंग्रेस नेताबारे आपले बोलेका झुटलाई ध्यानमा राख्दा र आपमा एकपछि अर्का शीर्ष नेतृत्व बाहिरिँदा आपले केजरिवालको उन्नतिबाहेक अरू केही गर्छ भन्ने अपेक्षा गर्नु ठिक थियो ? सायद थिएन । तर, दिल्लीमा सरकार बनाएपछि आपले जनताले आशा गरेभन्दा राम्रो प्रदर्शन गर्यो । यसले दिल्लीको गरिब क्षेत्रमा उल्लेखनीय काम गर्यो भने राज्यको शिक्षा र जनस्वास्थ्यमा ठुलो सुधार ल्यायो । 

तर, यो लामो समय समयसम्म टिक्नेवाला थिएन । किनकि, जब कुनै पार्टी केवल एक मानिसको महŒवाकांक्षामा आधारित हुन्छ र उसकै वरिपरि घुम्छ, यसले छोटो समयका लागि सफलता त हासिल गर्न सक्छ, तर दलको अन्तर्निहित खोक्रोपनले यसलाई राष्ट्रिय रूपमा बलियो बन्नबाट रोक्ने निश्चित थियो । 

भारतीय अहिले आफैँलाई एउटा प्रश्न सोध्नुपर्छ । निश्चित रूपमा मोदी सरकारले केजरिवाललाई जे गरिरहेको छ, त्यो गलत हो । तर, केजरिवाल र उनको भ्रष्टाचारविरोधी आन्दोलनले कंग्रेस नेतृत्वको युपिए गठबन्धन कमजोर नबनाएको भए केन्द्रमा नरेन्द्र मोदीको उदय र सरकार बन्न सम्भव हुन्थ्यो ? यसैले कर्मको फल एक दिन सबैले भोग्नैपर्छ ।
(संघवी भारतका छापा तथा टेलिभिजन पत्रकार हुन्) द प्रिन्टबाट

सुझावित समाचार