- दुई घण्टा लामो पहिलो चरणको वार्तापछि ‘डिनर’ ब्रेक, त्यसलगत्तै दोस्रो चरणको छलफलमा वार्ता टोली
संयुक्त राज्य अमेरिका र इरानबिच २८ फेब्रुअरीदेखि सुरु युद्ध अन्त्य गर्न पाकिस्तानको राजधानी इस्लामाबादमा प्रत्यक्ष वार्ता सुरु भएको छ । दुवै पक्षले पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफसँग छुट्टाछुट्टै द्विपक्षीय बैठक गरेपछि शनिबार साँझ प्रत्यक्ष वार्तामा बसेका हुन् । इस्लामाबादमा भइरहेको युद्धविराम वार्तामा विश्व समुदायको नजर छ । यो १९७९ को इस्लामिक क्रान्तिपछि वासिंटन र तेहरानबिच उच्चस्तरीय पहिलो प्रत्यक्ष प्रत्यक्ष वार्ता हो ।
वार्तामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् । भान्ससँगै अमेरिकी टोलीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व राजदूत स्टिभ विट्कफ र ट्रम्पका ज्वाइँ जेरेड कुस्नर पनि समावेश छन् । इरानको ७० भन्दा बढी व्यक्तिको प्रतिनिधिमण्डलको नेतृत्व संसदीय सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघचीले गरिरहेका छन् ।
अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका उपराष्ट्रपति भान्सले वार्ताअघि पाकिस्तानी प्रधानमन्त्री सरिफलाई भेटेका थिए । इरानी संसद्का सभामुख गालिबाफ र विदेशमन्त्री अब्बास अराघचीलगायत इरानी अधिकारीले पनि सरिफसँग भेट गरेका थिए । त्यसपछि अमेरिका र इरानका उच्च अधिकारी प्रत्यक्ष वार्तामा बसेका हुन् ।
दुई घण्टा लामो पहिलो चरणको वार्तापछि अधिकारीहरूले ‘डिनर’ ब्रेक लिएका थिए । त्यसपछि उनीहरू दोस्रो चरणको वार्तामा बसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुवै पक्षले अधिकतम अडानबाट सुरुवात गरेका थिए । तर, लेबनानमा इजरायली आक्रमण, इरानलाई अत्यन्त आवश्यक पर्ने सम्पत्तिहरू अनफ्रिज गर्ने र हर्मुजको जलडमरु र अन्य धेरै मुद्दामा केही प्रगति भएको बताइएको छ । दोस्रो चरणको वार्तामा उनीहरूले लिखित सन्देश आदानप्रदान गरेका छन्, ताकि सहमतिको विन्दु र भाषा खोज्न सकियोस् । यद्यपि, मिडियासँग औपचारिक जानकारी सेयर गरिएको छैन ।
वार्तामा वस्नुअघि दुवै पक्षले आफ्ना ‘पोजिसन’ राखेका छन्, जहाँ केही मतभिन्नता देखिएका छन् । केही विश्लेषकले भने वार्ताअघि वासिंटन र तेहरान दुवैले मागमा लेनदेन हुन सक्ने सम्भावनाको आकलन गरेर अधिकतम माग राखेको हुन सक्ने औँल्याएका छन् । सुरक्षाविज्ञ मोहम्मद अलीले अल जजिरासँगको कुराकानीमा वार्तामा सहभागीले अधिकतम माग लिएर आउनु स्वाभाविक भएको बताउँदै अहिले युद्ध भड्किँदाको गम्भीर राजनीतिक जोखिमबारे दुवै पक्ष सचेत रहेको बताए ।
इरानले यसअघि सारेको ‘शान्तिका लागि दशबुँदे प्रस्ताव’मा स्ट्रेट अफ हर्मुजमाथि इरानी नियन्त्रण, मध्यपूर्वमा युद्ध गर्नकै लागि तैनाथ अमेरिकी सेनाको फिर्ती र इराननजिक मानिने सशस्त्र समूहविरुद्ध सैन्य कारबाही रोक्नुपर्नेलगायत माग राखेको छ । संयुक्त राज्य अमेरिकाले औपचारिक रूपमा यी सर्त स्वीकार गरेको छैन । तथापि ट्रम्पले दशबुँदे योजनालाई ‘व्यावहारिक’ भनेका छन् । वार्ताका लागि पाकिस्तान उड्नुअघि उपराष्ट्रपति भान्सले आफूले सकारात्मक परिणामको अपेक्षा गरेको प्रतिक्रिया दिएका थिए ।
उता ह्वाइटहाउसले वार्ताअघि इरानले प्रशोधित युरेनियमको भण्डार त्याग्न तयार रहेको दाबी गरेको छ । ह्वाइटहाउसकी प्रवक्ता क्यारोलिन लेभिटले यसलाई लेनदेन नहुने मागका रूपमा वर्णन गरिन् । इरानले भने प्रशोधित युरेनियम त्याग्ने मागलाई आधिकारिक रूपमा स्वीकार गरेको छैन ।
उता लेबनानमाथि इजरायलको जारी आक्रमणको विवाद त छँदै छ । इजरायलले उत्तरी छिमेकी लेबनानमा इरानसमर्थित सशस्त्र समूह हिजबुल्लाहमाथि आक्रमण रोकेको छैन । इरान र अमेरिकाबिच युद्धविराम गर्ने सहमति भएको भोलिपल्ट इजरायलले पछिल्लो युद्ध सुरु भएपछिकै ठुलो आक्रमण गर्यो । त्यस आक्रमणमा दुई सयभन्दा बढी मारिएका छन् ।
इरानी विदेशमन्त्री अरघाचीले लेबनानमाथि इजरायली आक्रमण जारी रहेमा तेहरानले युद्धविराम भंग गर्न सक्ने चेतावनी दिएका छन् । त्यस क्रममा अमेरिकाले युद्धविराम वा लेबनानमाथि इजरायली आक्रमणमध्ये एक छनोट गर्नुपर्ने उनले बताएका थिए । उता पाकिस्तानका लागि उड्नुअघि बुडापेस्टमा बोल्दै भान्सले अहिलेको युद्धविरामका सर्तले लेबनानलाई नसमेट्ने टिप्पणी गरे । धेरैले इजरायलले जारी वार्ता प्रक्रियालाई कमजोर पार्ने खेल खेलिरहेको आरोप लगाएका छन् ।
संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेको ठ्याक्कै ६ हप्तापछि दुई देशले गत मंगलबार युद्धविराममा सहमति जनाएका थिए । पाकिस्तानको कूटनीतिक पहलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई साताका लागि युद्धविराम गर्ने प्रस्तावमा सहमति जनाएका हुन् । ६ हप्ताको युद्धको अवधिमा इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलगायत हजारौँ इरानी मारिएका छन् ।
पाकिस्तान गएको इरानको ७१ सदस्यीय प्रतिनिधिमण्डलले द्वन्द्वको सुरुवातमा प्राथमिक विद्यालयमा अमेरिकी हमलामा मारिएका १६८ स्कुले छात्रा र शिक्षकका नाममा आफ्नो नाम ‘मिनाव १६८’ राखेको छ । प्रतिनिधिमण्डलको आकारले इरानले वार्तालाई धेरै गम्भीरताका साथ लिइरहेको देखाएको विश्लेषकहरूले बताएका छन् ।
जवाफमा इरानले इजरायललगायत खाडी क्षेत्रका आफ्ना छिमेकी देशहरूमाथि क्षेप्यास्त्र तथा मिसाइल आक्रमण गर्यो । आक्रमणबाट खाडी क्षेत्रका विश्वको सबैभन्दा ठुलो ऊर्जा निर्यात केन्द्र र व्यापार, पर्यटन र नवप्रवर्तनको महत्वपूर्ण केन्द्र तानिए । इरानको जवाफी कदममा सबैभन्दा प्रभावकारी भने विश्वको सबैभन्दा महत्वपूर्णमध्ये एक समुद्रमार्ग स्ट्रेट अफ हर्मुज बन्द रह्यो । सामान्य अवस्थामा विश्वमा खपत हुने कुल खनिज इन्धनको २० प्रतिशत हिस्सा बाहिरिने सो साँघुरो मार्ग बन्द भएपछि संसारभर ऊर्जाको भाउमा उलेख्य वृद्धि भयो । यसको प्रभाव अमेरिकालगायत विश्वभर देखियो ।
वार्ता सुरु हुनुअघिसम्म लेबनानको अवस्थालाई लिएर केही तनाव देखिएको थियो । लेबनानमा सक्रिय इरानसमर्थिक हिजबुल्लाह समूहविरुद्ध इजरायलले अझै व्यापक बमबारी गरिरहेको छ । इरानले युद्धविरामअनुरूप त्यहाँ पनि बमबारी रोकिनुपर्ने अडान लिइरहेको छ । इरानी टोलीका सदस्य सभामुख गालिबाफले सामाजिक सञ्जाल एक्समा वासिंटनले इरानी सम्पत्तिमाथिको अवरोध हटाउन र लेबनानमा युद्धविराम गर्न सहमत भएको दाबी गरेका थिए । तर, लेबनानमाथि इजरायलले आक्रमण रोकेको छैन ।
इजरायल र अमेरिकाले लेबनान अभियान इरान–अमेरिका युद्धविरामको हिस्सा नभएको बताएका छन् । ह्वाइटहाउसले इरानी मागबारे तत्कालै टिप्पणी गरेका छैनन् । तर, राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गरेर इरानीहरू जीवित हुनुको एक मात्र कारण सम्झौताका लागि वार्ता गर्नु भएको बताएका छन् । उता हिजबुल्लाहमाथिको आक्रमणको विरोधमा इरानले हर्मुजको जलमार्गमा अवरोध जारी राखेको छ । युद्धविराम गर्दा हर्मुज खुला गर्नुपर्ने अमेरिकी सर्त थियो ।
कसरी भइरहेको छ वार्ता ?
वार्ताका लागि अमेरिका र इरानी प्रतिनिधिमण्डल अलग–अलग कोठामा बसेका थिए । पाकिस्तानी अधिकारीहरूले एक–अर्काको सन्देश र अडान अर्कोसामु लगेका थिए । वार्तामा उपराष्ट्रपति भान्सको उपस्थितिलाई महत्वपूर्ण विकास मानिएको छ । २८ फेब्रुअरीमा इरानमाथि अमेरिका–इजरायलको आक्रमणअघि विट्कफ र कुस्नर इरानसँग वार्तामै थिए । वार्ता चलिरहेकै समयमा आक्रमण भएकाले इरानी पक्ष सो समूहसँग थप वार्ताबारे सशंकित थियो । ट्रम्प प्रशासनभित्र इरान युद्धको विरोध गर्दै आएका भान्सको उपस्थितिले इरानलाई वार्ताप्रति थप विश्वस्त बनाएको बताइन्छ । सन् २०२८ मा हुने अमेरिकी राष्ट्रपतीय चुनावमा रिपब्लिकन उम्मेदवारका बलियो दाबेदारका रूपमा हेरिएका भान्सले लामो समयदेखि मध्यपूर्वमा अमेरिकी सैन्य संलग्नताविरुद्ध मत राख्दै आएका छन् ।
पाकिस्तान मै किन भइरहेको छ वार्ता ?
पछिल्लो समय पाकिस्तान वासिंटन र तेहरानबिचको प्रमुख मध्यस्थकर्ताका रूपमा देखा पर्यो । इस्लामाबादले दुवै पक्षलाई सहजीकरण जारी राख्न तत्पर रहेको सरिफको कार्यालयले जनाएको छ । वार्ताको तयारीका लागि इस्लामाबादका फुटपाथ रंगाइएका छन् । पहिले नै शक्तिशाली सुरक्षा रहने पाकिस्तानी राजधानीमा उच्च सुरक्षा बनाइएको छ ।
विगतमा दुवै देशसँग तनावपूर्ण इतिहास रहे पनि इस्लामाबादले अहिले इरान र अमेरिका दुवैसँग सुमधुर सम्बन्ध विकास गरेको छ । इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि पाकिस्तानी सेना प्रमुख असिम मुनिरले तीव्र कूटनीतिक सक्रियता देखाए । यसक्रममा उनले अमेरिका र इरानी नेताहरूसँग धेरैपटक फोन गरेको पाकिस्तानी मिडियाले पुष्टि गरेका छन् ।
पाकिस्तान र इरानबिच सिमाना पनि जोडिएको छ । दुई देशबिच ९०० किलोमिटर लामो सिमाना छ । त्यस्तै, पाकिस्तान इरानपछि दोस्रो ठुलो सिया मुस्लिम जनसंख्या भएको देश पनि हो । यसले गर्दा सिया इस्लामको केन्द्र इरानमा हुने घटनाले पाकिस्तानमा पनि तरंग सिर्जना गर्छ ।
त्यसबाहेक पश्चिम एसियाका अन्य धेरै देशजस्तो पाकिस्तानी भूमिमा अमेरिकी सैन्य अड्डा छैन । यसले गर्दा इरानी नजरमा ऊ अन्य अरबी देशभन्दा थप विश्वसनीय हुने आधार रह्यो । उता अमेरिकासँगको सम्बन्धको चर्चा गर्दा सन् २००४ देखि इरान संयुक्त राज्य अमेरिकाको प्रमुख ‘गैर–नेटो सहयोगी’ देशको सूचीमा रहेको छ ।
वार्ताका लागि अमेरिकाका दोस्रो शीर्ष पदाधिकारी उपराष्ट्रपति जेडी भान्स आफैँ पाकिस्तान आएका छन् । भान्सअघि अमेरिकी उपराष्ट्रपति जो बाइडेन सन् २०११ मा पाकिस्तान भ्रमणमा आएका थिए । तथापि १५ वर्षपछि भएको अमेरिकी उपराष्ट्रपतिको भ्रमण अमेरिका–पाकिस्तान द्विपक्षीय सम्बन्धमा भन्दा पनि इरान युद्ध अन्त्यको वार्तामा केन्द्रित छ । वार्ता आयोजनास्थल प्रदान गरेर इस्लामाबादले अमेरिकासँगको सम्बन्धमा एक दुर्लभ र महत्वपूर्ण स्तर हासिल गरेको विश्लेषकले बताइरहेका छन् ।
सम्भावित परिणाम र अवरोध
विश्लेषकहरूका अनुसार दुबै पक्षबिच कायम गहिरो अविश्वासका कारण तत्काल नै अन्तिम सम्झौता हुन सक्ने सम्भावना कमजोर छ । जारी वार्ताले दुई साताको युद्धविराम लम्ब्याउने सम्भावना भने धेरैले उच्च देखेका छन् । यदि त्यस्तो सहमति बन्यो भने त्यसले दुवै पक्ष आक्रामकता नमच्चाउन इच्छुक रहेको संकेत गर्छ । लामो छलफलपछि भोलिका दिनमा कुनै सम्झौता भएमा त्यसलाई मध्यपूर्वका अन्य प्रमुख देशको पनि समर्थन आवश्यक पर्न सक्छ । साथै, इरानले भविष्यमा आफूमाथि पुनः आक्रमण हुन नदिनका लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्यहरूको पनि समर्थन खोज्न सक्ने चर्चा छ ।
अलजजिरालगायत अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा