इरान युद्धले थप बढाउँदै छ युरोपेली एकता

बुधबार, १६ बैशाख, २०८३
डिजिटल संस्करण
  • इरानमाथि अमेरिकाको युद्ध र लेबनानमाथि जारी इजरायली हमलाले युरोपेली गठबन्धन र इयूको भविष्यबारे रणनीतिक सोचलाई पुनः आकार दिइरहेको छ

राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वको अमेरिका र युरोपेली संघ(इयू)बिचको सम्बन्ध जटिल देखिन्छ । एकातर्फ युरोपेली देश र अमेरिकाले दोस्रो विश्वयुद्धको अन्त्य यताकै बलियो गठबन्धन निर्माण गरेका छन् । अर्कोतर्फ, सन् २०२५ मा ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेपछि दुई पक्षबिच खुला रूपमा विभिन्न मुद्दामा विवाद देखिएको छ । विशेषतः भन्सार शुल्क, युरोपले नेटोमा गरिने खर्च बढाउनुपर्ने, प्यालेस्टिनयन राज्यको मान्यता, इजरायलको बढ्दो आक्रामकतालाई कसरी लिने, युक्रेन युद्धलाई गरिने समर्थनको स्तर र ग्रिनल्यान्डको सार्वभौमसत्ताको विषयमा दुई समूहबिच मतभिन्नता देखियो ।

इरानमाथि ट्रम्पले अचानक सुरु गरेका आक्रमण दुई समूहबिच मतभिन्नताको पछिल्लो कारण बनेको छ । यसले विश्व अर्थतन्त्रलाई नै प्रभावित गरेकाले यो मुद्दा अन्यभन्दा केही भिन्न छ । इरानमाथि अमेरिकाको युद्ध र सँगसँगै लेबनानमाथि जारी इजरायली आक्रमणले युरोपेली गठबन्धन र इयूको भविष्यबारे रणनीतिक सोचलाई पुनः आकार दिइरहेको छ । इयूभित्र ४५ करोड मानिस बसोवास गर्छन् र यसको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) चीन र अमेरिकाको हाराहारी छ । यही शक्तिका कारण यो विश्वशक्ति हो र यसले अन्तर्राष्ट्रिय मामिलामा उल्लेख्य प्रभाव पार्न सक्छ । 

युरोपियन नेताले यही शक्ति प्रयोग गरेर अमेरिका र इरानबिच स्थायी शान्ति गराउन सघाउँदै ‘स्ट्रेट अफ हर्मुज’ सकेसम्म छिटो खुलाउने प्रयास गरिरहेका छन् । 

संयुक्त राष्ट्रको विरोधबिच भइरहेको युद्ध
इयूका सदस्य देशहरू विधिमा आधारित विश्व व्यवस्था र अन्तर्राष्ट्रिय संस्थामाथि विश्वास गर्छन् । यो विश्वास यसको लोकतान्त्रिक संविधान र मूल्यको कारण मात्र नभई त्यस्ता संस्थाले यसका निकायलाई पनि ‘जसको शक्ति उसकै भक्ति’को व्यवस्थाले भन्दा राम्रो सुरक्षा दिने भएकाले आएको हो । इरानमाथि ट्रम्पले एकतर्फी रूपमा सुरु गरेको युद्ध अन्तर्राष्ट्रिय विधानविरुद्ध छ । यो युद्ध सुरु गर्नुअघि न त संयुक्त राष्ट्र संघमा छलफल भएको थियो न त यसलाई नेटोले नै अनुमोदन गरेको थियो । परिणामस्वरूप बारम्बारको ट्रम्पको अनुरोधका बाबजुद युरोपेली नेताले युद्धमा कुनै पनि योगदान गर्न अस्वीकार गरिरहे ।

अझ स्पेन र इटालीले त खुलेर इरान युद्धमा प्रयोग भएका हतियार बोकेका अमेरिकी विमानलाई आफ्ना सैन्य अड्डा प्रयोग गर्न दिन अस्वीकार गरे । यसबिच फ्रान्सले पनि प्रत्येकपटक विमान कुन प्रयोजनका लागि प्रयोग भइरहेको छ भनेर बुझेर मात्र आफ्नो हवाईमार्ग प्रयोग गर्न दिने र रोक्ने गरिरहेको छ । स्पेन, इटाली, जर्मनी, फ्रान्स र बेलायतले पनि ट्रम्पको युद्धमा आफ्नो सैन्य समर्थन  सिधै पठाउन अस्वीकार गरे । तथापि, फ्रान्स र बेलायतले युद्ध अन्त्यपछि शान्तिपूर्ण प्रयोजन र समुद्री सुरक्षा ढाँचाभित्र रहेर अमेरिकासँग सैन्य सहकार्य हुने बताएका छन् ।

अन्ततः एक भएको हो युरोप ? 
ट्रम्पको युद्धले खासमा एक निकै सघन र महत्ववपूर्ण प्रक्रियालाई तीव्र बनाइदिएको छ । त्यो हो, कैयौँ मुद्दामा युरोपेली नेताबिच बढ्दो सहकार्य । विशेषतः रक्षा, कूटनीति र ऊर्जालगायत विषयमा अमेरिकाबाट युरोपको रणनीतिक स्वायत्तताको विषयले अहिले महत्वव पाएको छ । ट्रम्प दोस्रो कार्यकाल सुरु गरेदेखि नै इयूले क्षेत्रीय साझेदारसँग कूटनीतिक तथा सैन्य समझदारीमा मिहीन तर महत्ववपूर्ण विविधीकरण दिइरहेको छ । इयूले यसबिच यस्ता ६ सम्झौतामा हस्ताक्षर गरिसक्यो । त्यसबाहेक संघका सदस्य राष्ट्रले विभिन्न देशसँग झन्डै एक दर्जन द्विपक्षीय सम्झौता गरेका छन् ।

युरोपेलीमाझ बढ्दो सहकार्यलाई इरान युद्धले थप सबल र सान्दर्भिक ठहराएको छ । ‘स्ट्रेट अफ हर्मुज’ बन्द भएपछि पेट्रोलियम पदार्थमा आधारित सामग्रीको उत्पादन र वितरणमा विश्वभर आएको अवरोधले तत्काल युरोपेली प्रतिक्रियाको माग गर्यो । हर्मुज खुलाउने विषयमा पेरिसमा अप्रिल १७ गते बेलायत र फ्रान्सका नेता केयर स्टारमर र इम्यानुयल म्याक्रों तथा जर्मन तथा इटालियन नेता फ्रेडरिक मर्ज र जर्जिया मेलोनीसमेतले एक विशाल सम्मेलन आयोजना गरे ।

४९ अन्य देशको समेत सहभागिता रहेको सम्मेलनमा विभिन्न अर्न्तराष्ट्रिय संगठनको पनि सहभागिता थियो । बैठकले हर्मुल ‘तत्काल, निसर्त र पूर्ण रूपमा खुलाउनुपर्ने प्रस्ताव’ गर्यो । हर्मुजमा जहाजहरूको सुरक्षा तथा स्वतन्त्र आवागमन सुनिश्चित गर्न लन्डनमा आगामी समयमा थप योजना बनाउन नेता सहमत गरेर छुट्टिए ।

इरान युद्ध र ट्रम्पले गरेको पोपको आलोचनाले ट्रम्प र इटालीकी प्रधानमन्त्री मेलोनीबिचको कुनै समयको सुमधुर सम्बन्धमा दरार आएको छ । इटालीमा मेलोनीका समर्थकहरू अमेरिकी राष्ट्रपतिको अस्थिरताबाट चिन्तित रहेको सर्वेक्षणले देखाएको छ ।

बदलिँदो लहर
केही समय ट्रम्प र उनी नेतृत्वको ‘मागा’(मेक अमेरिका ग्रेट अगेन) अभियन्ताले युरोपेली नेताबिच फाटो ल्याउने कठोर मिहिनेत गरे । यसमा उनीहरू केही हदसम्म सफल पनि भए । उनीहरूले जर्मनीका उग्र दक्षिणपन्थी, हंगेरीका भिक्टोर ओर्बान र इटालीका मेलोनीलाई समर्थन जनाए । तर, मेलोनी पेरिस अवतरण गर्नुभन्दा तीन दिनअघि ओर्बानले ठुलो हार भोगे । हंगेरीमा १६ वर्ष लामो कठोर शासन गरेका रुस समर्थक ओर्बान युरोपका कटु आलोचक रहे । उनले संघका धेरै अग्रसरतामा अवरोध सिर्जना गर्नेदेखि आफ्ना मित्र भ्लादिमिर पुटिनलाई संघका संवेदनशील सूचना दिनेसम्मका काम गरिरहेका थिए । ओर्बानलाई हराएर मझधारका पिटर मग्यारको आगमनले युरोपेली एकतामा आशाको सञ्चार गरेको छ ।

युरोपमा आन्तरिक विभाजन सिर्जना गर्ने ट्रम्पको प्रयास पनि कमजोर बनेको छ । ग्रिनल्यान्ड हत्याउने उनको धम्कीविरुद्ध युरोपले एक भएर प्रतिक्रिया दियो । यहाँसम्मकी संघले ग्रिनल्यान्डमाथि डेनमार्क र युरोपका सार्वभौमिकता समर्थन जनाउँदै अमेरिकासँग अन्तिम चरणमा पुगेको व्यापार सम्झौतासमेत रोकिदिएको छ । यस प्रकरणमा युरोपले पुनः एकपटक वासिङटनको दबाब सामना गर्ने शक्ति र रणनीतिक स्वायत्तता प्रदर्शन गरेको छ ।

युरोपको भविष्य अब कता ? 
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिलामा भएका पछिल्ला घटनाहरूले युरोपलाई समकालीन संकटलाई एक भएर प्रतिक्रिया दिनुपर्ने आधार तयार पारिदियो । अमेरिका तथा रुसले सिर्जना गरिदिएको विभाजनका कारण बाँडिने युरोपेली नेताहरू अहिले भने इरान र त्यसले विश्व अर्थतन्त्रमा निम्त्याएको झट्का सामना गर्ने अवस्थामा छन् । यसपटक ऊर्जा संकटका कारण सिर्जना भएको वा सिर्जना हुन सक्ने जोखिम जस्तै ऊर्जा सुरक्षा, मुद्रास्फीति तथा बेरोजगारी वृद्धिको खतराले मस्को वा वासिङटनसँगको वैचारिकी सामीप्यता गौण बनाइदिएको छ ।

युरोपेली सदस्य राष्ट्रबिच बढ्दो कूटनीतिक सामीप्यताको अतिरिक्त वर्तमान संकटले युरोपियन कमिसनलाई इन्धन उपभोग नियन्त्रण गर्ने, आपूर्ति सञ्जालको सुरक्षित गर्ने र युरोपेली अर्थतन्त्रलाई आणविक तथा नवीकरणीय ऊर्जातर्फ संक्रमण गर्ने प्रयसलाई तीव्र पार्न प्रेरित गर्यो । युरोपेली आवाजप्रति विकसित यो नयाँ विश्वास सदस्य राष्ट्रहरूबिच र युरोपेली संस्थानहरूबिच दुवै स्थानमा देखिएको छ । विशेषतः युरोपेली संसद्, युरोपियन आयोग र फरेन अफेयर्स काउन्सिलमा युरोपेली एकता वृद्धि भएको छ ।

युरोपेली नेताबिच बढ्दो घनिष्ठता इरान संकटभन्दा परसम्मको परिणाम निम्त्याउन सुरु गरेको छ । अप्रिल २० मा पोलिस प्रधानमन्त्री डोनाल्ड टस्कको भ्रमणको समयमा फ्रान्सका म्याक्रोंले ‘युरोपको नयाँ युग’को आफू ‘आशावादी’ रहेको घोषणा गरे । इरानमाथिको ट्रम्पको आक्रमणले सुरु गरेको असाधारण विखण्डनले अमेरिकाबाट थप स्वायत्त तथा एकताबद्ध युरोप सिर्जना गर्ने अवस्था निम्त्याएको छ । 

फाथी अस्ट्रेलियन नेसनल युनिभर्सिटीका स्कुल अफ हिस्ट्रीका सहप्राध्यापक हुन् ।

–द कन्भर्सेसनबाट

See More On

सुझावित समाचार