- १२ चैतमा नवनिर्वाचित सांसदहरूको शपथ हुने, त्यसै दिन रास्वपा केन्द्रीय समिति बैठक बसेर बालेनलाई संसदीय दलको नेता चुन्ने क्षेत्राधिकार संसदीय दललाई दिने, दलको नेता चुनिएपछि बालेनले १३ चैतमा प्रधानमन्त्रीको शपथ लिने
प्रतिनिधिसभामा झन्डै दुईतिहाइ सिटको जनादेश प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार १३ चैतमा बन्ने भएको छ । बिहीबार साँझ बसेको रास्वपा शीर्ष नेताहरूको बैठकले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले १३ चैतमा प्रधानमन्त्रीको शपथ लिने तय गरेको हो ।
संसद् सचिवालयले १२ चैतको दिउँसो २ बजे सिंहदरबारस्थित नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा नवनिर्वाचित सांसदहरूको शपथ राखेको छ । बिहान ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट शपथ लिने छन् । दिउँसो अन्य सदस्यहरूलाई केसीले शपथ गराउनेछन् । शपथको भोलिपल्ट १३ चैतमा वरिष्ठ नेता बालेनको नेतृत्वमा नयाँ सरकार गठन हुने रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । उनी बिहीबार दिउँसो संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठकमा पनि सहभागी थिए ।
‘१२ चैतमा नवनिर्वाचित सांसदहरूको शपथ हुन्छ । त्यही दिन हाम्रो पार्टीको केन्द्रीय समिति बैठक बसेर बालेनलाई संसदीय दलको नेता चुन्ने क्षेत्राधिकार संसदीय दललाई दिने निर्णय हुन्छ । संसदीय दलले नेता चुन्छ । उहाँ (बालेन)लाई नेता चुन्न विधान संशोधन गर्नुपर्दैन । राजनीतिक सहमतिले नै ओभररुल गर्छ,’ उनले भने, ‘त्यसपछि १३ गते प्रधानमन्त्रीको शपथ हुन्छ । मन्त्रीहरूले पनि सँगै शपथ लिन्छन् । त्यतिखेरसम्म मन्त्रीहरू पनि छनोट गरिसकिन्छ ।’
सरकार गठनको निर्णायक ‘कोर्स’अन्तर्गत बिहीबार साँझ दरबारमार्गस्थित होटेल रोयल सिङ्गीमा रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन तथा उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबिच छलफल भएको थियो । यही छलफलले १३ चैतमा बालेनले प्रधानमन्त्रीको शपथ लिने निष्कर्ष निकालेको हो ।
रास्वपा नेताहरूले बालेन सरकारमा जाने मन्त्रीहरूबारे केही सार्वजनिक गरेको छैन । तर, सरकार गठनको दिनसम्म मन्त्रीहरूको पनि टुंगो लाग्ने बताएका छन् । बुधबार पार्टीका सांसदहरूको अभिमुखीकरण कार्यक्रम समापनमा सभापति लामिछानेले ‘सबै सांसदको क्षमता पार्टीलाई थाहा भएकाले, योग्य व्यक्तिलाई मन्त्री बनाउने भएकाले कतै नधाउन’ भनेका थिए ।
निर्वाचन आयोगले अन्तिम मतपरिणाम बिहीबारै राष्ट्रपतिलाई बुझाएको छ । अन्तिम मतपरिणाम राष्ट्रपतिलाई बुझाउनुको अर्थ संसद्को ठुलो दललाई सरकार निर्माणका लागि प्रक्रिया सुरु गर्ने बाटो खुल्नु हो । रास्वपा नेता असिम शाहले निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम राष्ट्रपतिकहाँ गएपछि नयाँ सरकार गठनका लागि सभापति र वरिष्ठ नेताबिच औपचारिक छलफल सुरु भएको बताए ।
‘सरकार गठनका लागि छलफल सुरु भयो । अब निरन्तर छलफल हुन्छ । छलफलबाट निष्कर्ष निस्किहाल्छ । सबै सांसदको विज्ञता थाहा छ, मन्त्रीहरूको छनोट त्यही आधारमा हुन्छ । प्रधानमन्त्रीले आफ्नो टिम आफैँ बनाउने हो । आवश्यकताअनुसार सभापतिसँग छलफल गर्नुहुन्छ,’ उनले भने, ‘वरिष्ठ नेता अहिले आन्तरिक छलफल, भेटघाट र रेस्टमा हुनुहुन्छ । सरकारमा गएर गर्ने कामको आन्तरिक तयारीमा जुट्नुभएको छ ।’
बालेनलाई औपचारिक रूपमै ‘भावी प्रधानमन्त्री’मा प्रस्तुत गरेर रास्वपा निर्वाचनमा होमिएको थियो । पार्टीको देशव्यापी संगठन र रवि–बालेनको व्यक्तिगत क्रेजको मिश्रणमा रास्वपाले प्रतिनिधिसभाका २७५ सिटमध्ये १८२ मा जित निकाल्यो । यो अंक दुईतिहाइका लागि मात्र दुई सिट कम हो । यो अवस्थामा रास्वपाले सोचेजस्तो सरकार एक्लै बनाउन सक्नेछ ।
समानुपातिक सांसदले पाए प्रमाणपत्र
निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको थियो । बिहीबार आयोगपरिसरमा एक समारोहबिच ६ दलका सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको हो ।
सरकार गठनको निर्णायक ‘कोर्स’
१३ चैतमा बालेनको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निष्कर्ष निकालेको रास्वपा शीर्ष नेताहरूको ‘निर्णायक’ बैठक । बिहीबार साँझ दरबारमार्गस्थित रोयल सिङ्गी होटेलमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) तथा उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबिच प्रधानमन्त्रीको शपथ र सरकार गठनबारे छलफल भएको हो । निर्वाचन आयोगले समानुपातिक सांसदलाई पनि प्रमाणपत्र दिएर राष्ट्रपति रामचन्द्र पौडेललाई अन्तिम मतपरिणाम प्रतिवेदन बुझाएपछि रास्वपाका शीर्ष नेताहरू सरकार गठनको निर्णायक ‘कोर्स’मा प्रवेश गरेका हुन् । उपसभापति वाग्लेले ‘राजकाज, आज साँझको छलफल’ भन्दै फेसबुकमार्फत तस्बिर सार्वजनिक गरेका थिए । १२ चैतमा नवनिर्वाचित सांसदहरूको शपथपछि सोही दिन पार्टी केन्द्रीय समिति बैठकबाट संसदीय दलको नेता चुन्ने क्षेत्राधिकार संसदीय दललाई दिने र दलको बैठकले बालेनलाई नेता चुन्ने निष्कर्ष शीर्ष नेताहरूले निकालेका छन् । महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार शीर्ष नेताहरूले बाँकी एक साताभित्र मन्त्रीहरू पनि टुंग्याएर प्रधानमन्त्रीमा बालेनसँगै मन्त्रीहरूको पनि शपथ गराउने गरी औपचारिक छलफल थालेका हुन् । सरकार गठनका लागि आवश्यक तयारीबारे अब निरन्तर छलफल हुने रास्वपाका अर्का नेता असिम शाहले बताए ।
अन्तिम मतपरिणाम प्रतिवेदन राष्ट्रपतिकहाँ, खुल्यो सरकार गठनको बाटो
- अब राष्ट्रपतिले धारा ७६(१) अनुसार बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्रीमा दाबी गर्नका लागि गर्नेछन् आह्वान
निर्वाचन आयोगले २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ । आयोगका पदाधिकारी बिहीबार अपराह्न शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएका हुन् । राष्ट्रपतिलाई प्रतिवेदन प्राप्त भएसँगै सरकार गठनको बाटो खुलेको छ । आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि सरकार गठनको आह्वान हुने संवैधानिक व्यवस्था छ । अब राष्ट्रपतिले धारा ७६(१) अनुसार बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्रीमा दाबी गर्नका लागि आह्वान गर्नेछन् ।
संसद् अधिवेशन १६ चैतमा बोलाउने प्रस्ताव
निर्वाचनको अन्तिम परिणाम प्रतिवेदन बिहीबारै संसद् सचिवालयले प्राप्त गरेको छ । प्रतिवेदन प्राप्त भएको ३० दिनभित्र संघीय संसद् अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । अधिवेशन बोलाउने विषयलाई लिएर सचिवालयले बिहीबार सर्वदलीय छलफल गर्यो । उक्त सर्वदलीय छलफलमा संघीय संसद्को आगामी अधिवेशन १६ चैतमा बोलाउने प्रस्ताव गरिएको छ । त्यसो त संसद् अधिवेशनको आह्वान मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक प्रावधान छ । तर, १३ चैतमा बालेनले प्रधानमन्त्रीको शपथ लिएपछि १६ चैतमा संसद् अधिवेशन गर्न असम्भव छैन । सर्वदलीय छलफलमा सहभागी रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले भने, ‘अधिवेशन प्रस्ताव १६ गतेका लागि हुन्छ कि भन्ने कुरा छ, नयाँ सरकारले नै बोलाउने होला ।’
सबै राष्ट्रिय दलले पाए संसदीय कार्यालय
यता संसद् सचिवालयले राष्ट्रिय दलहरूलाई संसदीय दलको कार्यालय व्यवस्थापन गरेको छ । प्रवक्ता एकराम गिरीका अनुसार कांग्रेस र एमालेलाई पुरानै कार्यालय व्यवस्थापन गरिएको छ भने रास्वपालाई पहिले माओवादी बसेको कार्यालय उपलब्ध गराइएको छ । त्यस्तै, नेकपा, श्रम संस्कृति र राप्रपालाई गृह मन्त्रालयछेउको भवनमा कार्यालय व्यवस्थापन गरिएको छ । यसपालि ६ दल मात्रै राष्ट्रिय दल बन्न सफल भएका छन् ।
कवीन्द्र बुर्लाकोटी, रास्वपा महामन्त्री
१२ चैतमा नवनिर्वाचित सांसदहरूको शपथ हुन्छ । त्यही दिन हाम्रो पार्टीको केन्द्रीय समिति बैठक बसेर बालेनलाई संसदीय दलको नेता चुन्ने क्षेत्राधिकार संसदीय दललाई दिने निर्णय हुन्छ । संसदीय दलले नेता चुन्छ । उहाँ (बालेन)लाई नेता चुन्न विधान संशोधन गर्नुपर्दैन । राजनीतिक सहमतिले नै ओभररुल गर्छ । त्यसपछि १३ गते प्रधानमन्त्रीको शपथ हुन्छ । मन्त्रीहरूले पनि सँगै शपथ लिन्छन् । त्यतिखेरसम्म मन्त्रीहरू पनि छनोट गरिसकिन्छ ।