पश्चिम एसियाबाट १५ दिनभित्र नेपालीको उद्धार गर्ने तयारी

शनिबार, २१ चैत, २०८२
डिजिटल संस्करण

परराष्ट्र मन्त्रालयले पश्चिम एसियाका मुलुकमा आपत्कालीन अवस्थामा स्वदेश फर्किनुपर्ने नेपाली नागरिकलाई १५ दिनभित्र उद्धार गर्ने निर्णय गरेको छ । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्समार्फत योजनाबद्ध उद्धार उडान सञ्चालन गर्दै रोजगार गुमाएका, बिरामी र अशक्त नेपालीलाई न्यूनतम भाडादरमा ल्याउने व्यवस्था गरिएको छ ।

‘नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सबाट नेपालीलाई पश्चिम एसियाली मुलुकबाट उद्धार गरिनेछ । आपत्कालीन रूपमा नेपाल आउनुपर्नेलाई १५ दिनभित्र उद्धार गरेर ल्याउने व्यवस्था गरिएको छ,’ परराष्ट्रका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने । 

नेपालीको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको पनि उनले बताए । परराष्ट्रमन्त्री शिशिर खनालको पहलमा शुक्रबार नेपाल एयरलाइन्सको जहाज दुबई गएको र शनिबार फर्किने तथा आइतबार साउदी अरबको दमाम उडान भरेर साँझ काठमाडौं फर्किने व्यवस्था मिलाइएको पनि प्रवक्ता क्षेत्रीले बताए । 

परराष्ट्रको पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्काका अनुसार नेपाली नियोगहरूको सिफारिसमा हरेक उडानमा पाँचजनालाई न्यूनतम भाडादरमा आउने व्यवस्था मिलाइएको छ । ‘विशेषतः रोजगार गुमाएका, बिरामी परेका तथा विपन्न नागरिकको हकमा हरेक उद्धार उडानमा सम्बन्धित नेपाली नियोगको सिफारिसमा पाँचजनालाई न्यूनतम भाडादरमा स्वदेश आउने व्यवस्था गरिएको छ,’ खड्काले भने । 

उनका अनुसार पश्चिम एसियाली मुलुकहरूमा कार्यरत नेपालीको अवस्था, उनीहरूको सम्भावित उद्धार, त्यहाँको द्वन्द्वले नेपालमा पर्ने बहुआयामिक प्रभावबारे परराष्ट्रमन्त्री शिशिर खनालको अगुवाइमा अध्ययन सुरु भएको छ । खनाल नेतृत्वमा गठित उच्चस्तरीय कार्यदलले समग्र विषयमा अध्ययन थालेको उनले बताए । संकट बढ्दै गएमा छिमेकी मुलुकसहित अन्य मुलुकले अपनाउने रणनीतिको अध्ययन गर्ने र त्यही अनुसार नेपालले आफ्नो तयारी गर्ने पनि खड्काले बताए । 

परराष्ट्रमन्त्री खनालले पदबहाली गरेसँगै परराष्ट्रले पश्चिम एसियामा नेपालीलाई परेको प्रभाव र नेपाललाई पर्ने प्रभावबारे अध्ययन गर्नेबाहेक सेवा प्रवाहबारे १० निर्णय गरेको छ । १५ दिनदेखि तीन महिनासम्म सम्पन्न हुने १० कार्ययोजनामा काम भइरहेको परराष्ट्र प्रवक्ता क्षेत्रीले बताए । 

उनका अनुसार राहदानी ऐन, २०७६ संशोधन गर्न विधेयक एक महिनाभित्र दर्ता गर्न लागिएको छ । अनलाइनमार्फत कन्सुलर सेवा विभागमा कागजात प्रणालीकरण थप सरल र सहज बनाउने कार्य डेढ महिनाभित्र सम्पन्न हुनेछ । तीन महिनाभित्र सबै सेवा प्रवाह प्रविधिमैत्री, सहज बनाउन आर्टिफिसियल इन्टेलिजेन्सको समेत प्रयोग गर्ने गरी गृहकार्य सुरु भएको छ । कन्सुलर सेवा विभागको मोबाइल एप एक महिनाभित्र तयार हुनेछ भने डेढ महिनाभित्र राहदानी विभागले राहदानीका लागि राजस्व दस्तुर अनलाइनमा भुक्तानी गर्ने व्यवस्था मिलाउनेछ । 

अध्ययन, वैदेशिक रोजगारीमा गएका, पर्यटनलगायतमा गएकाहरूको हकमा रेस्क्यु फन्ड स्थापना हुनेछ भने विदेशस्थित जेलमा रहेका, मृत्यु भएका, घाइतेहरूको क्षतिपूर्तिबारे सहजीकरण गर्ने अनलाइन प्रणाली तीन महिनाभित्र तयार हुनेछ ।

३८ शव ल्याउन बाँकी 
पश्चिम एसियामा विभिन्न कारणले मृत्युवरण गरेका, तर जारी द्वन्द्वका कारण ३८ नेपालीको शव ल्याउन बाँकी छ । परराष्ट्रका अनुसार दुबईमा १५, साउदी अरबमा १७, कतारमा दुई, साइप्रसमा दुई, इजरायलमा एक, बहराइनमा एक गरी जम्मा ३८ जनाको शव ल्याउन बाँकी छ । अब उद्धार उडानमार्फत शव ल्याउन गम्भीर गृहकार्य भएको प्रवक्ता क्षेत्रीले बताए । उद्धारलगायतका लागि सरकारले पश्चिम एसियाली मुलुकमा रहेका नेपाली नियोगहरूलाई १० लाख रुपैयाँको दरले बजेट व्यवस्था गरेको छ ।

परराष्ट्रका अनुसार हाल इरानमा ११ जना नेपाली छन् । द्वन्द्व सुरु हुनुभन्दा अघि नै इरानी प्रहरीले पक्राउ परेका अमृत झा हाल हिरासतमा छन् । झासँग वकिलले भेटेको तथा उनी सुरक्षित रहेको जानकारी प्राप्त भएको परराष्ट्र प्रवक्ता क्षेत्रीले बताए । इरानी अदालतले झाविरुद्धको सजाय सुनाइसकेको छैन ।
 

See More On

सुझावित समाचार