जेन–जी आन्दोलनमा भएको दमन र क्षति सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले छानबिन टुंग्याएको छ । आयोगले आगामी साता प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले सदस्य लिली थापाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
समितिले बिहीबार प्रतिवेदन बुझाउने तयारी गरेको छ । ‘छानबिन सकाएका छौँ, बिहीबार अध्यक्षज्यूलाई प्रतिवेदन बुझाउँछौँ,’ छानबिन समिति संयोजक थापाले भनिन्, ‘आयोगको बैठकमा पेस भएपछि सम्भवतः अर्काे साता सार्वजनिक हुनेछ ।’ आयोगले २४ भदौमै सो समिति गठन गरेको थियो । एक महिनाभित्रै आयोगले प्रतिवेदन तयार गर्ने लक्ष्य लिएको छ । तर, अस्वाभाविक रूपमा आयोगको छानबिन लम्बिएको छ ।
८१ जनाको बयान, १४१ जनासँग छलफल
आयोगले तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखकसहित ८१ जनाको बयान लिएको छ । स्रोतका अनुसार राष्ट्रिय सुरक्षा समितिदेखि जिल्ला सुरक्षा समितिसम्मका अधिकारीसँग आयोगले बयान लिएको हो । त्यस्तै, १४१ जनासँग आयोगले छलफल गरेको छ । त्यस्तै, विज्ञ राखेर ब्यालेस्टिक जाँचसमेत गरेको थियो । जसमा आन्दोलनकारीमाथि शरीरको माथिल्लो भागमा घातक हतियारबाट गोली प्रहार गर्दा ठुलो क्षति भएको निष्कर्ष आयोगले निकालेको छ । आयोगको छानबिनमा प्रहरीदेखि राजनीतिक नेतृत्वसम्मको दोष देखिएको छानबिन समितिका एक अधिकारीले बताए ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भने गत २४ फागुनमा नै प्रतिवेदन बुझाइसकेको छ। सो प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन।