बाजुरामा पहिरोले लघु जलविद्युत् आयोजनामा क्षति, २०० बढी परिवार अन्धकारमा

आइतबार, २२ चैत, २०८२
डिजिटल संस्करण

बाजुराको गौमुल गाउँपालिका– ३ मा रहेको लघु जलविद्युत् आयोजनाको पावर हाउसमा पहिरो खस्दा आयोजनाका विभिन्न उपकरणहरू पूर्ण रूपमा क्षति भएको छ। आइतबार बिहान करिब ६०ः३० बजेतिर पावर हाउसमाथिबाट खसेको पहिरोका कारण विद्युत् अवरुद्ध हुनुका साथै लाखौँको क्षति भएको छ।

शनिबार रातिदेखिको वर्षाका कारण विद्युत् नहरको पाइप फुटेर पहिरो खसेको हो। आयोजनाको भवनमाथिबाट खसेको पहिरोले विद्युत् अवरुद्ध भएको वडा नं ३ का अध्यक्ष गोरखबहादुर बोहराले बताए। लघु जलविद्युत् आयोजनाका अध्यक्ष लालबहादुर रोकायाका अनुसार पहिरोले भवनसँगै जेनेरेटर, ट्रान्समिटर, मदरबोर्ड, एलसीलगायतका महत्वपूर्ण उपकरणहरूमा क्षति पुर्याएको छ।

३१.५ किलोवाट क्षमताको उक्त जलविद्युत् आयोजना २०६९ चैत २५ गतेदेखि सञ्चालनमा आएको थियो। आयोजनाबाट वडा नम्बर ३ का दुई सय बढी घरधुरी लाभान्वित हुँदै आएका थिए। 

स्थानीयस्तरमा वैकल्पिक ऊर्जाको कुनै व्यवस्था नभएकाले अहिले यहाँका नागरिकहरू अँध्यारोमा बस्नुपर्ने अवस्था आएको छ। विद्युतबाट सञ्चालन हुने सबै उपकरणहरू बिहानैदेखि बन्द छन्। विद्युत् आपूर्ति बन्द हुँदा विद्यालय, स्वास्थ्य संस्था तथा वडा कार्यालयका दैनिक कामकाजसमेत प्रभावित भएका वडाध्यक्ष बोहराले बताए।

सुझावित समाचार