क्रिकेटमा भविष्य खोजिरहेका युवा खेलाडीलाई प्रेरणा दिन राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने हेटौँडा आइपुगेका छन्। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ गर्दोईस्थित हेटौँडा स्पोर्टस् एकेडेमीले सञ्चालन गरेको ग्रासरुट क्रिकेट प्रशिक्षण केन्द्रमा रहेका खेलाडीहरूसँग अनुभव साटासाट गर्न उनी बुधबार हेटौँडा पुगेका हुन्।
उनले एकेडेमीमा करिब दुई घण्टा बिताउँदै प्रशिक्षण लिइरहेका खेलाडीहरूसँग अन्तर्क्रिया गरेका थिए। नेपाली क्रिकेटका चर्चित खेलाडी लामिछानेले अन्तर्राष्ट्रियस्तरका विभिन्न फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा सहभागिता जनाइसकेका छन्। उनले युवा खेलाडीलाई निरन्तर अभ्यास, अनुशासन र आत्मविश्वासका साथ खेल्दै अगाडि बढ्न सुझाव दिएका थिए। ‘क्रिकेटमा भविष्य बनाउन मिहिनेत अत्यन्त आवश्यक छ।
अनुशासनमा रहेर दृढ विश्वासका साथ अघि बढे सफल हुन सकिन्छ,’ उनले भने। एकेडेमीका सञ्चालक कोबिद बानियाँका अनुसार लामिछानेको भ्रमणले नयाँ खेलाडीलाई थप प्रेरणा मिल्ने विश्वास गरिएको छ। ‘जुनियर खेलाडीलाई हौसला दिन र उनीहरूको क्षमता विकासमा सहयोग पुर्याउन यस्तो भ्रमण निकै महत्त्वपूर्ण हुन्छ,’ उनले भने।
उनका अनुसार आगामी दिनमा पनि अन्य राष्ट्रिय खेलाडीलाई एकेडेमीमा आमन्त्रण गरी युवा खेलाडीलाई प्रशिक्षण र अनुभव आदान–प्रदान गराउने योजना रहेको छ। ‘हाल एकेडेमीमा ५० भन्दा बढी खेलाडीले नियमित प्रशिक्षण लिइरहेका छन्,’ उनले भने, ‘धेरैभन्दा धेरै जुनियर खेलाडीलाई प्रशिक्षणमार्फत राष्ट्रिय टोलीसम्म पुर्याउने हाम्रो लक्ष्य छ।’ भ्रमणका क्रममा एकेडेमीले लामिछानेलाई सम्मानसमेत गरेको थियो।