सरकारले उद्योगको सुरक्षाका लागि औद्योगिक सुरक्षा बल बनाउने भएको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले गरेको निर्णयका आधारमा गृह मन्त्रालयले यससम्बन्धी गृहकार्य अघि बढाउन थालेको हो ।
गत १३ चैतमा बसेको पहिलो मन्त्रिपरिषद्ले तय गरेको एक सय कार्यसूचीको ६१ नम्बर बुँदामा भनिएको छ, ‘गृह मन्त्रालयले औद्योगिक तथा तथा व्यावसायिक सुरक्षा सुदृढीकरणका लागि आवश्यक संरचना तथा द्रुत प्रतिकार्य संयन्त्र ३० दिनभित्र विकास गर्ने ।’ यही बुँदाअनुसार सशस्त्र प्रहरीको नेतृत्वमा औद्योगिक सुरक्षा बल ब्युँताउन लागिएको गृह मन्त्रालय स्रोत बताउँछ ।
औद्योगिक क्षेत्रको सुरक्षाका लागि ०६९ को असोजमा सरकारले सशस्त्र प्रहरीलाई औद्योगिक सुरक्षामा खटाएको थियो । पछि ०७७ बाट औद्योगिक सुरक्षाबाट फौज हटाइएको थियो ।
व्यवसायीको मनोबल बढाउने उद्देश्यले अहिले पुनः ब्युँताउन लागिएको छ । जसका लागि गृह मन्त्रालयमा आइतबार पनि बैठक बसेको थियो ।
अहिले सशस्त्र प्रहरीलाई नै औद्योगिक सुरक्षामा खटाउन लागिएको छ । तर, सशस्त्र प्रहरीको जनशक्ति कम रहेकाले दरबन्दी थप नगरी औद्योगिक सुरक्षामा खटाउन समस्या देखिएको छ ।