चालू आर्थिक वर्ष ०८२/८३ को हालसम्म सल्यान जिल्लामा चार हजारभन्दा बढी घरधुरीमा राष्ट्रिय प्रसारणलाइनमार्फत विद्युत् सेवा विस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरण, सल्यान वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलका अनुसार गत साउनदेखि अहिलेसम्म चार हजारभन्दा बढीको घरधुरीमा विद्युत् सेवा पुर्याइएको हो। जिल्लाका करिब ७३ प्रतिशत घरधुरीमा विद्युतको पहुँच पुगेको छ भने तीमध्ये ६४ प्रतिशत उपभोक्ताले मिटर जडान गरिसकेको उनले जानकारी दिए ।
जिल्लामा विद्युतीकरणको काम तीव्र गतिमा अघि बढे पनि अझै करिब २७ प्रतिशत घरधुरी विद्युत् सेवाबाट वञ्चित छन्। बाँकी क्षेत्रमा लाइन विस्तारको काम जारी रहेको वितरण केन्द्रले जनाएको छ। सल्यानमा विद्युत् आपूर्तिका लागि तुल्सीपुरबाट आउने ३३ केभी राष्ट्रिय प्रसारणलाइन प्रयोग हुँदै आएको छ भने वनगाड कुपिन्डे नगरपालिकाको सल्लीबजार क्षेत्रमा सुर्खेत वितरण केन्द्रमार्फत सेवा उपलब्ध हुँदै आएको छ। जिल्लामा हाल शीतलपाटी र थारमारेमा दुईवटा सबस्टेसन सञ्चालनमा रहेका छन् ।
जिल्लामा वार्षिक रूपमा करिब पौने नौ करोड रुपैयाँबराबरको विद्युत खपत हुने गरेको छ। गत आर्थिक वर्ष ०८१/८२ मा एक करोड आठ लाख ४३ हजार ९६६ युनिट विद्युत् बिक्रीबाट आठ करोड ७५ लाख ३५ हजार ५३८ रुपैयाँ आम्दानी भएको वितरण केन्द्रले जनाएको छ ।