माछापुच्छ्रेले नेपाल पेको पेमेन्ट इनेबल गर्ने

आइतबार, ६ बैशाख, २०८३
डिजिटल संस्करण

माछापुच्छ्रे बैंक लिमिटेड र एनसिएचएलबिच इएफटी कार्ड स्विचमार्फत नेपाल पे कार्डको पेमेन्ट इनेबल गर्न सम्झौता भएको छ । एक औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकको प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुवेदी तथा एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानद्वारा सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त सम्झौतापत्र आदान–प्रदान गरेका हुन् ।

एनसिएचएलको इएफटी स्विच नेसनल कार्ड स्विचसँग इन्टिग्रेट भइसकेको र उक्त सम्झौतापश्चात् माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकका लागि नेपाल पे कार्ड जारी गर्न सक्नेछ । साथै, डिस्कभर नेटवर्कअन्तर्गतका अन्तर्राष्ट्रिय कार्डहरू र पे कार्डसमेत अक्वायर गरी नेपाल पे कार्डका कारोबार प्रोसेस गर्न सक्नेछन् । पहिलो चरणमा बैंकले आफ्नो एक सय ९९ भन्दा बढी एटिएम र तीन हजारभन्दा बढी पिओएस टर्मिनमार्फत नेपाल पे कार्डको अक्वायरिङका लागि इनेबल गर्नेछ भने क्रमिक रूपमा उक्त कार्ड आफ्ना ग्राहकलाई जारीसमेत गर्नेछ ।

एनसिएचएलले हालै नेपाल पे कार्डको व्यावसायिक रोलआउट सुरु गरिसकेको छ भने अन्तर्राष्ट्रिय पार्टनर डिस्कभर नेटवर्कमार्फत नेपाल पे कार्ड विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने भएको छ । नेसनल पेमेन्ट स्विचअन्तर्गत नेपाल पे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपाल पे कार्ड नेपाल तथा विदेशमा रहेका एटिएम र पिओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ । साथै, अन्तर्राष्ट्रिय डिस्कभर कार्ड तथा डिस्कभर पार्टनर कार्ड पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ ।

एनसिएचएलको इएफटी सर्भिसेसमार्फत हाल १० वटा सदस्य बैंक वित्तीय संस्थाहरूले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्किम प्रोसेस गर्दै आइरहेका छन् । बैंकका देशभर एक सय ६५ वटा शाखा, १२ विस्तारित काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा तथा एक सय ९९ एटिएम टर्मिनल सञ्चालनमा रहेका छन् । 

सुझावित समाचार