इलेक्ट्रिक सिगरेट (भेप)मा लुकाएर सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका पुत्र राहुलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट भन्सार छलेर गैरकानुनी रूपमा ल्याइएको भेपको सुन जफत गरी भन्सार ऐनबमोजिम कारबाही गर्नुपर्नेमा आपसी मिलेमतोमा बाहिर पुर्याएर बिक्री गरी भ्रष्टाचार गरेको कसुरमा मुद्दा दायर गरेको हो ।
विमानस्थल भन्सार कार्यालयको यात्रु आगमन शाखामा १० पुस ०७९ मा फ्लाई दुबईको उडानबाट नेपाल आएका चिनियाँ नागरिक ली हाङ सङले दुईवटा सुटकेकभित्र ७३ बट्टामा ७३० थान भेपमा लुकाएर सुन ल्याएका थिए । भन्सार कार्यालयका कर्मचारीले भेपमा सुन भएको थाहा पाए पनि मिलेमतोमा सुन बाहिर निकालेर उक्त ठाउँमा सुन नभएको भेप सट्टापट्टा गरी तस्करी गरेका थिए । चिनियाँ तस्करसँग सुन विमानस्थलमा अवतरण भएकै दिन महराको फोन संवाद भएको र उनीमार्फत नै छोरा राहुलले तस्कर समूहसँग मिलेर विमानस्थल भन्सारका कर्मचारीलाई प्रभावमा पारी चलखेल गरेको अख्तियारको ठहर छ ।
अख्तियारले महरा बाबुछोरा र विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेलसहित २८ जनालाई प्रतिवादी कायम गरेको छ । पोखरेल बहालवाला सहसचिव हुन् । उनले नै आफू कार्यालय प्रमुख हुँदा सुन तस्करी भएको घटनाको जाहेरी २६ वैशाख ०८० मा प्रहरीलाई दिएका थिए । त्यही जाहेरीका आधारमा २७ असार ०७९ मा मुद्दा चलेको थियो । तर, यसपटक अख्तियारले उनलाई नै प्रतिवादी कायम गरिदिएको छ ।
तस्करी भएको आठ हजार ४८० ग्राम सुनको हुन आउने मूल्य सात करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँबराबरको सम्पत्ति हिनामिना हानि–नोक्सानी भएको भन्दै संयुक्त बिगो सात करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ कायम गरेर मुद्दा चलाइएको छ । यस प्रकरणमा यसअघि नै तीनवटा मुद्दा दायर भइसकेकाले यो चौथो मुद्दा हो ।
महरा बाबुछोरा र पोखरेलसहित तत्कालीन प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनाल तथा भन्सार अधिकृतद्वय रमेशकुमार खतिवडा र सुवेन्द्र श्रेष्ठ, नासुहरू सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोइराला, रेवन्त खड्का र मधुसुदन पोख्रेल प्रतिवादी छन् । त्यस्तै, निर्मलकुमार विक, लोकेन्द्रकुमार पौडेल, दीपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, रामकेशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दीपिका थापा पनि मुद्दाका प्रतिवादी छन् । चिनियाँ नागरिक ली हाङ सङ र दाओजिङ वाङ, बेल्जियमका नागरिक दावा छिरिङ, भारतीय नागरिक साहेब साब पान्डुरङ मरगले र डेक्स्टर ट्राभन्स एन्ड टुर्स प्रालिविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।
यस्ता छन् उक्त सुन तस्करीमा अख्तियारले औँल्याएका बदमासी
अख्तियारले मुद्दा चलाउँदा नेपाल सरकारबाट गठित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० र भन्सार विभागका निर्देशकसमेतले पेस गरेको २३ साउन ०८० को छानबिन प्रतिवेदनसमेतलाई आधार लिएको छ । अघिल्लो मुद्दामा अदालतले गरेको फैसलालाई पनि अख्तियारले आधारका रूपमा लिएको छ ।
चिनियाँ नागरिक ली हाङ सङले दुईवटा सुटकेसभित्र ७३ बट्टामा ७३० थान भेपजस्तो देखिने वस्तुमा सुन लुकाइछिपाइ लिएर आएका थिए । त्यसलाई भन्सार कार्यालयका तत्कालीन पहिलो जाँचकी (एक्सरे स्क्रिनर) नासुले परीक्षण गरेका थिए । एक्सरे स्क्रिनमा ब्यागेजभरि एउटै साइजको निलो रंगको कभरजस्तो आकारभित्र कालो शंकास्पद वस्तु देखेपछि भौतिक रूपमा पनि चेकजाँच गरी यकिन गरेर आवश्यक कारबाही गर्नुपर्ने भनी ‘आरसी’ (पुनर्जाँच) लेखेका थिए ।
‘आरसी’ क्षेत्रमा खटिएका भन्सारका अधिकृत सुबेन्द्र श्रेष्ठसमेतले अरू व्यक्तिहरूसमेतको मिलेमतोमा भेपभित्र सुन लुकाइछिपाइ ल्याएको जानकारी पाएका थिए । एक्सरे मेसिनले चेकजाँचका क्रममा स्पष्ट रूपमा अर्गानिक र इनअर्गानिक वस्तु छुट्याउन सक्छ । सुनचाँदीलगायतका धातु तथा सोबाट तयार भएका गहनालगायतका सामग्रीको बाक्लोपनका आधारमा निलो, गाढा निलो र कालो रङ देखाउँछ । त्यस्तो, देखिएमा भौतिक रूपमा खोली चेकजाँच गर्नुपर्छ र ऐनबमोजिम लिलामीको प्रक्रियामा जानुपर्छ । तर, कर्मचारीहरूले भन्सार ऐनविपरीत चेकजाँच नै नगरी पछि अनुकूल समयमा सट्टापट्टा तथा परिवर्तन गरेर लिएर जाने गरी सुरक्षित गरेर जफत गर्ने निर्णय गरेका थिए । भन्सारका अधिकृत श्रेष्ठसमेतले अरू व्यक्तिहरूसमेतको मिलेमतोमा बदनियत राखी पद तथा ओहोदाको दुरुपयोग गरी यस्तो काम गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
जफत सामग्रीलाई तोकिएको गोदाममा बन्द गरी सुरक्षित राख्नुपर्ने थियो । तर, त्यसो नगरी दूषित मनसायले लामो समयसम्म प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठको कार्यकक्षमा राखेका थिए । त्यसपछि सुन ल्याउने तथा छुटाउने समूहका प्रतिवादीहरूसमेतसँग अस्वाभाविक भेटघाट र टेलिफोन सम्पर्क गरी कानुनविपरीत सुन लिएर आउने चिनियाँ नागरिक ली हाङ सङको राहदानीसमेतका प्रमाण लोप गर्ने बदनियतले उनैलाई फिर्ता दिएको पुष्टि भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
जफत गरिएको सुन बेरितपूर्वक आफ्नो कार्यकक्षमा राखी २० माघ ०७९ मा मात्र मुद्दा तथा लिलामी शाखामा पठाएको देखिएको छ । लुकाइछिपाइ भेपमा सुन ल्याएको सामग्री प्राप्त भइसकेपछि उपयुक्त समयमा सामग्री परिवर्तन गर्ने बदनियतले गोदाम कोठामा रहेको सिसिटिभीले नदेखिने स्थानमा स्थानान्तरण गरिएको थियो । कार्यालयका सुरक्षागार्ड निर्मलकुमार विकले नासु मधुसुदन पोख्रेलसमेतसँग मिलेमतो गरी एउटा भेप झिक्न लगाएर कोटेश्वरको सुनचाँदी पसलमा लगेर परीक्षण गर्दा ९९.६ लाल सुन रहेको खुलेको थियो । त्यसैलाई उनले सिक्री बनाएर लगाएका थिए ।
अख्तियारको आरोपपत्रअनुसार यसपछि महरा जोडिन्छन् । चिनियाँ नागरिक भेपमा सुनसहित विमानस्थल अवतरण भएकै दिन १० पुस ०७९ देखि नै महरा र उनीमार्फत सहोदर पुत्र राहुलले अस्वाभाविक चलखेल सुरु गरेका थिए । राहुलले चिनियाँ नागरिकहरू दाओजिन वाङ, ली हाङ सङ, बेल्जियम नागरिक दावा छिरिङ र निमा गुरुङलगायतका प्रतिवादीहरूसँगको मिलेमतो र योजनामा चलखेल गरेका थिए । यस क्रममा भन्सार कार्यालयका कर्मचारीलाई महराले प्रभावमा पारेको अख्तियारको दाबी छ । भेपमा लुकाइछिपाइ ल्याएको सुनसमेतका सामग्री गैरकानुनी तवरबाट भन्सार कार्यालयबाट लिएर जाने बदनियतले महरा बाबु–छोराले भन्सार कार्यालयका कर्मचारीहरूसँग पटक–पटक भेटघाट तथा फोन सम्पर्क गरेको पुष्टि भएको अख्तियारको दाबी छ ।
योजना बनाएर जफत गरी सुरक्षित राखिएको सामग्री भेप गोदाम कोठाबाट झिकेर परिवर्तन गरी सुन नभएको भेप राखिदिएका थिए । यसपछि आफ्नो कसुर लुकाउने छिपाउने बदनियतले सामग्री लिलाम भएको देखाएका थिए । आपसी मिलेमतो र योजनाबमोजिम मुद्दा तथा लिलामी शाखाका नासु रेवन्त खड्का, व्यापारी दिनेश बस्नेतसमेतले अर्का व्यापारी वेदप्रकाश अग्रवालसमेतसँग साँठगाँठ गरी काठमाडौंको भद्रकाली चोक ओटुमा पशुपति सुनचाँदी पसल चलाउने भारतीय नागरिक साहेबराव पान्डुरङ मरगले र स्पष्ट नाम, थर, वतन नखुलेका अन्य भारतीयलाई उक्त सुन बिक्री गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
भ्रष्टाचारजन्य कसुरबाट प्राप्त गैरकानुनी सम्पत्ति राष्ट्रसेवक र गैरराष्ट्रसेवक प्रतिवादीहरूको मिलेमतोबमोजिम दीपिका थापा, प्रेरणा थापा, ललिता थापा, डेक्सटर ट्राभल्स एन्ड टुर्स प्रालिसमेतको खातामा रकम जम्मा गरिएको थियो । रामकेशव थापा क्षेत्री र अमृत कार्कीको नाममा जग्गा खरिदलगायतका आर्थिक कारोबारहरूको माध्यमबाट कसुर गरी प्राप्त सम्पत्तिको रूपान्तरण तथा हस्तान्तरण गरी व्यवस्थापन गरे–गराएको अख्तियारको आरोप छ ।
एउटै सुन तस्करी घटनामा चौथो मुद्दा
सुन तस्करीको यही एउटै घटनामा यसअघि तीन मुद्दा दायर भइसकेका छन् । यस घटनाको पहिलो मुद्दा २७ असार ०७९ मा काठमाडौं जिल्ला अदालतमा दायर भएको थियो । उक्त मुद्दामा विमानस्थल कार्यालयका तत्कालीन नासु रेवन्त खड्कासहित सात प्रतिवादी थिए । त्यसको तीन महिनापछि पूरक अभियोग लगेर २३ असोजमा महरापुत्र राहुलसहित चारजनाविरुद्ध मुद्दा दायर गरिएको थियो । यो मुद्दा अदालतले ठहर गरिसकेको छ । १३ भदौ ०८१ मा अदालतको फैसलाले राहुललाई एक वर्ष दुई महिना कैद सजायको ठहर गरेकामा उनले उक्त सजाय भुक्तान गरिसकेका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राहुलसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दायर गरेको छ । भेपमा लुकाएर सुन तस्करी गरेकामा संलग्न र अप्रत्यक्ष रूपमा सघाउने भूमिकामा रहेकाहरूविरुद्ध १९ चैत ०८१ मा विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
भेपमा सुन ल्याएर तस्करी गरेकै आरोपमा गत २६ असोजमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले रामबहादुर महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । त्यस मुद्दामा उनीविरुद्ध आठ करोड ५५ लाख रुपैयाँ बिगो र तीन वर्षभन्दा बढी कैद सजाय दाबी छ । बिहीबार दायर भएको मुद्दा चौथो हो ।