एमाले पुनर्गठनको पैरवीमा पाण्डे

कमिटी प्रणाली भत्किएको निष्कर्ष, डिजिटल एजको पार्टी बनाउन तीनबुँदे नयाँ प्रस्ताव

आइतबार, ८ चैत, २०८२
डिजिटल संस्करण
  • कम्युनिस्टहरू पहिला तीन–चारवटा बसमा आउँथे । ०७९ हुँदा एउटा बसमा आउने भयौँ, अहिले एउटा माइक्रोमा अट्ने भयौँ । यस्तै अवस्था हो भने अर्कोपटक स्कुटरमा आउँछ : पाण्डे

२१ फागुनको निर्वाचनमा अकल्पनीय परिणामसहित एमाले पराजित भएपछि पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी पुनर्गठनको पैरवी अगाडि बढाएका छन् । एमालेलाई बचाउन माथिदेखि तलैसम्म पुनर्गठन गरेर डिजिटल एजको पार्टीमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै पाण्डेले शनिबार बुटवल पुगेर तत्कालका लागि तीनवटा काम गर्नुपर्ने रोडम्यापसमेत अगाडि सारेका छन् ।

‘अबको एमाले बचाउन हामीले तीनवटा मुख्य क्षेत्रमा तत्काल काम गर्नुपर्छ । पहिलो, विज्ञतामा आधारित राजनीति– अब पार्टीले केवल भाषण होइन, विषयविज्ञ र अर्थशास्त्रीहरूसँगको सहकार्यमा देशको आर्थिक संकट समाधान गर्ने ‘प्राविधिक रोडम्याप’ तयार गर्नुपर्छ,’ उनले भनेका छन्, ‘दोस्रो, डिजिटल मेरिटोक्रेसी: व्यक्तिगत पहुँचका आधारमा जिम्मेवारी दिने प्रथा अन्त्य गर्न आधुनिक प्रविधि र पारदर्शी ‘इभ्यालुएसन फ्रेमवर्क’ लागू गर्नुपर्छ, जसले हरेक कार्यकर्ताको क्षमता र योगदानको निष्पक्ष मापन गरोस् । तेस्रो, संरचित पुस्तान्तरण: नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन र अनुभवीहरूको ज्ञान उपयोग गर्न ‘को–लिडरसिप र मेन्टरसिप’को वैज्ञानिक मोडेल सुरु गर्नुपर्छ ।’

अध्यक्ष केपी ओलीको नेतृत्वको असफलतामाथि निरन्तर प्रश्न उठाउँदै आएका पाण्डे ११औँ महाधिवेशनमा शंकर पोखरेलसँग महासचिवमा पराजित भएका थिए । डिजिटल पुँजीवादलाई अध्ययनको केन्द्र बनाएर त्रिभुवन विश्वविद्यालयबाट विधावारिधिसमेत गरिरहेका पाण्डेले शनिबार पार्टीलाई पुनर्गठन गरेर डिजिटल एजको पार्टीमा रूपान्तरण गर्न अबको बहसकेन्द्रित गर्नुपर्ने बताए । 

‘अहिले एमालेमा कुन कमिटी प्रणालीले काम गरिरहेको छ र ? त्यसैले मैले एमालेलाई डिजिटल एजको पार्टी निर्माणका लागि बहसकेन्द्रित गर्ने उद्देश्यले सार्वजनिक आह्वान गरेको छु,’ ? पाण्डेले नयाँ पत्रिकासँग भने । पार्टीको कुनै जिम्मेवारीमा नरहेका पाण्डेलाई प्रतिनिधिसभामा पनि उम्मेद्वारको टिकट दिइएन । उनले पार्टी निर्माणका विषयमा पार्टीभित्र संस्थागत रूपमा आफ्ना विचार राख्ने निश्चित फोरम नभएकाले पनि विमर्शका लागि सार्वजनिक मञ्च र सोसल मिडियामा धारणा राखिरहेको बताए । ‘म अहिले परिभाषित जिम्मेवारीमा छैन, त्यसैले मैले सार्वजनिक रूपमा राख्ने धारणा नै विमर्शका लागि खुला छ,’, उनले भने, ‘त्यसैले पार्टीलाई नयाँ ढंगले पुनर्निर्माणका लागि आफ्ना विचार राखेको छु ।’ 

शनिबार चिन्तन अभियान नेपाल बुटवलले आयोजना गरेको कार्यक्रममा नेपाली राजनीतिको अबको परिदृश्य विषयक विमर्शमा पाण्डेले एमालेलाई डिजिटल एजको पार्टीमा रूपान्तरण हुने गरी पुनर्गठन नगरे अबको चुनावबाट खुम्चिएर दुई–चार सिटमै सीमित हुन सक्ने चेतावनी पनि दिए । 

त्यसलगत्तै उनले ‘के अब एमाले पहिलेकै लयमा फर्किन्छ ?’ शीर्षकमा तीनबुँदे नयाँ प्रस्ताव सामाजिक सञ्जालमा सार्वजनिक गरे । ‘मेरो विश्वास छ, हामी फर्किने मात्र होइन, अझ आधुनिक र शक्तिशाली भएर उदाउन सक्छौँ । तर यसका लागि हामीले ‘इतिहासको ब्याज’मा होइन, ‘भविष्यको लगानी’मा ध्यान दिनुपर्छ । अबको एमाले केवल राजनीतिक शक्ति मात्र होइन, देशका जटिल समस्या समाधान गर्ने ‘विज्ञता र प्रविधि’सहितको एउटा गतिशील संस्था बन्नुपर्छ,’ पाण्डेले भनेका छन् ।

विगतमा केपी ओलीले संसद् विघटनका खेल खेलेसँगै पार्टीको ओरालो यात्रा सुुरु भएको उनको विश्लेषण छ । ‘जनताको शक्ति भनेको कुन हो ? पार्लियामेन्ट हो, पार्लियामेन्टलाई विघटन गरेर जनताको शक्ति मजबुत हुन्छ कि हुँदैन ? त्यसबाट नै हाम्रो ओरालो यात्रा सुरु भयो । अर्कोतर्फ, ​पार्टीभित्रका आन्तरिक मतभेदहरूलाई ठिक ढंगले पहिल्याउने र समाधान गर्न नसक्दाको परिणाम पनि पार्टी कमजोर हुँदै जानु हो,’ उनले भने । 

सुझावित समाचार