- राष्ट्रपति भवन शीतलनिवासमा दिउँसो १२:३४ मा प्रधानमन्त्रीको शपथ लिएपछि बालेनले २:१५ बजे सिंहदरबारमा पदबहाली गर्ने, मन्त्रालयहरूले प्रधानमन्त्री कार्यालयमा बुझाए नयाँ सरकारले तत्काल गर्नुपर्ने सुधारका पाँच–पाँच एजेन्डा
प्रतिनिधिसभाको झन्डै दुईतिहाइ सिटको बलमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शुक्रबार प्रधानमन्त्री बन्दै छन् । निर्वाचनमै बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेको रास्वपाले बिहीबार संसदीय दलको नेता चयन गरेपछि प्रधानमन्त्रीको शपथ लिने कानुनी बाटो खुलेको हो ।
प्रतिनिधिसभा सदस्यहरूको शपथपछि बिहीबार साँझ सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकले बालेनलाई सर्वसम्मत दलको नेता चयन गरेको थियो । रास्वपा नेतृ सोविता गौतमका अनुसार सुरुमा केन्द्रीय समितिले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा दलको नेता चयन गर्न संसदीय दलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै संसदीय दलको बैठकले उक्त प्रस्ताव पारित गर्दै राजनीतिक दलसम्बन्धी ऐनको दफा २५(१) बमोजिम संसदीय दलको नेता चयन गरेको थियो । रास्वपाले उक्त निर्णय राष्ट्रपति कार्यालयलाई समेत जानकारी गराइसकेको छ ।
राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथका लागि शुक्रबार ११:१५ बजेभित्र शीतलनिवासमा उपस्थित हुन सूचना जारी गरेको छ । ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूसमक्ष नवनियुक्त प्रधानमन्त्रीज्यूबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको हुँदा समुपस्थितिको लागि सादर अनुरोध गर्दछु’ भनेर राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थले सूचना पठाएका छन् ।
बालेन संविधानको धारा ७६(१) अनुसार प्रधानमन्त्री नियुक्त हुनेछन् । ‘राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछन् र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुनेछ,’ ७६(१) मा भनिएको छ ।
१२:३४ बजे शपथ : प्रधानमन्त्रीसँगै मन्त्रीहरूले पनि लिने
दिउँसो १२:३४ बजे बालेनलाई राष्ट्रपति पौडेलले शपथग्रहण गराउने रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार शपथग्रहण समारोहमा सातवटा शंखबाट शंखनाद गरिनेछ । त्यस्तै, १०८ बटुकबाट स्वस्तिशान्ति वाचन र १६ बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिने उनले बताए ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले पनि शपथको तयारी भइरहेको बताए । ‘राष्ट्रपति कार्यालयको प्रांगणमा शपथ हुन्छ, सबै तयारी भइरहेको छ,’ उनले भने ।
महामन्त्री बुर्लाकोटीका अनुसार प्रधानमन्त्रीसँगै मन्त्रीहरूले पनि शपथ लिनेछन् । मन्त्रीका नाम टुंग्याउन सभापति लामिछाने र वरिष्ठ नेता बालेनबिच छलफल भइरहेको उनले बताए । विज्ञता, समावेशिता, भूगोल मिलाएर मन्त्रिपरिषद्ले पूर्णता पाउने उनको भनाइ छ ।
२:१५ बजे सिंहदरबारमा पदबहाली : प्रधानमन्त्री कार्यालयले केही मन्त्रालयसँग माग्यो सुधारका पाँच–पाँच एजेन्डा
शपथपछि बालेनले २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदबहाली गर्ने कार्यतालिका छ । प्रधानमन्त्रीको पदभार ग्रहणका लागि तयारी भइसकेको मुख्यसचिव सुमनराज अर्यालले जानकारी दिए । पदबहालीपछि प्रधानमन्त्रीको निर्देशनअनुसार काम हुने पनि उनले बताए । भोलि नै मन्त्रिपरिषद् बैठक बस्ने सम्भावनाको विषय पनि प्रधानमन्त्रीको निर्देशनअनुसारै हुने मुख्यसचिव अर्यालको भनाइ छ ।
प्रधानमन्त्री कार्यालयले नयाँ प्रधानमन्त्री र मन्त्रिपरिषद् गठन भएपछि त्यहाँबाट निर्णय गर्ने गरी केही मन्त्रालयहरूसँग सुधारका कम्तीमा पाँच–पाँचवटा एजेन्डा मागेको छ । ती एजेन्डा तत्तत्् मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा पठाएका छन् । तिनलाई पनि प्रधानमन्त्री कार्यालयले समेटेर नयाँ प्रधानमन्त्री र मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ ।
मुख्यसचिव सुमनराज अर्यालले प्रधानमन्त्रीका लागि कार्यालयका तर्फबाट आवश्यक तयारी र व्यवस्थापन भइसकेको बताए । उनका अनुसार प्रधानमन्त्रीका लागि कार्यकक्ष र मन्त्रिपरिषद् बैठक बस्ने पूर्वाधारको प्रबन्ध गरिएको छ । मन्त्रिपरिषद् बैठकका लागि भने सम्भावित आकार हेरेर विकल्पसहित हलको व्यवस्थापन गरिएको छ । बिहीबार दिउँसो बालेनको तर्फबाट एक टोली प्रधानमन्त्री कार्यालय हेर्नसमेत गएको थियो । कार्यालयमा बालेनका लागि वास्तुअनुसार सामान्य आसन परिवर्तन गरिएको छ ।
०६४ पछि एकै दिन शतप्रतिशत सांसदको शपथ
प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । २१ फागुनको निर्वाचनबाट चुनिएका रास्वपाका १८२, कांग्रेसका ३७, एमालेका २५, नेकपा १७, श्रम संस्कृतिका सात, राप्रपाका ५ र स्वतन्त्र १ सदस्यले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको साँघुरो हलमा शपथ लिएका हुन् । कांग्रेसबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार राष्ट्रपतिबाट शपथ लिएका थिए, उनले बाँकी सांसदहरूलाई शपथ गराए । २९५ कुर्सी राखिएको शपथ समारोह हलमा २७५ सांसद र संसद् सचिवालयका उच्च कर्मचारी मात्रै उपस्थित थिए । सुरुकै दिन सबै सांसदहरूले शपथ खाएको ०६४ यता यो पहिलोपटक भएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

राष्ट्रका नाममा प्रधानमन्त्री कार्कीको सम्बोधन : युवा नेतृत्वको नयाँ सरकारले जेन–जी आन्दोलनको माग र आकांक्षाअनुसार काम गर्ने विश्वास छ
प्रधानमन्त्री सुशीला कार्की शीतलनिवासबाटै टोखा जाने
प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनको माग सम्बोधन गर्ने गरी नयाँ सरकारले भ्रष्टाचारको अन्त्य, आर्थिक विकास र सामाजिक न्यायको क्षेत्रमा नतिजामुखी काम गर्ने विश्वास व्यक्त गरेकी छिन् । देशले निर्वाचित सरकार पाउन लागेको पूर्वसन्ध्यामा बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले त्यसका लागि आफू नेतृत्वको सरकारले केही आधारशिला तयार गरेको बताएकी छिन् ।
‘युवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले जेन–जी आन्दोलनको माग र आकांक्षाबमोजिम मुलुकमा भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना, देशभित्रै रोजगारी सिर्जना, आर्थिक विकास र सामाजिक न्यायको क्षेत्रमा नतिजामुखी कार्य गर्नेछ भन्ने विश्वास लिएकी छु । यसका लागि सरकारको पूर्ण सफलताको कामना पनि गर्दछु,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘६ महिने अवधि रहेको चुनावी सरकारले जेन–जी आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था थिएन । तर, हामीले केही आधारशिला अवश्य तयार गरेका छौँ ।’
अन्तरिम सरकारको कार्यभार पूरा भएको र निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त भइसकेको हुँदा नयाँ सरकारलाई स्वागत गर्न आफू आतुर रहेको प्रधानमन्त्री कार्कीले बताइन् । ‘आज पूर्ण आत्मविश्वासका साथ यो देशको उज्यालो भविष्य देखिरहेकी छु– जहाँ हाम्रो एकता, इमानदारी र प्रत्येक नागरिकको परिश्रमले नयाँ इतिहास लेख्नेछ,’ उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनको मर्म र भावनाबमोजिम परिवर्तनको पक्षमा स्पष्ट जनादेश आएको उल्लेख गरेकी छिन् । ‘यो निर्वाचनमा जेन–जी आन्दोलनको मर्म र भावनाबमोजिम परिवर्तनको पक्षमा नागरिकले स्पष्ट जनादेश दिनुभएको छ । यो संविधानमा भएको निर्वाचन प्रणालीले कुनै दलले बहुमत प्राप्त गर्न सक्दैन भन्ने भाष्यलाई समेत गलत साबित गरिदिएको छ,’ उनले भनिन् ।
उनले मुलुकका सबै संस्था र सबै पक्षले आ–आफ्नो संवैधानिक मर्यादाको परिपालना गर्दै अगाडि बढ्नुको विकल्प नरहेको बताएकी छिन् । ‘यसबाट मात्र सुशासनको जग मजबुत हुन्छ भन्ने हेक्का राख्न विनम्र अनुरोध गर्दछु,’ कार्कीले भनिन् ।
२४ मंसिरमा जेन–जी आन्दोलनकारीसँग भएको सम्झौता स्मरण गर्दै प्रधानमन्त्री कार्कीले केही काम अधुरा रहेको र आगामी सरकारले प्राथमिकता साथ अघि बढाउने विश्वास लिएको पनि बताएकी छिन् । आफू नेतृत्वको सरकारले जटिल अपराध र भ्रष्टाचारको छानबिन गर्ने निकायलाई पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ काम गर्न प्रेरित गरेको उनको भनाइ छ । ‘परिणामस्वरूप अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लामो समयदेखि दबाएका प्रकरणमा मुद्दा अघि बढाएका छन्,’ उनले भनिन्, ‘ठेक्का लिएर काम नगर्ने, बिजुली बालेर बिल नतिर्नेजस्ता बेथितिविरुद्ध पनि सरकारले ऐतिहासिक रूपमा कठोर कदम चालेको छ ।’
जाँचबुझ आयोगको प्रतिवेदनमा सरकारले आवश्यक कदम चाल्ने विश्वास
प्रधानमन्त्री कार्कीले नयाँ सरकारले जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा आवश्यक कदम चाल्ने विश्वाससमेत व्यक्त गरेकी छिन् । ‘आन्दोलनका क्रममा भएको बल प्रयोग, तोडफोड, आगजनी, लुटपाटलगायतका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भइसकेको छ,’ उनले भनेकी छिन्, ‘आगामी सरकारले प्रतिवेदनको पूर्ण अध्ययन गरी सिफारिस र सुझावका सन्दर्भमा आवश्यक कदम चाल्ने नै छ ।’
जेन–जी आन्दोलनबाट प्रभावित उद्योग, व्यापार र प्रतिष्ठानलाई राहत, कर छुट, सहुलियत तथा सुविधा प्रदान गरी आर्थिक गतिविधि सहज रूपमा सञ्चालन गर्न र उद्योगी–व्यवसायीको मनोबल उच्च राख्न एकीकृत व्यावसायिक पुनरुत्थान योजना कार्यान्वयनमा ल्याइएको पनि प्रधानमन्त्री कार्कीले स्मरण गराएकी छिन् । त्यस्तै, जेन–जी आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचना तथा भौतिक पूर्वाधारको पुनर्निर्माण प्राथमिकताका साथ अगाडि बढाइएको उनले बताएकी छिन् । ‘यो कठिन घडीमा हामीले निकै सानो र छरितो टिम बनाएर रातदिन खटेर, आलोचना र प्रहार सहेर, पीडा खपेर, देशकै निम्ति भनेर काम गरेका छौँ । कुनै सुविधाको लोभ नगरी मितव्ययी ढंगले हामी चलेका छौँ । यस क्रममा सबै काम राम्रो र त्रुटिरहित ढंगले गर्यौँ भन्ने पनि दाबी छैन,’ उनले भनिन्, ‘तर, यहाँहरूसामु के निवेदन गर्दछु भने हामीले गलत नियत राखेर कुनै काम गरेका छैनौँ । पारदर्शिता, निष्ठा र जनभावनालाई केन्द्रमा राखेर काम गर्ने जमर्को गरेका छौँ ।’
प्रधानमन्त्री कार्की शीतलनिवासबाटै टोखा जाने
नयाँ प्रधानमन्त्रीको शपथको तयारी भइरहँदा प्रधानमन्त्री सुशीला कार्की शुक्रबारै बिदा हुँदै छिन् । २४ फागुनदेखि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छोडेकी कार्कीले शुक्रबारदेखि सरकारी निवास बालुवाटार पनि छोड्न लागेकी हुन् । पूर्वप्रधानन्यायाधीश कार्की जेन–जी आन्दोलनपछि २७ भदौ राति प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले नवनियुक्त प्रधानमन्त्रीको शपथमा सहभागी भएर प्रधानमन्त्री कार्की उतैबाट आफ्नो निवासतर्फ प्रस्थान गर्ने बताए । ‘अहिले बालुवाटारमै हुनुहुन्छ । बालुवाटारबाट शपथमा जानुहुन्छ । शपथ सकिएपछि उतैबाट घर जानुहुन्छ,’ उनले भने । रावलका अनुसार प्रधानमन्त्री कार्कीले प्रयोग गर्दै आएका सामानहरू सारिसकिएको छ । नयाँ प्रधानमन्त्रीको टिमले वास्तुअनुसार आवश्यक हेरफेर गरिरहेको छ ।