नेपालमा भ्याट नतिर्ने टिकटकको अडान

यसअघिका दुई आर्थिक वर्षमा एक करोड ३६ लाख भ्याट तिरेको टिकटकका नेपालस्थित प्रतिनिधि ठुला करदाता कार्यालयमै उपस्थित भएर भने– अब तिर्दैनौँ

बुधबार, ४ चैत, २०८२
डिजिटल संस्करण

ठुला करदाता कार्यालयका अनुसार टिकटकले ०८०/८१ मा एक करोड ३४ लाख ७७ हजार २० रुपैयाँ र ०८१/८२ मा एक लाख १९ हजार चार सय तीन रुपैयाँ गरी कुल एक करोड ३५ लाख ९६ हजार ४२३ रुपैयाँ भ्याट तिरेको थियो । टिकटकले विद्युतीय सेवा कर (डिएसटी)बापत हालसम्म २६ लाख ६२ हजार ६६ रुपैयाँ तिरेको छ । ०८०/८१ मा नौ लाख ७१ हजार ८६२ रुपैयाँ र ०८१÷८२ मा १६ लाख ९० हजार २०४ डिसएटी तिरेको हो । 

टिकटकले नेपालमा कारोबार गरेबापतको मूल्य अभिवृद्धि कर (भ्याट) नतिर्ने अडान राखेको छ । दुई आर्थिक वर्ष ०८०/८१ र ०८१/८२ मा लगातार कुल एक करोड ३६ लाख भ्याट तिरेको टिकटकले उप्रान्त नतिर्ने जनाएको हो । चालू आव ०८२/८३ मा टिकटक प्रालिले एक पैसा पनि भ्याट तिरेको छैन ।

फागुन मसान्तसम्म पनि नतिरेपछि ठुला करदाता कार्यालयले मंगलबार टिकटकका नेपालस्थित प्रतिनिधिलाई बोलाएको थियो । टिकटकका प्रतिनिधिका रूपमा बिक्की अग्रवाल कार्यालयमा उपस्थित भए । तर, उनले गुगल र एप्पलले तिर्ने भ्याटमा टिकटकको कर समेटिने दाबी गर्दै छुट्टै भ्याट नतिर्ने अडान राखेको प्रमुख कर प्रशासक केदारनाथ शर्माले जानकारी दिए । 

‘टिकटक एप डाउनलोड गर्ने प्लाटफर्म गुगलको प्ले स्टोर र एप्पलको एप स्टोरका आधारमा दुवै कम्पनीहरूले भ्याट तिर्दै आइरहेकाले भ्याट नतिर्नुपर्ने दाबी उहाँले गर्नुभएको छ । यसलाई पुष्टि गर्ने आधिकारिक कागजात पेस गर्न भनेका छौँ । केही दिनमा उहाँहरूले यसलाई पुष्टि गर्ने कागजात पेस गर्छु भन्नुभएको छ । हामीले विद्यमान कानुन र कार्यविधि हेरेर आवश्यक निर्णय लिनेछौँ,’ शर्माले भने । टिकटकका प्रतिनिधि अग्रवालले आफूहरूले प्रत्यक्ष रूपमा विद्युतीय सेवा कर (डिएसटी) तिरे पनि भ्याट आफ्नो दायित्वमा नपर्ने तर्क राखेको शर्माको भनाइ छ । तर, कर कार्यालयले भने यसलाई सहज नमानेकाले थप जाँचबुझ गर्ने बताएको छ । 

गैरबासिन्दाको रूपमा नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने भएकाले टिकटकलगायतका बहुराष्ट्रिय प्रविधि कम्पनीहरूलाई डिएसटी र भ्याट लगाउँदै आएको छ । नयाँ पत्रिकाले गत २३ पुसमा टिकटकले भ्याट नतिरेको समाचार प्रकाशन गरेपछि अर्थ मन्त्रालयले ठुला करदाता कार्यालय र आन्तरिक राजस्व विभागसँग यसबारे अनौपचारिक रूपमा जाँचबुझ गर्न लगाएको थियो ।

खासगरी गैरबासिन्दा कम्पनीले नेपालमा कम्पनी दर्ता गरेर सेवा–प्रवाह गरेमा डिएसटी पनि तिर्नुनपर्ने र दर्ता भएको सम्बन्धित कार्यालयबाट भ्याट तिर्न सक्छ । मन्त्रालय स्रोतका अनुसार टिकटकले नेपालमा कतै लोकल कम्पनी दर्ता गरेर भ्याट तिर्न थालेको आशंकामा विभागले विवरण खोजी गरेको थियो । तर, त्यस्तो कम्पनी खडा गरेको नभेटिएपछि ठुला करदाता कार्यालयलाई टिकटकका प्रतिनिधिलाई बोलाएर सोधपुछ गर्न निर्देशन दिएको थियो । सोही आधारमा कार्यालयले मंगलबार बोलाएर सोधपुछ गरेको हो । 

 ०७९ यता २१ कम्पनीले तिरे एक अर्ब १३ करोड भ्याट
०७९/८० यता हालसम्म २१ कम्पनीले ठुला करदाता कार्यालयमा एक अर्ब १३ करोड ४८ लाख ३० हजार १४० रुपैयाँ भ्याट तिरेका छन् । त्यस्तै, डिएसटीबापत ११ करोड ९३ लाख ३२ हजार २३७ रुपैयाँ तिरेका छन् । सर्वाधिक राजस्व तिर्नेमा मेटा प्लाटफम्र्स आयरल्यान्ड (फेसबुक) लिमिटेड छ । हालसम्म मेटाले ५२ करोड १४ लाख राजस्व तिरेको छ । जसमा ४६ करोड २८ लाख १६ हजार ८२९ रुपैयाँ भ्याट छ भने पाँच करोड ८६ लाख ३७ हजार ४४८ रुपैयाँ डिएसटी तिरेको छ । दोस्रोमा गुगल एसिया प्यासिफिक प्रालि छ । उसले हालसम्म २५ करोड ६३ हजार ९३२ रुपैयाँ तिरेको छ । जसमा २२ करोड ५१ लाख भ्याट र दुई करोड ४८ लाख डिएसटी तिरिएको छ ।

एनसिएस पियर्सन इंकले १४ करोड ९२ लाख ११ हजार ५५० कुल राजस्व तिरेको छ, जसमा १४ करोड पाँच लाखको भ्याट मात्रै तिरेको छ भने ८६ लाख ७५ हजार ७१९ रुपैयाँ डिएसटी तिरेको छ । डिएसटीमा दर्ता हुनेमा एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसिसिए), प्रोमेट्रिक जापान कम्पनी लिमिटेड, नेटफ्लिक्स प्रालि, अमेजन वेब सर्भिसेस इंक, एप्पल सर्भिसेस प्रालि, एप्पल डिस्ट्रिब्युसन इन्टरनेसनल लिमिटेड, टिकटक प्रालि, गुगल डिजिटल इंक, पियर्सन एजुकेसन लिमिटेड, गुगल आयरल्यान्ड लिमिटेड, माइक्रोसफ्ट रिजनल सेल्स प्रालि, अमेजन डटकम सर्भिसेस एलएलसी, जोहो कर्पोरेसन प्रालि, लिंक्डइन सिंगापुर प्रालि, एडोबी सिस्टम्स सफ्टवेयर आयरल्यान्ड लिमिटेड, वार्नर मिडिया डाइरेक्ट एसिया, एब्स्को इन्टरनेसनल इंक र फ्ल्यास टपअप एलएलसी छन् । 

केदारनाथ शर्मा, प्रमुख, कर प्रशासक
टिकटक एप डाउनलोड गर्ने प्लाटफर्म गुगलको प्ले स्टोर र एप्पलको एप स्टोरका आधारमा दुवै कम्पनीहरूले भ्याट तिर्दै आइरहेकाले भ्याट नतिर्नुपर्ने दाबी उहाँले गर्नुभएको छ । यसलाई पुष्टि गर्ने आधिकारिक कागजात पेस गर्न भनेका छौँ । केही दिनमा उहाँहरूले यसलाई पुष्टि गर्ने कागजात पेस गर्छौँ भन्नुभएको छ । हामीले विद्यमान कानुन र कार्यविधि हेरेर आवश्यक निर्णय लिनेछौँ ।

फागुन मसान्तसम्म विद्युतीय सेवा करमा दर्ता नभएका कुन कम्पनीले कति तिरे भ्याट ?
ठुला करदाता कार्यालयका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा विद्युतीय सेवा कर (डिएसटी)मा दर्ता नभएका कम्पनीहरूबाट कुल २९ करोड १४ लाख २४ हजार ५९६ रुपैयाँ भ्याट संकलन भएको छ । सबैभन्दा बढी भ्याट मेटा प्लाटफम्र्स आयरल्यान्ड लिमिटेडले १० करोड २० लाख ३४ हजार भ्याट तिरेको छ । सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम) मा आधारित विज्ञापन सेवाबाट हुने कारोबारका आधार उक्त भ्याट संकलन भएको हो । धेरै भ्याट बुझाउने दोस्रो नम्बरमा गुगल एसिया प्यासिफिक प्रालि छ । उसले ६ करोड ७६ लाखभन्दा बढी भ्याट तिरेको छ । गुगलको सर्च, युट्युब र डिजिटल विज्ञापन सेवाबाट नेपालमा ठुलो कारोबार हुने भएकाले यसको योगदान पनि उल्लेखनीय देखिन्छ । 

त्यस्तै, प्रोमेट्रिक जापान कम्पनी लिमिटेडले तीन करोड ३२ लाख, एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसिसिए) ले एक करोड ८१ लाख, नेटफ्लिक्स प्रालिले एक करोड ७० लाख, एप्पल सर्भिसेस प्रालिले एक करोड ३६ लाख, अमेजन वेब सर्भिसेस इंकले एक करोड २१ लाख, गुगल डिजिटल इंकले ७५ लाख, माइक्रोसफ्ट रिजनल सेल्स प्रालिले २२ लाख र लिंक्डइन सिंगापुर प्रालिले करिब १० लाख भ्याट योगदान गरेका छन् ।

भ्याट तिर्नेमा एडोब सिस्टम्स सफ्टवेयर आयरल्यान्ड लिमिटेड, जोहो कर्पोरेसन प्रालि, एनसिएस पियरसन इंक, पियरसन एजुकेसन लिमिटेड, अमेजन डट कम सर्भिसेस एलएलसी र वार्नर मिडिया डाइरेक्ट एसिया पनि छन् । एब्स्को इन्टरनेसनल इंक, गुगल आयरल्यान्ड लिमिटेड, टिकटक प्रालि र फ्ल्यास टपअप एलएलसीबाट भने भ्याट संकलन शून्य देखिन्छ । टिकटकबाहेकका कम्पनीहरूले कारोबार नै न्यून रहेकाले भ्याट नतिरेको कार्यालयको जानकारी छ ।

सुझावित समाचार