राष्ट्रिय सभामा पुराना दलको भागबन्डा : उपाध्यक्ष एमालेको भागमा, चार समितिको नेतृत्व कांग्रेस, नेकपा र जसपालाई

सोमबार, २३ चैत, २०८२
डिजिटल संस्करण

पुराना दलहरूले राष्ट्रिय सभामा भागबन्डा गरेका छन् । उपाध्यक्षमा एमाले सभासद् लीला भण्डारी सर्वसम्मत चयन भएकी छिन् भने चार समितिको नेतृत्व कांग्रेस, नेकपा र जसपालाई दिने सहमति गरेका हुन् । 

राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष विमला घिमिरेको सांसद पदको कार्यकाल २० फागुनमा सकिएपछि उक्त पद रिक्त थियो । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेका डा. प्रेम दंगाल, नेकपाका झक्कुप्रसाद सुवेदी तथा जसपा नेपालका मोहम्मद खालिद र पूजा चौधरीसहितको सहभागितामा सम्पन्न सर्वदलीय बैठकले उपाध्यक्षमा भण्डारीको नाममा सहमति गरेको थियो । 

उक्त सहमतिअनुसार आइतबार उम्मेदवारी दिएकी भण्डारी अन्य कसैको उम्मेदवारी नपरेपछि सर्वसम्मत चयन भएकी हुन् । यसअघि उपाध्यक्ष रहेकी घिमिरे पनि एमालेबाटै प्रतिनिधित्व गर्थिन् । निर्वाचन कार्यक्रमअनुसार सोमबार भण्डारी सर्वसम्मत भएको घोषणा भई पदबहाल हुनेछिन् । 

त्यस्तै, सर्वदलीय बैठकले चार समितिका सभापतिहरूको पनि भागबन्डा गरेको छ । कांग्रेसले दुई तथा नेकपा र जसपा नेपालले १/१ समितिको नेतृत्व लिने सहमति जुटेको राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता डा. दंगालले जानकारी दिए । 

सहमतिअनुसार कांग्रेसले विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समिति, नेकपाले संघीयता सबलीकरण र राष्ट्रिय सरोकार समिति लिनेछन् भने जसपा नेपालले सार्वजनिक नीति तथा प्रत्यायोजन व्यवस्थापन समितिको सभापति लिनेछन् । समितिको नेतृत्वमा सोमबार उम्मेदवारी दर्ता गर्ने र मंगलबार छनोट गर्ने राष्ट्रिय सभा सचिवालयले निकालेको निर्वाचन कार्यतालिका छ ।

उपाध्यक्षमा चयन भण्डारी माओवादी छाडेर गएकी थिइन् एमालेमा 
राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भण्डारी ०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीका तर्फबाट कैलालीबाट सभासद् निर्वाचित भएकी थिइन् । त्यसलगत्तै, उनी झलनाथ खनाल नेतृत्वको सरकारमा शिक्षा राज्यमन्त्री बनेकी थिइन् ।

०७४ को निर्वाचनमा एमालेबाट समानुपातिक सांसद बनेकी उनी पार्टीको पूर्वपोलिटब्युरो सदस्य पनि थिइन् । अहिले एमाले केन्द्रीय सदस्य रहेकी उनी पछिल्लोपटक राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी हुन् । 
 

सुझावित समाचार