इरानले प्राप्त गर्‍यो अमेरिकाको युद्ध अन्त्यसम्बन्धी प्रस्ताव

बिहिबार, १२ चैत, २०८२
डिजिटल संस्करण

इरानले अमेरिकाले युद्ध अन्त्य गर्ने सम्बन्धमा पठाएको प्रस्ताव प्राप्त गरेको पुष्टि गरेको छ । रोयटर्स, एसोसिएटेड प्रेस र एएफपीलगायत धेरै समाचार एजेन्सीले पाकिस्तानी अधिकारीले अमेरिकी प्रस्ताव इरानलाई बुझाएको र प्रतिक्रियाको पर्खाइमा रहेको लेखेका छन् ।पन्ध्रबुँदे प्रस्तावलाई इरानले ‘अनुचित माग’का रूपमा वर्णन गरेको छ । इरानी स्रोतले प्रस्तावमा उल्लिखित बुँदा मिडियामा आएकोभन्दा भिन्न रहेको बताएको अलजजिराले लेखेको छ । 

इरानले आफू प्रतिद्वन्द्वी पक्षजस्तो माग नबदल्ने बताउँदै युद्ध अन्त्य गर्नेसम्बन्धी अडानमा स्पष्ट रहेको बताएको छ । इरानी स्रोतलाई उद्धृत गर्दै अलजजिराले लेखेको समाचारमा फेब्रुअरी २८ मा अमेरिकाले आक्रमण गरेदेखि इरान र अमेरिकाबिच अप्रत्यक्ष वार्ता पनि नभएको तथापि मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान भइरहेको लेखेको छ । 

तेहरानले युद्ध अन्त्य गर्ने सम्बन्धमा आएको अमेरिकी प्रस्तावलाई ‘नकारात्मक’ प्रतिक्रिया जनाए पनि यसलाई पूर्ण रूपमा अस्वीकार गरे–नगरेको सम्बन्धमा विरोधाभाषी कथन बाहिर आइरहेको छ ।रोयटर्स समाचार एजेन्सीले एक वरिष्ठ इरानी अधिकारीलाई उद्धृत गर्दै लेखेको समाचारमा ‘प्रस्तावप्रति तेहरानको प्रारम्भिक प्रतिक्रिया सकारात्मक नरहेको, तथापि प्रस्तावमाथि अझै समीक्षा भइरहेको’ उल्लेख छ । तथापि, रोयटर्सको समाचार इरानी सरकारी प्रसारण संस्था ‘प्रेस टिभी’सँग बाझिएको छ, जसले एक वरिष्ठ राजनीतिक सुरक्षा अधिकारीलाई उद्धृत गर्दै तेहरानले युद्ध अन्त्य गर्न आफ्नै सर्त अघि सार्दै अमेरिकी प्रस्ताव अस्वीकार गरेको समाचार प्रसारण गर्यो ।

यसबिच, इरानको अर्ध–आधिकारिक समाचार एजेन्सी ‘फार्स’ले ‘ज्ञात स्रोत’लाई उद्धृत गर्दै तेहरानले युद्धविराम स्वीकार नगर्ने र वार्तामा प्रवेश गर्नु ‘तार्किक’ नहुने विश्वास गरेको समाचार छापेको छ । 

सुझावित समाचार