बर्दियामा सामुदायिक वन कटान भएसँगै काठको अवैध ओसारपसार बढ्दो

शनिबार, ५ बैशाख, २०८३
डिजिटल संस्करण

दिगो वन व्यवस्थापनका लागि सामुदायिक वनको रूख कटान भएसँगै बर्दियामा काठको अवैध ओसारपसार बढेको छ । डिभिजन वन कार्यालय बर्दियाले दिगो वन व्यवस्थापनका लागि सामुदायिक वनहरूलाई रूख कटानको आदेश दिएर रूख कटान  भएसँगै काठको अवैध ओसारपसार बढेको हो ।

दिगो वन व्यवस्थापनका लागि डिभिजन वन कार्यालयको अनुमतिमा सामुदायिक वनको रुख कटान भएको छ । सामुदायिक वनमा रहेका साल, खयर, सिसौ लगायत  जातका रूखहरू कटान भएपछि काठको अवैध कारोबार समेत बढेको छ । 

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले ०८२  चैत्र २४ गते राती साढे १२ बजे मधुवन नगरपालिका, ९ बाट  सात फिट लम्बाइ भएको ३ थान गोलिया काठ (२०.१४ क्युफिट) काठ र रातो अटो पक्राउ गरिएको जानकारी दिए। प्रहरीले काठको साथमा दुईजनालाई पक्राउ गरेको छ। 

डिभिजन वन कार्यालय बर्दियाको पत्र सहित राजापुर नगरपालिकाबाट लैजाँदै गरेको चार सय ८२ थान खयर र ट्रक बाँके प्रहरीले ०८२ फागुन २३ जानकारी गाउँपालिका पक्राउ गरेको थियो । डिभिजन वन कार्यालय बर्दियाको पत्रमा दुई सय थान खयर लैजानको अनुमति दिएको भएपनि प्रहरीले चार सय ८२ थान खयर पक्राउ गरेको थियो। यसरी कार्यालयको कर्मचारीको मिलोमतोमा दुई सय ८२ थान खयर बर्दियाबाट बाँके पुगेको देखिन्छ।

त्यसैगरी मधुवन नगरपालिका, ८ बाट प्रहरीले ०८२ मंसिर १५ गते दिउँसो ४ बजे  प्रहरीले ९४ हजार रुपैयाँ बराबरको  ३३ वटा गोलिया फेला परेको थियो। बढैयाताल गाउँपालिका  ६ उच्चगाउँबाट ०८२ असार ८ गते राति साढे १० बजे प्रहरीले ६ लाख पाँच सय रुपैयाँ  १२९.५७ क्युफिट सालको काठ र ट्याक्टर पक्राउ गरेको थियो।

गुलरिया नगरपालिका, ३ मनकामना टोलबाट ०८२ जेठ २२ गते दिउँसो साढे २ बजे प्रहरीले ३ लाख ६५ हजार १६५ रुपैयाँ बराबरको ८१.०५ क्युफिट सालको काठ प्रहरीले फेला  पारेको थियो। राजापुर नगरपालिका, ४ छेदियाबाट ०८१ फागुन २१ गते राती १ बजे प्रहरीले ५ लाख २१ हजार बराबरको १२ थान जंगली सिसौको गोलिया र अटो रिक्सा सहित एकजनालाई पक्राउ गरेको थियो। 

सामुदायिक वनहरुले सामुदायिक वन उपभोक्ता समितिलाई दिगो वन व्यवस्थापनका लागि भन्दै कार्ययोजना निर्माण र कार्ययोजनाको नवीकरण गराएर सामुदायिक वनका रूख कटानको काम भइरहेको छ।यसरी सामुदायिक वनको रुख कटानको काम भएसँगै बर्दियामा साल खयर जस्ता काठको अवैध कारोबार समेत बढेको छ।

सुझावित समाचार