कोइला अभाव र उत्पादन मेसिन ‘किल’मा प्राविधिक समस्या देखिएपछि हेटौँडा सिमेन्ट उद्योग पुनः बन्द भएको छ । चैत १३ गतेदेखि क्लिंकर उत्पादन सुरु गरेको उद्योग करिब २० दिन सञ्चालनपछि बिहीबार बिहानदेखि बन्द भएको हो । यसअघि चालू आर्थिक वर्षमा गत भदौ १९ देखि २४ गतेसम्म जम्मा पाँच दिन मात्रै उद्योग सञ्चालनमा आएको थियो ।
उद्योगका सहायक प्रबन्ध निर्देशक भक्तिराम श्रेष्ठका अनुसार क्लिंकर उत्पादन गर्ने मुख्य मेसिन किलभित्र तापक्रम नियन्त्रणका लागि प्रयोग हुने इँटा खसेपछि तत्काल उत्पादन रोक्नुपरेको हो । ‘किलभित्रको इँटा खसेपछि मेसिन चलाउन जोखिम हुने भएकाले बन्द गरिएको हो,’ उनले भने, ‘किल अत्यधिक तापक्रममा रहने भएकाले चिसिन समय लाग्छ । इँटा फेरेपछि मात्रै उत्पादन पुनः सुरु गर्न सकिन्छ ।’
उनका अनुसार किल मर्मतका लागि कम्तीमा एक हप्तादेखि १० दिनसम्म समय लाग्ने अनुमान गरिएको छ । उद्योग बन्द हुनुमा कोइलाको अभाव पनि प्रमुख कारण बनेको छ । उद्योग सञ्चालनका लागि आवश्यक पर्ने कच्चा पदार्थ कोइला सकिँदै जाँदा उत्पादन निरन्तरता दिन कठिन भएको उद्योग प्रशासनले जनाएको छ । चैत १३ गतेदेखि सञ्चालन गर्दा मौज्दात रहेको कोइला र थप खरिद गरिएको करिब तीन हजार टन कोइलाबाट उद्योग झन्डै २० दिनसम्म सञ्चालन भएको थियो ।
‘अहिले उद्योगमा कोइला छैन,’ श्रेष्ठले भने, ‘करिब ६ हजार पाँच सय मेट्रिकटन कोइला खरिद प्रक्रियामा छ । कोइला आपूर्ति भएपछि उद्योग फेरि केही दिन सञ्चालन गर्न सकिन्छ ।’ उनका अनुसार कोइला आपूर्ति सम्झौताको चरणमै रहेकाले समयमै आपूर्ति हुन नसक्दा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको हो । कोइला आउने अपेक्षामा उद्योग सञ्चालन गरिएको भए पनि मौज्दात सकिएपछि उत्पादन रोक्नुपरेको उनले बताए ।
उद्योगले पछिल्लो २० दिनको अवधिमा करिब एक लाख क्विन्टल क्लिंकर उत्पादन गरेको जनाएको छ । उत्पादित क्लिंकरबाट सिमेन्ट उत्पादन तथा प्याकिङको काम भने अझै बाँकी रहेको छ ।
उद्योग प्रशासनका अनुसार कोइला आपूर्ति सहज भएपछि र किल मर्मतकार्य सम्पन्न भएपछि उद्योग पुनः सञ्चालनमा ल्याइनेछ । ‘मेसिनलाई पनि केही समय विश्राम आवश्यक पर्ने भएकाले अहिले बन्द गरिएको हो,’ श्रेष्ठले भने, ‘सबै प्रक्रिया पूरा भएपछि एक हप्तादेखि १० दिनभित्र उद्योग पुनः सञ्चालन गर्ने योजना छ ।’
उद्योग धेरै समय बन्द र कहिलेकाहीँ मात्रै सञ्चालन हुने अवस्थाले उद्योगको उत्पादन र आर्थिक व्यवस्थापनमा असर परिरहेको छ । दीर्घकालीन रूपमा कोइला आपूर्ति व्यवस्थापन र प्राविधिक मर्मतलाई व्यवस्थित नगरे उद्योग सञ्चालन चुनौतीपूर्ण हुने देखिएको सहायक प्रबन्ध निर्देशक श्रेष्ठको भनाइ छ ।